खुल्ला त कोरलानाका ?

‘चीनतर्फ सबै पूर्वाधार बनिसक्यो,हामी कहाँ बनेको छैन,अध्यक्ष बिष्टले भने,‘ यद्यपी आशिंक रुपमा नाका खोल्दै ,ब्यापार प्रर्वद्धनमा जोड दिनुपर्ने हुन्छ

सुन्दरकुमार थकाली २०८० असोज ६ गते ११:२२

जोमसोम— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा छन् । चीनका प्रधानमन्त्री लि छ्याङको विशेष निमन्त्रणामा आज सेप्टेम्बर २३ देखि सेप्टेम्बर ३० तारिखसम्म प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण सुरु गरेका हुन् । योसंगै यसपटक उत्तरी कोरलानाका खुल्नेमा मुस्ताङबासी बढी आशावादी देखिएका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरलानाकालाई दीर्घकालिन ब्यापारिक हबको रुपमा बाह्रै महिना संञ्चालन गर्न सरकारले अधिकतम पहल होस् भन्ने अपेक्षा गरिएको छ । गण्डकी प्रदेशकै आर्थिक समृद्धिको लाईफ लाईन मानिने कोरलानाका एजेण्डाकै रुपमै समावेश गरी छलफल अघि बढ्ने विश्वाश समेत गरिएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले गण्डकी प्रदेशकै आर्थिक समृद्धिका लागि कोरलानाका खोल्न अपरिहार्य रहेको बताए ।उनले चीनले दीर्घकालिन नाका खोल्न तयारी अवस्थामा रहेकाले नेपालले पनि त्यसलाई पछ्याउनु पर्ने बताए । ‘चीनतर्फ सबै पूर्वाधार बनिसक्यो,हामी कहाँ बनेको छैन,अध्यक्ष बिष्टले भने,‘ यद्यपी आशिंक रुपमा नाका खोल्दै ,ब्यापार प्रर्वद्धनमा जोड दिनुपर्ने हुन्छ,यसले पर्यटनमा समेत टेवा पू¥याउँछ ।’ उनले चीन नेपालको ग्रीन सिग्नल कुरेर बसेको र हामी पनि सकारात्मक भयौ भने नाका खोल्न कुनै कठिनाई नपर्ने बताए ।सन् २००० मा योनाकाबाट तिब्बती भिक्षु कर्मापा भागेर भारत पसेकाले चिनले कोरलानाकामा सुरक्षा उपस्थित मजबुत बनाएको थियो । विगतको जस्तो अवस्था नरहेको चिनलाई अपडेट गर्न सकियो भने नाका खुल्न अप्ठ्यारो पर्दैन । यसपटकको प्रधानमन्त्री प्रचण्डको भ्रमणले यी कुराहरुलाई छलफलमा प्रस्तुत गर्न सके नाका खोल्नसक्ने अनुमान गरिएको छ ।
विगतमा कोरलानाका तिब्बती खम्पा बिद्रोहका कारण केही सेन्सेटिभ नाकाको रुपमा लिईने गरिएपनि पछिल्लो समय योनाका सामान्य अवस्थामा छ ।नेपाल एक चीन नीतिप्रति पूर्ण वफादार रहेको विश्वाश दिलाउन सके चीन नाका खोल्नमा तयार हुन्छ ।
भारतीय नाकाबन्दीपछि निकै चर्चामा रहेको (नेपाल—चीन) सीमाना उत्तरी कोरलानाकालाई त्रिदेशीय ब्यापारीमार्गको रुपमा विस्तार गर्ने उद्देश्यले तत्कालिन सरकारले २०७३÷०७४ सालदेखि राष्ट्रिय गौरवको निर्माणधिन (बेनी—जोमसोम—कोरला) सडक आयोजना अघि बढायो । अहिले कोरलानाका जोड्ने गौरवको सडकमा करिव ७ अर्ब भन्दा बढी बजेट सरकारले सडक स्तरोन्नतिमा खर्च गरिरहेको छ ।कोरलानाका संञ्चालन गर्ने उद्देश्यले सरकारले उपल्लो मुस्ताङको लोमान्थाङ स्थित नेचुङमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपि) क्याम्प स्थापना गरिसकेको छ भने लोमान्थाङको थुर्लुङफाँटमा नेपाली सेनाको क्याम्प समेत बसिसकेको अवस्था छ ।नेचुङमा भन्सार,सुरक्षा, लगायतलाई जग्गा प्राप्ति भई पूर्वाधार निर्माणको काम पनि भईरहेको छ । नाकालाई मध्यनजर गर्दै कोरलाको दजगजा क्षेत्रमा भन्सार,अध्यागमन,सुख्खाबन्दरगाह र सुरक्षा पोस्टका लागि १ हजार रोपनी जग्गा भन्सारका नाममा जग्गा उपलब्ध भईसकेको छ । पछिल्लो समय सरकारले कोरलानाका पूर्वाधारका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम पनि अघि बढिसकेको छ । कोरलामा माटो परीक्षणको काम अन्तिम चरणमा पुग्दैछ । चीनले कोरलानाकाको दशजगजा क्षेत्रमा ठुला ठुला भौतिक संरचना निर्माणको काम सम्पन्न गरिसकेको छ भने झोङ्वामा सुख्खा बन्दरगाह निर्माण समेत अन्तिम चरणमा पु¥याएको छ । चिन पक्षले निर्माण गरेको भौतिक पूर्वाधारले चिन सरकार कोरलानाका खोल्ने दीर्घकालिन योजना रहेको पुष्टि गर्छ ।
राष्ट्रिय गौरवको निर्माणधिन (बेनी—जोमसोम—कोरला) सडक सहज भएसंगै नेपाल सरकारका तर्फ बर्सेनि भिआईपीहरुको उपस्थित हुने गरेको छ । ३ तहका मन्त्री,सांसद, सचिव र विभागीय जम्बो टोलीले उपल्लो मुस्ताङको कोरला भ्रमण गरिसकेका छन् । तर,नाका खोल्ने विषयमा कुनै पहल नहुँदा उपल्लो मुस्ताङीहरु चिन्तित छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले कोरलानाका खोल्न योगदान पुग्ने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उनले सडक तथा पूर्वाधार निर्माणका कामलाई उच्चप्राथमिकतामा राखेर दीर्घकालिन कोरलानाका खोल्ने विषयमा सरकारले पहल गर्नुपर्ने बताए ।
‘ कोरलानाकालाई ब्यापारिक हबको रुपमा संञ्चालन गर्न प्रधानमन्त्रीको भ्रमणले केही आशा जगाएको छ,यो नाकाले गण्डकी प्रदेशको मात्रै नभई नेपालकै आर्थिक विकासमा टेवा पुग्छ,’अध्यक्ष गुरुङले भने,‘ तर,प्रधानमन्त्रीको भ्रमणले हात्ती आयो हात्ती आयो फुस्सा नहोस भन्ने हाम्रो भनाई हो ,यसपटक कोरलानाकाको विषयमा केही न केही ठोस उपलब्धी हुनेछ ।’

