अटेर गर्ने बसपार्कका ग्यारेजलाई नगर प्रहरीले हटायो

समाधान संवाददाता २०८० असोज ८ गते १०:३६

पोखरा ।
एक हप्ताअघि पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कभित्र रहेका एक दर्जनभन्दा बढी मोटर पार्टस् र ग्यारेज हटाएको थियो । तर, महानगरले हटाएपनि अटेर गर्ने केही ग्यारेजलाई नगरप्रहरीले आइतबार पनि हटाएको छ । स्थानान्तरणका लागि समय दिँदा पनि नहटाएपछि महानगर आफैंले बसपार्कका मोटर पार्टस् र ग्यारेज हटाएको हो ।

Advertisement


महानगरले १ महिनाअगाडि सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखानाहरु हटाउन भनेको थियो । अहिले बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा जारी छ । बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बसपार्कको कामलाई गति दिन हटाइएको महानगरपालिकाले जनाएको छ । महानगरको यातायात व्यवस्थापन गर्न नगरप्रमुखको निर्देशन अनुरुप बसपार्कलाई व्यवस्थित बनाउन मोटर पार्टस् र ग्यारेजहरु हटाइएको नगरप्रहरी प्रमुख पुरुषेत्तम थापाले बताए ।


‘महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्क भित्रबाटै छुट्नेरछुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ,’ उनले भने, ‘अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्ककै जग्गा रहेका अटेर गर्ने मोटर पार्टस् र ग्यारेज हटाएका हौं ।’ बसपार्कभित्र रहेका कवाडी संकलन केन्द्रहरूलाई भने २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएको छ । बसपार्कको बीच भागमा रहेका टिकट काउन्टरहरू हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।


पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले सुनाए । त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भइसकेको छ ।

अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू हुने मेयर आचार्यले सुनाए । केही दिनअघिबाट महानगरपालिकाले बसपार्क बाहिरपट्टि पोखराकै व्यस्त सडक पृथ्वीचोक–चाइनापुलसम्म पार्किङ निषेध गरेको छ । एकातर्फ साँघुरो चाइना पुल र अर्कोतर्फ सडकमै सवारी साधन पार्किङ हुँदा पृथ्वीचोक–चाइनापुल व्यवस्थित बन्न सकेको थिएन । उक्त क्षेत्रमा बारम्बार ट्राफिक जाम हुने गरेको थियो । पोखरा नगर उपत्यका विकास समितिले पोखरा बसपार्क बनाउन २०३२ मा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यो जग्गा अतिक्रमणको चपेटामा परेको छ । अधिग्रहण भएको ५० वर्ष पुग्नै लाग्दा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन ।

Advertisement

तपाईको प्रतिक्रिया