सम्पादकीयः चीन भ्रमणबाट अपेक्षा

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको राजकीय भ्रमणमा छन् । अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री उतैबाट चीन गएका हुन् । साताव्यापी चीन भ्रमणको पहिलो दिन उनले चिनियाँ राष्ट्रपतिसँग भेट गरेका छन् भने १९ औं एसियाली खेलकुदमा सहभागिता जनाएर चिनियाँ समकक्षीसँग भेट, कृषि र औद्योगिक क्षेत्रको अवलोकन लगायतका कार्यक्रममा सहभागी हुँदै छन् । यसबीचमा चीन–नेपाल लगानी सम्मेलन पनि आयोजना गरिएको छ । जसबाट लगानीका क्षेत्र पहिचान गर्दै नेपालमा लगानी प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाल र चीनबीच विभिन्न १२ समझदारीसमेत भएका छन् । नेपालका लागि सबैभन्दा महत्वका मुलुक भारत र चीन हुन् । यी मुलुकको भ्रमण र समझदारीको धेरै चर्चा हुनु अस्वभाविक हुँदै होइन । भारत र चीनको नेपाललाई हेर्ने दृष्टिकोण भिन्न भिन्न छन् ।
सीमा नै खुला रहेको भारतसँगको सम्बन्ध बहुआयामिक छ । सँगसँगै चीन पनि अहिले फरक बाटोबाट हिड्न लागेको आभास हुन्छ । चिनियाँ राजदूतको पछिल्लो भारतलक्षित अभिव्यक्ति र कतिपय चिनियाँ बुद्धिजीवीका विश्लेषण अनुसार चीन नेपालको मामिलामा थप चनाखो बन्दै गरेको देखिन्छ । नेपालबाट चीनले मुख्यगरी एक चीन नीतिमा व्यवहारिक ऐक्यवद्धता चाहेको छ । चीन मुख्यतः नेपालबाट आफ्नो सुरक्षा अवस्थामा खतरा नआओस् भन्ने चाहन्छ । त्यसमा नेपाल निरन्तर संवेदनशील पनि देखिएको छ । पछिल्लो समय बढ्दै गएको पश्चिमाको वर्चश्वका कारण चीन केही सशंकित हुनु अस्वभाविक होइन । एमसिसी परियोजना कार्यान्वयन, अमेरिकी र युरोपको चासो र नेपालको जलस्रोतमा भारतीय लगानीकर्ताको वर्चश्वले चीन सशंकित देखिन्छ ।
अहिले प्रधानमन्त्री दाहालले एमसिसीको यथार्थ चीनलाई बुझाउनुपर्ने हुन्छ । नेपाल कुनै अन्तर्राष्ट्रिय वा क्षेत्रीय सैन्य रणनीतिको अंग नबन्ने कुराले एकातिर हाम्रो सार्वभौमिकताको रक्षा गर्छ भने अर्कोतिर छिमेकीलाई अनावश्यक आशंकाबाट मुक्त गर्न सक्छ । शंकै छैन, चीन अहिलेको उदाउँदो शक्ति राष्ट्र हो । छिमेकीको यत्रो आर्थिक उपलब्धि र जनसंख्याबाट फाइदा लिन नसक्नु हाम्रो कमजोरी हो । चिनले बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) अघि बढाए पनि यसले गति लिन सकेको छैन ।
बिआरआई परियोजनामा नेपालले ऋण होइन, अनुदानमै जोड दिनुपर्छ । रेलमार्ग, हिमालयन ट्रान्जिट, थप सीमा नाका खुला गर्ने विषयमा पनि सार्थक संवाद हुनुपर्छ । गोरखाको रुइला र मुस्ताङको कोरला नाका खोल्ने विषयमा पनि निर्णय हुने नागरिकको अपेक्षा छ । सँगसँगै चिनिया लगानीमा नै बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट उडानका लागि केही निर्णय हुने प्रधानमन्त्रीले बारम्बार बताउँदै आएका थिए । गण्डकी प्रदेशका लागि कोरला र रुइला नाका खुला हुने र चीनबाट नियमित उडान भए आर्थिक समृद्धिका लागि कोसेढुंगा साबित हुन सक्छ ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया