‘कोइकालाई बसुन्धरा पार्क नदेऊ’

पोखरा ।
सरोकारवालाले फेवाताल किनारको बसुन्धरा पार्कमा कुनै पनि वाहानामा कसैलाई संरचना बनाउन नदिन आग्रह गरेका छन् । पोखरा महानगरले कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) लाई पार्कको १० रोपनी जग्गा ग्रिन भेन्चर जोन स्थापनाका लागि दिएपछि स्थानीयले खबरदारी गरेका हुन् ।
राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपाल र स्थानीयको टोलीले शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा सार्वजनिक सम्पत्ति संरक्षणको दायित्व लिएकै सरकारी निकायबाट सिमसार क्षेत्रमा फेवातालको मापदण्डभित्रै संरचना बनाउन अनुमति दिइएकोमा विरोध जनाइएको छ ।
‘पोखरा महानगरपालिका र कोइकाबीच समझदारी हुनु र कुनै ठूलो योजना बन्नु खुसीको कुरा हो तर योजना बन्ने नाममा सम्पदामाथिको अतिक्रमण र गैरकानुनी काम सह्य हुन सक्दैन,’ ज्ञापनपत्रमा भनिएको छ । राज्यले विषेश प्रयोजनका लागि अधिग्रहण गरेको जग्गा अर्कै प्रयोजनमा नगरवासीको चाहना र कानुनविपरीत लगाउन नहुने सम्पदाका अध्यक्ष सुनिल पाण्डे बताउँछन् । ‘यो जग्गा पोखरा टाउन प्लान २०३१ ले तालको संरक्षित क्षेत्रभित्र राखेको जग्गा हो । ०३८ सालमा फेवाताल संरक्षण र पर्यटन प्रवद्र्धनका लागि ग्रिन बेल्ट पार्क बनाउन व्यक्तिहरुको जग्गा अधिग्रहण गरिएको थियो,’ पाण्डेले भने ।
महानगरलाई जग्गा संरक्षणका लागि यथाशीघ्र महानगरको निर्णय पुनर्विचार गर्न अधिवक्ता भगवती पहारीले आग्रह गरिन् । त्यसो नभए कानुनी प्रक्रियामा जान वाध्य हुने उनको भनाइ छ । उनी भन्छिन्, ‘कोइकासँग सम्पर्क गरी अदालतको फैसला विपरीत सिमसार क्षेत्रमा निर्माण कार्य गर्न लागिएको, स्थानीय त्यो निर्माणको विरोधमा रहेको र कानुनी प्रक्रिया सुरु गरिएको जानकारी गराइनेछ । सबै सरोकारवालालाई जागरुक बनाई सम्पदामाथिको अतिक्रमण रोक्ने प्रयास हुनेछ ।’
कोइकाले बसुन्धरा पार्कमा ग्रिन भेन्चर जोन स्थापनाका लागि संरचना बनाउन टेन्डरसमेत प्रकाशित गरिसकेको छ ।
तपाईको प्रतिक्रिया