एमाले गण्डकी प्रदेश अधिवेशन
४ केन्द्रीय सदस्यसहित अध्यक्षका ८ आकांक्षी

पोखरा ।
असोज १५ र १६ गते हुने नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन प्रतिनिधि बन्न ४ केन्द्रीय सदस्यसहितले उम्मेदवारी दर्ता गराएका छन् । एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, कृष्ण थापा, रामशरण बस्नेत र राजीव पहारीले अधिवेशनका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका अरु आकांक्षीहरुले पनि प्रतिनिधि बन्न उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशका अहिलेका पदाधिकारीसहितले प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
केन्द्रीय सदस्य मायानाथ अधिकारीले लमजुङको दोर्दी गाउँपालिका, थापा र पहारीले कास्कीको पोखरा महानगरपालिका, बस्नेतले गोरखा नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । लमजुङका अधिकारी यसअघि गण्डकी प्रदेश सभा सदस्य थिए । गत निर्वाचनमा बस्नेत गोरखाबाट प्रतिनिधि सभा र पहारी कास्कीबाट प्रदेश सभा निर्वाचनमा पराजित भएका हुन् ।
कृष्ण थापा गत पोखरा महानगरपालिकाको प्रमुखमा पराजित भएका थिए । उम्मेदवारी दिएका चारै जना केन्द्रीय सदस्य प्रदेश अधिवेशन प्रतिनिधिका लािग सर्वसम्मत भने भएका छैन । सर्वसम्मतका लागि प्रयास भइरहेको एमाले प्रदेश प्रचार प्रसार उपसमितिले जनाएको छ ।
अहिलेका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मि आचार्य तथा मञ्जु अधिकारीले पनि आआफ्नो पालिकाबाट प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन् । प्रदेशको अबको अधिवेशनबाट पदाधिकारी तथा सदस्य बन्न पहिला पालिकाहरुबाट प्रतिनिधि बन्नुपर्ने एमालेको प्रावधान छ ।
अधिवेशनका लागि प्रदेशभरका सबै स्थानीय तहबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएका छन् । केही स्थानीय तहमा सर्वसम्मत भएको र धेरै स्थानीय तहमा सर्वसम्मतको प्रयास जारी रहेको प्रदेश प्रचार प्रसार उपसमिति संयोजक रश्मि आचार्यले बताए । प्रदेशभरबाट ८ सय हारहारी प्रतिनिधि चयन हुने आचार्यले उल्लेख गरे ।
अधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ४ जना केन्द्रीय सदस्यलाई प्रदेश कमिटी अध्यक्षको आकांक्षीका रुपमा पनि हेरिएको छ । एमालेको विधान अनुसार कुनै पनि कमिटीको पदाधिकारी, सदस्य रहेको व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्यको उम्मेदवार भएमा स्वतः पद रिक्त हुने व्यवस्था छ । त्यहीअनुसार केन्द्रीय कमिटी सदस्य प्रदेश अध्यक्षको उम्मेदवार बनेको उनीहरु स्वत पदमुक्त हुनेछन् ।
विधानको धारा ६७ को (४) मा यो व्यवस्था छ । ‘कुनै पनि कमिटीको पदाधिकारी वा सदस्यमा कार्यरत व्यक्ति अर्को कमिटीको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भएमा पद रिक्त भएको मानिने छ,’ उक्त धारामा लेखिएको छ । सोहीअनुसार यी जोकोही उम्मेदवार बन्छ, उसको केन्द्रीय सदस्यको पद रिक्त हुनेछ ।
हालका अध्यक्ष नवराज शर्मा दोहोरिन चाहेका छन् । शर्माले केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समेत भेटेर आफू अध्यक्ष बन्न चाहेको बताएका थिए । शर्मासँगै हालका सचिव धनञ्जय दवाडी अध्यक्षका बलिया दाबेदार हुन् । उपाध्यक्ष मोहन रेग्मीले पनि दाबी नै गरेका छन् । युवा भएको सेन्टिमेन्टसहित उपसचिव रश्मि आचार्य पनि अध्यक्षको दौडमा छन् ।
पोखराको अमरसिंह चौरमा असोज १५ गते हुने उद्घाटन सत्रमा ५० हजारको संख्यामा कार्यकर्ता उतार्ने एमाले प्रदेश कमिटीको लक्ष्य छ । बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुनेछ । हाल प्रदेश कमिटी ५ सय ५९ जनाको छ । अब १ सय ६५ जनाको कमिटी बन्नेछ ।
तपाईको प्रतिक्रिया