Advertisement

गत आर्थिक वर्षको बैशाखमा (नेपाल—चीन) सुरक्षा अधिकारीहरुबीच कोरलानाका संञ्चालन ,अल्पकालीन व्यापार मेला र (नेपाल¬—चीन) सीमा सुरक्षाका विषयमा कोरलानाकामा अनौपचारिक बैठक बसेको थियो । बैठकमा चिन पक्षले बैठकको ब्यानर टाँगेर नेपाल पक्षका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिसंग छलफल गरेको थियो । बैठकमा चिन पक्षबाट झोङ्वा काउन्टी तिब्बतका प्रमुख ल्युवो छिरिङसहित ४ जना चीनियाँ सुरक्षा अधिकारी उपस्थित थिए । नेपाल पक्षबाट हाल नेपाली सुरक्षाकर्मी लगायतको उपस्थित थियो । सो बैठकले नेपाल—चिन चाँडै समकक्षी बैठक बस्ने निर्णय गरेको थियो ।तर, सो बैठकले निर्णय गरेपनि समकक्षी बैठक बस्न सकेन । बैठकमा कोरलानाका खोल्नका लागि चीन पक्षले सबै तयारी पूरा गरिसकेको र नेपाल पक्षले पनि तयारी पुरा गर्न चीनियाँ सुरक्षा अधिकारीले सुझाएका थिए । उनीहरुले कोरला भूमीमा संञ्चालन हुने अन्तरदेशीय अल्पकालीन व्यापार मेला संञ्चालनका लागि केन्द्र सरकारसंग अनुरोध गर्ने बताईएको थियो ।
यसैगरी २ महिना अघि काठमान्डौंबाट कोरला सडकमार्ग हुँदै चीनियाँ सुरक्षा अधिकारीहरु मुस्ताङ आएका थिए ।द्धीपक्षीय सीमा सुरक्षा, सडकमाार्गको अवस्था लगायतका विषयमा जानकारी लिन तिब्बती झोङ्वा काउन्टीका प्रमुख लुबु सिरेन,सिकात्से परराष्ट्र कार्यालय उपनिर्देशक सि ङ्यान,सिगात्से नगर वाणिज्य व्युरो पोर्टका डिभिजन उपप्रमुख लगायतको टोली जोमसोम हुँदै त्यससमय कोरलानाका पुगेको थियो । उनीहरुले कोरलानाका खोल्न पहल गर्ने नपाल पक्षलाई जानकारी गराएका थिए । पटक÷पटक चीन पक्षको कोरला अवलोकन तथा बैठक र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले कोरलानाका संञ्चालन गर्नमा चीन सरकार सकारात्मक रहने मुस्ताङबासीको बुझाई छ ।
यसैगरी कोरोना कहरका कारण सन् २०२० देखि उत्तरी कोरलानाकाको तिब्बती भूमीमा बर्सेनि संञ्चालन हुँदैआईरहेको अल्पकालीन ब्यापार मेला ठप्प छ । उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका बासिन्दालाई लक्षित गरी संञ्चालन हुँदैआईरहेको अल्पकालीन ब्यापार मेला संञ्चालन गर्न चीन सरकारले अझै चाँसो दिएको छैन । मेला लगातार ४ वर्ष ठप्प रहेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।
कोरलाको तिब्बती भूमीमा ब्यापार लाग्ने गरेकोमा मेला संञ्चालन नहुँदा उपल्लो मुस्ताङको सीमाक्षेत्रका बासिन्दा मर्कामा परेको अध्यक्ष गुरुङले बताए । ढुवानीका हिसाबले सस्तो पर्ने र संस्कृतिक संम्वन्ध समेत मिल्दोजुल्दो भएकाले दैनिक उपभोग्य सामानहरु ब्यापार मेलाबाटै खरित्ने गरिन्थ्यो । तर,मेलानै नभएपछि उपल्लो मुस्ताङमा चीनियाँ सामान पाईन छोडेको छ ।
चीनबाट भेडाच्यांग्रा ,कृषि उपकरण,निर्माण सामाग्री,लत्ताकपडा र दैनिक उपभोग्य सामान अल्पकालिन ब्यापार मेलाबाट किनेर ल्याउने चलन थियो ।उपल्लो मुस्ताङीले यार्सा गुम्बा,पस्मिना र स्थानीय उत्पादन चिनतर्फ निर्यात गथ्र्ये । कोरोना कहरले अल्पकालीन ब्यापार मेला नभएपछि उपल्लो मुस्ताङ र तिब्बतको अल्पकालीन ब्यापार मेलाको कनेक्सन टुटेको अध्यक्ष गुरुङको भनाई छ । कोभिड अघि चीन पक्ष र नेपाल पक्षको आपसी सहमतीमा अल्पकालीन ब्यापार मेला हुने गरेकोमा अझै मेला सञ्चालन हुन नसकेको हो । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले अन्तरदेशीय अल्पकालीन ब्यापार मेला पुनः संञ्चालन गर्न पहल हुनेमा आशावादी रहेको अध्यक्ष गुरुङले जनाए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया