डेंगु रोकथामका लागि व्यासको पहल

समाधान संवाददाता २०८० असोज १० गते ७:३७

दमौली ।
तनहुँको व्यास नगरपालिकाले दमौली अस्पतालमा दैनिक बिरामीको संख्या बढेपछि आफ्ना स्वास्थ्यकर्मीलाई अस्पतालमा खटाइएको छ । नगरपालिकाले मंगलबारदेखि अस्पतालमा ५ जना स्वास्थ्यकर्मी परिचालन गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।


‘अहिले डेंगुका बिरामीले अस्पतालमा दैनिक बिरामीको संख्या बढेको छ, त्यहाँको जनशक्तिले धान्न नसक्ने अवस्था आएकाले तत्कालको लागि हामीले उक्त अस्पतालमा स्वास्थ्यकर्मी खटाएका हौं,’ उनले भने । नगरपालिकाले १ जना डाक्टर, २ जना ल्याबका कर्मचारी र २ जनालाई इमर्जेन्सीमा परिचालन गरेको उनले बताए ।


नगरपालिकाले विद्यालयमै पुगेर विद्यार्थीहरुलाई डेंगु सम्बन्धी सचेतना कार्यक्रम गर्न सुरु गरेको छ । पछिल्लो समय डेंगुको प्रकोप बढ्दै गएपछि नगरपालिकाले विद्यालयमै गएर डेंगु रोग नियन्त्रण र रोकथाम अभियानलाई तीव्रता दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

Advertisement


उनले डेंगु नियन्त्रण रोकथामका लागि विषादी छर्कने गर्दा मानव स्वास्थ्यमा हानि गर्ने भएपछि स्वास्थ्य सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमलाई जोड दिएको बताए । उनले भने, ‘विभिन्न विषादी छर्कंदा मानव स्वास्थ्यलाई हानी हुने देखियो, त्यसैले हामीले सचेतनामूलक कार्यक्रमलाई जोड दिएका छौं ।’

जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको टोलीसहित विद्यालयमै पुगेर डेंगु रोगसम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेतना गराइएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख सोतीले टायर, जार, नाली लगायतमा डेंगुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सफाइमा ध्यान दिनुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया