
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रले आइतबार ५७ औं स्थापना दिवस मनाएको छ । मुस्ताङ जिल्लाको कृषि क्षेत्रको अनुसन्धान, विकास तथा प्रर्वद्धन गर्न शीतोष्ण बागवानी विकास केन्द्र २०२३मा स्थापना भएको हो ।
केन्द्रमा अहिले ३५ जातका स्याउका बिरुवा उपलब्ध छन् । ओखर, आरु बखडा, खुर्पानी, कागजी बदाम, काठे बदाम, मिठो पैयु, अंगुर, नास्पाती आदि फलफुलका विरुवा पनि यहाँ पाइन्छ । शैतोष्णले हाल ५ जताका स्याउलाई दर्ता प्रक्रियाका लागि अघि बढाएको केन्द्र प्रमुख पद्मनाथ आत्रेयले बताए ।
यहाँ स्थापित शीतोष्ण बागवानी विकास केन्द्रकै माध्यमबाट मुस्ताङमा शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारी र विभिन्न बालीको संरक्षण, विकास र अनुसन्धान हुन्छ । कार्यक्रममा न्यायाधीश ईश्वर पराजुलीले मुस्ताङ जिल्लाको समग्र कृषि क्षेत्रको समुत्थान र विकासमा यसले गरेको योगदान महत्वपूर्ण रहेको बताए । उनले यहाँका किसानले आधुनिक र वैज्ञानिक खेती गर्न केन्द्रले ठूलो सहयोग गरेको जनाए ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन, प्रमुख जिल्ला अधिकारी जनकाज पन्त लगायतले शीतोष्ण बागवानी विकास केन्द्रलाई शुभकामना दिए । सो अवसरमा कार्यालयका १ कर्मचारी र १ उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरिएको छ । केन्द्रले कृषि फलफूल तथा तरकारीजन्य बाली विकासमा महत्वपूर्ण योगदान गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ तिरीका कृषक न्हुन्पु गुरुङलाई सम्मान गरेको हो ।
कार्यालयमा कार्यरत रिताकुमारी बुढालाई पनि नगदसहित सम्मानित बनिन् । केन्द्र प्रमुख आत्रेयले केन्द्रले गर्ने विभिन्न गतिविधिबारे प्रस्तुतीकरण गरेका थिए । केन्द्रले फार्ममा उत्पादित कृषि, फलफूल तथा तरकारीजन्य बालीको प्रर्दशनी गरेको थियो ।
मुस्ताङमा सडक तथा विद्युतको पहुँच नहुँदा स्थापना भएको केन्द्रले यहाँको कृषि क्षेत्रमा ठूलो योगदान पुर्याएको छ । शीतोष्ण बागवानीले विभिन्न ४ ब्लक स्थापना गरी करिब ९ हेक्टरमा फलफूल, तरकारी र विभिन्न बाली उत्पादन, अनुसन्धान र क्षमता विकासका कार्यक्रमहरु गर्दै आएको छ । शीतोष्ण बागवानी विकासले स्याउ लगायतका फलफूल तथा तरकारी प्रशोधन गरी ब्रान्डी, साइडर, वाइन र जुस निर्माण गर्ने गर्छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया