गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई उपाधि

समाधान संवाददाता २०८० असोज ८ गते १३:०९

पोखरा ।
पोखरा महानगर प्रथम विद्यालय स्तरीय छात्रछात्रा ह्यान्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोल अन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो ।

Advertisement


प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । सरस्वतीले पोखरा एकेडेमीलाई १४–१३ अन्तरले पराजित गरेको हो । छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४–२ गोल अन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श नै तेस्रो भयो । सरस्वतीले ज्ञानज्योतिको चुनौती १०–० ले पन्छाएको हो ।


दुवै उपाधि विजेताले १५ हजार र उपविजेताले १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । दुवै तेस्रो समूहलाई ७ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइएको छ । छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए ।


पोखरा महानगर ह्यान्डबल विकास समितिको आयोजनामा तीन दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ आठ टिम सहभागी थिए ।


विजयीलाई आयोजक समिति अध्यक्ष दीपकबहादुर गोदार, प्रदेश खेलकुद परिषद् गण्डकीका निमित्त सदस्यसचिव केशव पाठक, अग्रज ह्यान्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबल अध्यक्ष चित्रबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ लगायतले पुरस्कार वितरण गरे । गण्डकी बोर्डिङका प्राचार्य वीरेन्द्र खड्काले आफ्ना विद्यार्थीको उपलब्धिपछि खुसी व्यक्त गर्दै विद्यार्थीलाई पढाइसँगै खेलकुदका क्रियाकलापमा पनि सरिक गराउनुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया