कार्यथलोमै संगठन सुदृढीकरण अभियान

समाधान संवाददाता २०८० असोज ७ गते १३:४०

पोखरा ।
गण्डकी प्रदेशमा ३ हजार ५ सय नयाँ सदस्य थप्ने गरी नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी प्रदेशले शनिबार देखि संगठन सुदृढिकरण तथा विस्तारका लागि कार्यथलो अभियान थालेको छ । यातायात मजदूरको कार्यथलोमै गर्ने ३ महिने अभियानमा ४ हजार ५ सयको सदस्यता नवीकरण गर्ने संगठनका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए ।

Advertisement


संगठनको देशव्यापी अभियान अन्तर्गत प्रदेश कमिटीले अभियान थालेको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश अध्यक्ष रुद्रबहादुर खत्रीले ६ असोज २०८० देखि मंसिर ३० गतेसम्म चल्ने कार्य थलो अभियानको पृथ्वीचोकमा औपचारिक रुपमा उद्घाटन गरे । उनले जहाँ यातायात मजदूर, त्यहाँ संगठन निर्माण गर्न अभियान थालेको बताए । उनले दुख अफ्ठेरो पर्दा संगठनले हेर्ने भएकोले सबै सदस्यले संगठनको महत्व बुझ्नुपर्ने सुझाव दिए ।


नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपमहासिचव विष्णुबहादुर पराजुलीले देशभरीमा ११ लाख यातायात मजदुर मध्ये गण्डकीमा ५० हजार रहेको जानकारी दिए । उनले ४० हजार यातायात मजदूर संगठन भन्दा बाहिर रहेको बताए । उनले सदस्यता नवीकरण तथा विस्तारको अलवा कार्यथलोमा भएका मजदूरका समस्या पहिचान गरेर हल गर्ने उल्लेख गरे । उनले प्रदेशका ११ जिल्लामा अभियान चलाउने जनाए ।

Advertisement


संगठनले पोखरामा ‘फेरिएको यातायात श्रम क्षेत्र, सुधारका लागि हाम्रो कार्यभार’ विषयक राष्ट्रिय कार्यशाला गरेको थियो । नयाँ योजनाका साथ कार्यथलोमा तथा फेरिएको यातायात श्रम क्षेत्रमा संगठनलाई ढाल्ने निर्णय गरेको संगठन गण्डकीका अध्यक्ष केसीले बताए । उनले सबै पालिका बसपार्क, रुट, वर्कसप, ग्यारेज, गोदाम मण्डी लगायतका कार्यथलोमा अभियान गर्ने जानकारी दिए ।


‘अभियानको क्रममा नयाँ क्षेत्र पहिचान गरी सबै कार्यथलोमा कमिटी गठन गरिनेछ,’ उनले भने, ‘सदस्यता नवीकरण तथा नयाँ सदस्यता बनाउनेमात्र नभएर रकम बचत र जीवन रुपान्तरणमा समेत सहयोग गरिनेछ ।’ उनले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन, सवारी तथा यातायात व्यवस्था ऐनलाई मजदुरमैत्री बनाउन मागपत्र पेश गर्ने बताए ।

Advertisement


कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रतिनिधि परिषद् उपप्रमुख कर्णसिं गुरुङ, संगठन गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बाबुराम राना, सहसचिव मदन सुनार लगायतले अभियानका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया