अटेर गर्ने बसपार्कका ग्यारेज हटाइयो

समाधान संवाददाता २०८० असोज ९ गते १६:४८

पोखरा ।
एक हप्ताअघि पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कभित्र रहेका दर्जनभन्दा बढी मोटर पार्टस् र ग्यारेज हटाएको थियो । तर, महानगरले हटाए पनि अटेर गर्ने केही ग्यारेजलाई नगर प्रहरीले आइतबार फेरि हटाएको छ ।

Advertisement


स्थानान्तरणका लागि समय दिँदा पनि नहटेपछि महानगर आफैंले बसपार्कका मोटर पार्टस् र ग्यारेज हटाएको हो । महानगरले १ महिनाअगाडि सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन भनेको थियो । अहिले बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा जारी छ ।


बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेज बसपार्कको कामलाई गति दिन हटाइएको महानगरपालिकाले जनाएको छ । महानगरको यातायात व्यवस्थापन गर्न नगर प्रमुखको निर्देशन अनुरुप बसपार्कलाई व्यवस्थित बनाउन मोटर पार्टस् र ग्यारेजहरु हटाइएको नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताए ।


‘महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीलाई बसपार्क भित्रबाटै छुट्ने र छुटाउने अनिवार्य व्यवस्था लागू गरिएको छ,’ उनले भने, ‘अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्ककै जग्गा रहेका अटेर गर्ने मोटर पार्टस् र ग्यारेज हटाएका हौं ।’


बसपार्कभित्र रहेका कवाडी संकलन केन्द्रहरूलाई भने २२ गतेभित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ । पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङ निर्माण गरिएको छ । बसपार्कको बीच भागमा रहेका टिकट काउन्टरहरू हटाइएको छ भने केही टहरासमेत स्थानान्तरण गरिएका छन् ।

Advertisement


पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधि निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका मेयर धनराज आचार्यले सुनाए ।


त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको पहिलो चरणको कार्य भइसकेको छ । अब दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू हुने मेयर आचार्यले सुनाए ।


केही दिनअघिबाट महानगरपालिकाले बसपार्क बाहिरपट्टि पोखराकै व्यस्त सडक पृथ्वीचोक–चाइनापुलसम्म पार्किङ निषेध गरेको छ । एकातर्फ साँघुरो चाइना पुल र अर्कोतर्फ सडकमै सवारी साधन पार्किङ हुँदा पृथ्वीचोक–चाइनापुल व्यवस्थित बन्न सकेको थिएन । उक्त क्षेत्रमा बारम्बार ट्राफिक जाम हुने गरेको थियो ।

पोखरा नगर उपत्यका विकास समितिले पोखरा बसपार्क बनाउन २०३२ मा २ सय ५ रोपनी जग्गा अधिग्रहण गरेको थियो । तर, त्यो जग्गा अतिक्रमणको चपेटामा परेको छ । अधिग्रहण भएको ५० वर्ष पुग्नै लाग्दा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया