‘रोटरी वा रोट्र्याक्ट डान्सिङ स्टार्स’ हुने

पोखरा ।
स्टार्स स्टुडियो पोखराको प्रस्तुतिमा ‘रोटरी/रोट्र्याक्ट डान्सिङ स्टार्स २०८०’ हुने भएको छ । यो प्रतियोगिता रोटरी वा रोट्र्याक्ट क्लबमा आवद्ध प्रतिभालाई आफ्नो प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो । आइतबार स्टार्स स्टुडियोको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा रोटरी क्लब अफ पोखरा प्याराडाइजका क्लब एडभाइजर लक्ष्मी थापा गिरीले ‘रोटरी/रोट्र्याक्ट डान्सिङ स्टार्स २०८०’ कार्यक्रमको घोषणा गरेकी थिइन् ।
प्रतियोगितामा रोटरी वा रोट्र्याक्टमा आवद्ध भएको जुनसुकै उमेर समूहले भाग लिन सक्नेछन् । प्रतियोगितामा रोटरी र रोटरीबिच एकल नृत्य तथा रोट्र्याक्ट–रोट्र्याक्टबिच सामूहिक नृत्यमा प्रतिस्पर्धा हुनेछ ।
जुनसुकै नेपाली गीतमा नृत्य गर्न पाइए पनि लोक विधालाई प्राथमिकता दिइनेछ । सामूहिक नृत्यको लागि थोरैमा ४ जना र बढीमा १२ जनासम्म रहन सक्नेछन् । नृत्यको समयावधि थोरैमा ३ मिनेट र बढीमा ६ मिनेटसम्म राख्न सकिनेछ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण अधिकार भने आयोजकमा निहीत हुनेछ ।
स्टार्स स्टुडियो र स्टार्स फाउन्डेसनको संयुक्त आयोजनामा गरिने यस प्रतियोगिताको फाइनल आगामी मंसिर १६ गते गरिनेछ । प्रतियोगिताका लागि रोट्र्याक्ट क्लब अफ पोखरा प्याराडाइजले सहकार्य गरेको छ ।
प्रतियोगितामा भाग लिन चाहनेहरुका लागि आवेदन फाराम खुलिसकेको छ । आवेदन फाराम न्युरोड पोखरामा रहेको स्टार्स स्टुडियोको कार्यालयमा उपलब्ध रहेको स्टुडियोका सञ्चालक जसमाया गुरुङ जसुले जानकारी दिइन् ।
२०७३ सालमा स्थापना भएको स्टार्स स्टुडियो प्रालिको सातौं वार्षिकोत्सव तथा २०७६ सालमा स्थापना भएको स्टार्स फाउन्डेसन नेपालको चौथौं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । दुवै संस्था दर्ता भएको असोज ७ गते हो ।
स्टार्स स्टुडियोले ‘लोकसंस्कृति र हाम्रो दायित्व’ शीर्षकमा वक्तृत्वकला, कवितामा नृत्य, चित्रकलामा नृत्य, ३० वर्षमाथिको उमेर समूहको नृत्य प्रतियोगिता, खुला कविता प्रतियोगिता, स्टार्स खुला एकल नृत्य प्रतियोगिता, पुस १५ टिकटक प्रतियोगिता, खुला कविता प्रतियोगिता, गुरुङ गीत एकल नृत्य प्रतियोगिता सफलतापूर्वक आयोजना गरिसकेको छ ।
यसैगरी स्वर्गीय तिलमाया गुरुङ स्मृति सम्मान, स्टार्स संस्कृति सम्मान, स्टार्स समाजसेवी सम्मान कार्यक्रम समेत संस्थाले गर्दै आएको छ । बालबालिकाका लागि स्टार्स समर क्याम्पका दुई संस्करणसमेत आयोजना भयो । फाउन्डेसनको स्थापना पश्चात स्टुडियोले गर्ने सबै कार्यक्रममा फाउण्डेसनले साथ दिँदै आएको छ ।
विभिन्न म्युजिक भिडिओ निर्माणमात्र नभएर गुरुङ चलचित्र निर्माणमा समेत स्टुडियोले हात हालेको छ । स्टार्स स्टुडियो प्रालिको ब्यानरमा पहिलो चलचित्र ‘म्लेक्यु’ अर्थात बिर्साउने पानी, दोस्रो चलचित्र ‘मि–थों’ अथार्त खुला आँखा चलचित्र निर्माण भएको थियो । अब तेस्रो चलचित्र निर्माणको तयारीमा समेत स्टुडिया जुटेको निर्देशकसमेत रहेकी जसुले बताइन् । डान्सिङ स्टार्स कार्यक्रमबाट बचत भएको रकम नृत्यमार्फत महिला सशक्तीकरण अभियानका लागि छात्रवृत्तिमा खर्च गरिनेछ ।
पोखराको न्युरोडमा रहेको स्टार्स स्टुडियोको कार्यालयमा विभिन्न जनजातिका सांस्कृतिक भेषभुषा तथा गरगहना साथै आधुनिक रेडिमेड कपडाहरु भाडामा उपलब्ध हुन्छन् । नृत्य क्षेत्रमा अगाडि बढ्न चाहनेको लागि नृत्य प्रशिक्षणसमेत गराइन्छ ।
वार्षिकोत्सवको दिनमा सार्वजनिक गरिएको कार्यक्रमलाई भव्य बनाउन तयारी सुरु भइसकेको गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्यसमेत रहेकी जसुले बताइन् ।
तपाईको प्रतिक्रिया