बिजुली नपुगेका गाउँमा सोलार

समाधान संवाददाता २०८० असोज ८ गते १५:०६

गण्डकी ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका ७ स्थानीय तहका १ हजार २ सय ५ घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्‍याइएको हो ।


प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का ३ सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ । तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको छ ।


मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको छ । प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको हो ।

Advertisement


ऊर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो । ‘राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत् आयोजना पनि नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरिएको हो’, इन्जिनियर श्रेष्ठले भने, ‘प्रदेशका सबै घरधुरीमा बिजुली पुर्याएर यसै वर्षभित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको तयारी छ ।’


मन्त्रालयको तथ्याङ्क अनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । बाँकी रहेका शून्य दशमलव ५ प्रतिशत घरधुरीमा बिजुली पुर्‍याउने कार्य जारी छ । पछिल्लो आर्थिक सर्वेक्षण अनुसार २८ सय ८४ घरधुरीमा मात्र विद्युत् सेवा नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले सुनाए ।

Advertisement


ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला ५ वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि ३ हजार २ सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ ।
ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन् । प्रदेशमा झण्डै ४ सय लघुजलविद्युत् आयोजना छन् ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत ३ सय ७१ र बाँकी अरु संस्थाले आयोजना निर्माण गरेका हुन् । सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको ३ दशमलव ८२ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिए । ९८ किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।


बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पुर्याउन बाँकी रहेको छ । ऊर्जा शाखाका अनुसार प्रदेशका ५ लाख ७४ हजार ७ सय ९८ घरधुरी बिजुलीको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

तपाईको प्रतिक्रिया