सम्पादकीयः एम्बुस जस्ता सडक

समाधान संवाददाता २०८० असोज ४ गते ११:५९

दिनदिनै बन्दुक, बम र एम्बुसको क्षति सुन्नुपर्ने समय हामीले पछि छाडिसकेका छौँ । सशस्त्र विद्रोहकै अगुवाइ गरेको शक्तिले अहिले सत्ताको बागडोर सम्हालिरहेको छ । युद्ध नभए पनि देशभरकै सडकले सशस्त्र विद्रोहका भन्दा बढी मानिसको ज्यान लिइरहेका छन् । एम्बुस जस्ता यी सडकको अवस्थाबारे सधै आवाज उठिरहन्छन्, मर्मत गर्ने प्रतिवद्धता पनि आई नै रहन्छन् तर परिणाम हत्तपत्त देखिदैन ।

Advertisement

राज्यको पुनर्संरचना भई संवैधानिक रुपमा तीन तहका सरकार बनेपछि स्थानीय तहहरु आर्थिक स्रोतका हिसाबले सबैभन्दा धेरै लाभान्वित भए । संघीय सरकारपछि अधिकार र आर्थिक दृष्टिले स्थानीय तहले परिवर्तनको लाभ पाए । कयौं वर्षदेखि न्यून बजेटको भरमा टालटुले योजनाहरु चलाउँदै अएका स्थानीय तहहरुले पछिल्ला समय ठूल्ठूला योजनाहरु बनाउन र कार्यान्वयन गर्न थालेका छन् । स्थानीयदेखि संघ सरकारको बजेटको ठूलो अंश सडक निर्माणमा नै गएको छ ।


सडक कालोपत्र गर्ने, सडक ड्रेन बनाउने, सामुदायिक भवन निर्माण गर्ने जस्ता योजना स्थानीय तहबाटै हुन थालेका छन् । विकास भनेकै सडक हो भन्ने मान्यता तुलनात्मकरुपमा बढी छ । त्यसमा पनि जसरी हुन्छ घर अगाडिको सडक कालोपत्र हुनुप¥यो भन्ने जनताको माग र दबाब छ । राजमार्ग, हुलाकी मार्ग, कृषि सडक, ग्रामीण सडक आदिको निर्माण कार्यमा वर्षेनी थुप्रै धनराशि खर्च हुन्छ । तर, बनेका संरचनाहरुको सदुपयोग गर्ने, त्यसलाई समय–समयमा मर्मत गर्ने, संरचनामा क्षति पुगेलगत्तै मर्मत सम्भार गर्ने काममा भने तीनै तहका सरकारले ध्यान दिएका छैनन् । जसले थोरै खर्चमा मर्मत गरी जोगाउन सकिने सडक पूर्वाधारमा क्षति भई पुनर्निमाण नै गर्नुपर्ने अवस्थामा आउने गरेको छ । त्यसबाट राज्यलाई वर्षेनी अरबौंको व्ययभार थपिने गरेको छ ।

Advertisement


अहिले देशकै ठूलो पोखरा महानगरका मुख्य मुख्य चोक र राजमार्गकै सडकको अवस्था राम्रो छैन । जिरोकिलोमिटर, विरौटा लगायतका चोकमा खनिएका खाडल पुरिएका छैनन् । पहिल सडक बनाउने त्यसपछि खानेपानी लाइन विस्तार गर्ने, नाला बनाउने भइरहेको छ । कतै लाइट जडानका नाममा त कतै सौन्दर्यकरणमा नाममा सडक खनिन्छन् । तर, खनिएका सडक हत्तपत्त पुरिँदैनन् । पुरिइहाले पनि माटो वा गिटी हालिन्छन् । माटो र गिटीले थप दुर्घटनाको जोखिम बढाउँछ ।

महिनौंसम्म सडकका खाल्डा नपुरिएपछि पोखरेलीले नाराबाजी नै गरे । आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि कास्कीमा साना ठूला गरी २ सय ८६ दुर्घटना भएका छन् । यो अवधिमा सवारी दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् भने १८ जना घाइते भएका छन् । सवारी दुर्घटनाका धेरै कारकमध्ये सडकको अवस्था मुख्य हो । सडकमा राज्यकै तर्फबाट धराप नथापियोस् !

तपाईको प्रतिक्रिया