त्रिभुज

कमल बयेली २०८० असोज ७ गते १५:२३

खाडीको रोजागारीको बाढीले साइबर क्याफे व्यापार फस्टाएको छ । जवान युवतीहरू, काखे बच्चा भएकाहरू, बूढी आमाहरू समेत साइबरमा देखिन्छन् । युवतीहरू लोग्ने भेट्न, आमाहरू छोरा भेट्न साइबर धाउँछन् । कोहीकोही पुरुष पनि देख्छु । म पनि साइबर धाउँछु । मेरा कोही पनि विदेशमा छैनन् । मेरा आफ्नै कामहरू छन् । म लेखरचनाहरू टाइप गर्न, इमेल चेक गर्न, लेखरचना पठाउन साइबर क्याफे धाउने गर्छु ।


म एउटा साइबर क्याफेमा पसेको छु । साइबर क्याफे चोकमै अवस्थित छ । अलि भित्रको चोक । साइबर फराकिलो छ । साइबरले तीनवटा सटर चर्चेको छ । कम्प्युटरहरू तीनतिरै भित्तालाई मुख फर्काएर बसेका छन् । प्रायः साइबरमा पार्टेसनले मात्र छुट्ट्याएर साँगुरो ठाउँमा धेरै कम्प्युटर अटाइएको हुन्छ । यहाँ भने कम्प्युरहरूबिचको ग्याप मान्छे छिर्न मिल्ने गरी मिलाइएको छ । अगाडिको भुइँ आँगनजस्तै खाली छ ।

ढोकाबाट छिर्दाको दायाँतिर एउटा लामो बेन्ची राखिएको छ । त्यहाँ ग्राहकहरू पालो पर्खेर बस्छन् । बायाँतर्फको छेउमा साइबरको काउन्टर छ । काउन्टरमा बस्ने साउनी हो कि स्टाफ हो मलाई थाहा छैन । ऊ जनजाति अनुहारकी छे । वर्ण रातो–कालो भन्न मिल्छ । उसले फिका कालो रङको जिन्स प्यान्ट र टिसर्ट लाएकी छे । प्यारप्यार बोलिरहन्छे । फतौरी केटी भन्न मिल्ने ।

Advertisement


कम्प्युटरहरू सब व्यस्त छन् । प्रायः कम्प्युटरसँगै देखिने टाउकामा हेडफोन देखिन्छ । धेरै त युवती टाउका छन् । म यसो सोच्छु, गोप्य कुराकानी सबै सुन्न पाउने हेडफोन भाग्यमानी हो । केही बेर त पर्खनै पर्‍यो । म पनि बेन्चीमा बस्छु । बेन्चीमा एउटी अर्धबैँसे महिला र एउटी युवती छन् । युवतीको लोग्ने पनि विदेशमै छ भनेर म बाजी थाप्न सक्छु । उसको काखमा सानो बच्ची छे । दुई साढे दुई वर्षकी हुनुुपर्छ ऊ । बच्ची आएर मलाई नियालेर हेर्छे र प्रेमले बोलाउँछे, ‘बाबा !’ लौ, म त बाबा पनि भइसकेछु ! विवाह नै नगरी बाबा भइसकेछु । रमाइलो लाग्छ । म ‘हजुर छोरी’ भनिदिन्छु र गिज्याइदिन्छु, ‘कति लाम्लो मान्छे हो !’ ऊ हेँ हेँ गरेर एक मुख हाँस्छे । हाँस्दा झन् गुडियाजस्ती देखिन्छे ।


फुच्चीकी आमा कति उमेरकी होली ? उसको उमेर २० को हाराहारी हुनुपर्छ । छोरीले मलाई बाबा भनेर बोलाएपछि ऊ मलाई हेरेर मुसुक्क हाँस्छे । बच्ची चिजबल टोकीरहेकी छे । चिजबलको प्याकेट समाएर आमाचाहिँ आफू पनि चपाउँदै छे । बच्ची आमासँग मागेर दुईटा चिजबल ल्याउँछे र मलाई दिन्छे । म हातमा लिएर बस्छु । ऊ मलाई ‘खानी खानी’ भन्दै कर गर्न थाल्छे । म क्वाप्प खाइदिन्छु । ऊ खुसी हुन्छे । ऊ फेरि चिजबल माग्न आमातिर दगुर्छे ।

Advertisement

उसले कुर्ताको अगाडिको फेर उचालेकी थिई र सुरुवाल तल सारेकी थिई । सार्नुपर्ने कुरा केही बाँकी थिएन । एक्कासि मेरो मन डँडेलधुरा पुग्छ र घनघस्या चढ्न थाल्छ । सास फुल्न थाल्छ ।


एउटा कम्प्युटर खाली भयो । अर्धबैँसे महिलाको पालो आयो । तिनी कम्प्युटरमा बसिन् र क्याफेवालीलाई हाँस्दै भनिन्, ‘आम्मा हो ! अस्ति त के के पो आयो नि नानी ! त्यस्तो नआउने बनाइदेऊ है ।’ उनले भनेको के–केचाहिँ के होला त ? म घोत्लिन्छु ।
क्याफेवाली अर्धबैँसे दिदीसँगै जान्छे । ऊ बिस्तारै बोल्छे, ‘बिचराहरु खोला हे¥यो चित्त बुझायो ।’ म अनुमान गर्छु— यो पौडी खेलिसकेकी केटी रहिछ । दिदी जर्किन्छिन्, ‘छ्या के हेर्नी हो त्यस्तो !’ त्यसपछि एक हलको हाँस्छिन् । बच्चीकी आमा पनि हाँसौँला हाँसौंला गर्छे । कुरो बुझेर कि त्यत्तिकै ?


बच्ची फेरि चिजबल लिएर दगुर्दै आई । यस्तो देखिन्छे ऊ क्रिकेटको बलिङ गर्न कुदिरहेकी छे । ऊ मलाई चिजबल दिन खोज्छे । म भने हातले समात्न खोज्छु । होइन रे ! उसैले खुवाइदिने रे ! मलाई साना नानीबाबुसँग खेल्न मन पर्छ । त्यसको फाइदा उठाइरहेकी छ ऊ । म उसको फर्माइस पूरा गरिदिन्छु । ऊ फेरि खुसी हुन्छे ।


अर्को कम्प्युटर पनि खाली भयो । युवती बच्चा च्यापेर कम्प्यटुरमा गई । म अझै पालो कुर्दै छु । मपछि अरू दुई जना महिलाहरू आए । बेन्ची भरिएलाजस्तो भयो । लौ, बच्ची त आमालाई छाडेर मेरो काखमा पो बस्न खोज्छे । म काखमा लिइदिन्छु । ऊ एउटा कम्प्युटरतिर देखाउँदै उः मम्मी मम्मी भन्छे । म हो हो भनेर उसलाई साथ दिन्छु ।


एउटा माउसुली भित्तामा कुद्दै थियो । उसले कति छिटो देखिसकिछ । भन्छे, ‘कीला कीला ।’ उसको कुरामा मैले प्रतिक्रिया जनाउन नभ्याउँदै फिल्मको फ्लेक्स ज्यानभरि टाँगेर एउटा पिकअप भ्यान गीत घन्काउँदै दगुर्छ । फिल्मको डान्सिङ गीतमा बच्ची रमाउन थाल्छे । ऊ हात हल्लाउँदै, कम्मर मर्काउँदै नाच्छे । बच्ची फरवाड छे । क्याफेवाली पनि भन्छे, ‘कति टाँठी नानी हो !’


अर्को कम्प्यटुर पनि खाली भयो । म बच्चीलाई आमातिर पठाइदिन्छु र कम्प्युटरतिर जान्छु । जक्सनको इन्जिनियरिङ (!) वैज्ञानिक लाग्छ । हरेक कम्प्युटरलाई दुुईतिरबाट छेकिने गरी फर्निसिङ गरिएको छ । सबैका लागि पछाडि भित्ता खडा छ । त्यसैले पर्दा टाँग्न परेको छैन । कसैले स्वाट्ट तानिदेला भन्ने पिर छैन ।


म लम्बाइतिरको एउटा कम्प्युटरमा बसेको छु । मेरो दायाँतिर एउटी गोरी युवती छे । ऊ सुस्तरीसुस्तरी कुरा गरिरहेकी छे । मैले हेडफोन लाएको छैन त्यसैले सुनिन्छ मसिना कुरा पनि । म बुझ्छु ऊ लोग्नेसँग बाझ्ने मुडमा छे । हुन सक्छ उसको लोग्नेलाई ऊ कसैसँग लहसिएको शङ्का लागेको छ; हुन सक्छ उसले अनावश्यक रकम माग गरिरहेकी छे वा यो पनि हुन सक्छ ऊ परिवारमा मिलेर बस्न सकेकी छैन ।


म कम्प्युटर खोल्छु, इमेल खोल्छु र आफ्नो काम थाल्छु । ला, अस्ति पठाएको एउटा मेल अनसेन्ट भएछ । त्यसलाई रिसेन्ट गर्छु । आज पनि नेपाल थरको एउटा नामबाट इमेल आएको छ । नामले स्त्री बुझाउँछ । यो मान्छे को हो मलाई थाहा छैन । अनावश्यक रूपमा किन मेल आइराख्छ म बुझ्न सक्दिनँ । इन्बक्सको सिसीमा हेर्छु । सयौं व्यक्तिलाई पठाइएको छ । अब मैले अनावश्यक मेल कसरी ब्लक गर्ने भन्नेबारे जान्नुपरेको छ ।


ब्राउजरमा पी टाइप गर्नेबित्तिकै सयौंको संख्यामा युआरएलहरू लाम लाग्छन् । मभन्दा पहिले एउटी केटी थिई । ऊभन्दा अघि को बसेको थियो ? वा कम्प्युटरको इतिहास धेरै दिनदेखि मेटिएको छैन । ख्यालख्यालमै खुल्ने जोखिम छ । मेरो पनि त्यही अर्धबैंसे दिदीको हाल हुन सक्छ । म इतिहासमाथि इरेजर घोटिदिन्छु ।


एकाधबाहेक भिडिओ कलका लागि आउँछन् ग्राहकहरू । सबै जना बोल्दा कल्याङमल्याङ सुनिन्छ । काउन्टरमा फोनको घण्टी बज्छ । घण्टी त बच्चा हाँसेको आवाज पो रहेछ । क्याफेवाली फोन उठाउँछे । फोन उसकी साथीको रहेछ भन्ने बुझिन्छ किनभने उनीहरू तँतँ र मम गरिरहेका छन् । ऊ थर्काएजस्तो गर्छे, ‘ओइ, तँहरू मत्रै जाने ? मलाई नि लैजा है ।’ कतै घुम्न जाने कुरा होला ।


बायाँतिरको कुनामा पनि युवती नै छे । उसको आवाज अलि चर्को–चर्को सुनिन्छ । ऊ घरीघरी कुनै केटाको नाम पुकार्छे । ऊ अघिदेखि धिरज धिरज भनिरहेकी थिई । उसको आवाज लट्ठ परेको सुनिन्छ । उसको कुरा सुन्दा ऊ उसको लोग्नेसँग भिडियो कल गर्दै छे भन्ने अनुमान गर्न सक्छुु । ऊ यसरी हराएकी छ मानौं ऊ आफ्नै घरको कोठामा छे ।


उसको आवाजले त्यहाँ बसेका मलगायत त्यहाँ सबैलाई बाधा पुर्‍याउँछ । अरूले पनि मुन्टो घरीघरी आवाजतिरै बटारेको देख्छु । क्याफेवाली काउन्टरबाटै कराउँछे, ‘ए बैनी ! ए कुनामा बस्ने बैनी !’ कुनाकी बैनी मुन्टो बाहिर निकाल्छे । क्याफेवाली दाहिने हातले कान मुछ्न लाएको जस्तो इसारा गर्छे । म बुझ्छु ऊ कान खायो भन्दै छे ।


केहीबेर हल्ला बन्द हुन्छ । ऊ बोल्दोबोल्दै फेरि ठूलोठूलो आवाज निकाल्न थाल्छे । यसो आँखा तन्काएर हेर्छु । साइडबाट देखिन्छ, उसले हरियो कुर्ता लगाएकी छ । अनुहार भने छेकिएको छ । कहिलेकाहीँ यताउता हल्लिँदा झल्याकझुलक देखिन्छ । ऊ फेरि त्यही केटाको नाम पुकार्दै छे अघिजस्तै । त्यो केटा नेपत्थ्यमा बसेर के गर्दै छ ? म अनुमान गर्न सक्छु ।


हरेक कम्प्युटरमुनिको भाग चौडाइबाट एक बित्ताजति खुला छ । कुनाको कम्प्युटरको त्यही खुलामा मेरा आँखा प्रवेश गर्छन् । अब वर्णन गरूँ ? उसले कुर्ताको अगाडिको फेर उचालेकी थिई र सुरुवाल तल सारेकी थिई । सार्नुपर्ने कुरा केही बाँकी थिएन । एक्कासि मेरो मन डँडेलधुरा पुग्छ र घनघस्या चढ्न थाल्छ । सास फुल्न थाल्छ । आँत खरो हुन्छ । त्यसै पनि गर्मी महिना । म क्याफेवालीलाई चोर औंला गोलाकारमा घुमाएर इसारा गर्छु ।

ऊ स्विच खिचिदिन्छे । फ्यान आदेश मान्दै मलाई हम्किन थाल्छ । अगाडिको भित्तामा बुद्धको तस्बिर टाँगिएको छ । सब देखेर पनि बुद्ध शान्त छन् । उनको मौनता ध्यानमग्न छ । तर म ? म त्यसैत्यसै उकुसमुकुस हुन्छु । मेरो ध्यान महाभूकम्पपछिको सहर बन्छ । म एक घण्टाका लागि आएको हुँ । अझै एक घण्टा पुगेको छैन । घाटा लागे लागोस्, ३० रुपैयाँ बुझाएर फटाफट आफ्नो बाटो लाग्छु ।


बाटोमा हेुर्छु बिर्सनुपर्ने त्यही देख्छु । स्त्रीलिङ्गहरू अगाडि पर्दा झन् त्यही देख्छु । ध्यानमा बस्दा कस्तो हुन्छ ? हो त्यस्तै हुन्छ मलाई । सँगसँगै विचार चल्छ— वैदेशिक रोजगारीले गाउँ बन्जर बनाएको छ, सहर बजारमा घरैघर फलाएको छ । यही वैदेशिक रोजगारीका कारण जवानीको खोला बहुलाएको छ । ऊ त्यही खोला हेरिरहेकी छ, हेराइरहेकी छ । यही होला टेलीभिजन भनेको ! अब टेलीबेबीहरू जन्मिए भने म आश्चर्य किन मानूँ !


कोठामा मैले विद्यार्थी कालमा प्रयोग गरेको ज्यामिती बक्स अझै छ । स्कुल जीवनको चिनो यही त छ एउटा । बक्स खोल्छु । एक–एक गरेर बक्सको भित्र्याँस केलाउन थाल्छु । कम्पास, डिभाइडर, प्रोट्याक्टर, स्केल, पेन्सिल, इरेजर अनि सेट स्क्वायर । सेट स्क्वायर अर्थात् त्रिभुज । म त्रिभुजलाई टेबुलमा राख्छु र नियालेर हेर्छु । त्रिभुजको फिगर हेर्छु । त्रिभुजको एउटा चुच्चो आफूतिर पार्छु । बाँकी चुच्चाहरूले दायाँबायाँ ताकेका छन् । अब म पक्का हुन्छुु मेरो ज्यान शीतांग पार्ने यही त्रिभुज हो ! हो, त्यही त्रिभुज हो !

तपाईको प्रतिक्रिया