रेशम चौधरीसँगै अभियोग लागेका एकजना पोखरा बाल सुधार गृहबाट रिहा

समाधान संवाददाता २०८० असोज ३ गते १२:५१

पोखरा ।

Advertisement

टीकापुर घटनामा संलग्न रहेका थप एकजना पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलालीका २३ वर्षीय श्रवण चौधरी बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी दिए ।

२०७२ भदौ २५ पक्राउ परेका चौधरीलाई माघ १५ गते बाल सुधार गृहमा ल्याइएको थियो । १० वर्ष कैद सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा बाँकी कैद माफी गरिदिएका हुन् ।

पोखरामा रिहा भएकालाई स्वागत गर्न नागरिक उन्मुक्ति गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ पुगेका थिए । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया