सम्पादकीयः कोरलाको ढोका खोल्ने पहल होस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा छन् । यो भ्रमणका बेला नेपाल र चीनबीच केकस्ता सम्झौताहरु हुने हुन् वा उनले चीनबाट के कोसेली ल्याउने हुन् भन्ने कौतुहलता छ । चीन भ्रमण जानुअघि प्रधानमन्त्री दाहाल पोखरा आउने संयोग परेको थियो । त्यसबेला प्रधानमन्त्रीसँग यहाँका व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि चीन भ्रमणका बेला पहल गर्न आग्रह गरे । उनीहरुको अर्काे महत्वपूर्ण सुझाव भनेको चीनसँग जोडिएको कोरला नाका खोल्न पहल गर्नू भन्ने हो । अन्तर्राष्ट्रिय उडान पोखराबाटै भए यहाँको पर्यटन उद्योग फस्टाउँथ्यो भन्ने हो । हो पनि चिनियाँ ऋण लगानीमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि भारतले रुट दिन मानेको छैन । कम्तीमा चीनबाट जहाज आउजाउ गर्ने हो भने यो विमानस्थलले सार्थकता पाउने थियो ।
अर्काे महत्वपूर्ण विषय भनेको चीतसँग जोडिएको मुस्ताङको कोरला नाका हो । जुन वर्षमा २ पटक भए पनि खुल्थ्यो । कोभिडको महामारी यता बन्दै छ । यो नाकाले पनि पर्यटन र व्यापारिक क्षेत्रमा ठूलो योगदान गर्न सक्छ । एक त चिनियाँ पर्यटक कोरला हुँदै नेपाल प्रवेश गर्न पाउँथे, फर्कने बाटो पनि यही हुन्थ्यो । चीनले कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गरिसकेको छ । यसको मतलब ऊ यो नाका खोल्ने मनस्थितिमा छ भन्ने नै हो । तर नेपालतिर भने सुनसान छ । भन्सार, अध्यागमन, सशस्त्र प्रहरी सीमा सुरक्षा बल लगायतका लागि आवश्यक जग्गा जमिनको बन्दोबस्ती भएको छ । तर कुनै पनि भौतिक पूर्वाधार बनेका छैनन् ।
कोरला नाका गण्डकी प्रदेशका लागिमात्रै नभई चीन र नेपाल दुवै देशका लागि पायक र सजिलो नाका पनि हो । सिगात्सेसम्म चीनले रेल ल्याइसकेको छ । त्योभन्दा ६ सय किमि पश्चिमको कोरलासम्म ऊ रेल ल्याउन सक्ने क्षमता नराख्ने कुरै भएन । त्यसका लागि चिनिया पक्षलाई अनुरोध गर्न सकिने नै भयो । ऊ आफै पनि त्यसका लागि तयार होला नै । हाम्रो दुई पक्षीय व्यापार र पर्यटनका लागि कोरला नाका खुल्दा सँगसँगै चीनले भारतसँगको व्यापारका लागि पनि छोटो नाकाका रुपमा यसलाई प्रयोग गर्न सक्छ । भारत—चीन व्यापार यो नाकाबाट हुँदा नेपाल ट्रान्जिट बन्छ, पोखरा ट्रान्जिट बन्छ । त्यसको पनि केही न केही सकारात्मक प्रभाव यो प्रदेशको व्यापार व्यवसायमा अवश्यक पर्छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला यो नाका खुलाउने प्रयत्न हुन सके गण्डकीका समग्र देशकै लागि एउटा महत्वपूर्ण उपलब्धि हुने थियो ।
तपाईको प्रतिक्रिया