सम्पादकीयः स्वास्थ्य संवेदनशील क्षेत्र हो, संयमता अपनाऔं

पोखराको मणिपाल शिक्षण अस्पतालमा लमजुङकी एक महिलाको उपचारको क्रममा सोमबार निधन भयो । चिकित्सकको लापर्वाहीको कारण बिरामीको मृत्यु भएको दाबी सहित मृतकका आफन्तहरु आन्दोलनमा छन् । बिरामीका आफन्त चिकित्सकमाथि हातपात गर्ने र चिकित्सक समेत प्रतिवादमा उत्रेको कारण अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकमाथि हातपात गर्नेलाई व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ । चिकित्सक पक्षबाट होहल्ला र नाराबाजीमा संलग्न चिकित्सकलाई समेत प्रहरीले नियन्त्रण लिएर छोडेको अवस्था छ । दुबै पक्ष बीचको विवाद तनावले अस्पताल जस्तो संवेदनशील क्षेत्र तोडफोड हुनु र सिसाहरु फुट्नु दुखद पक्ष हो ।
पोखरामा मात्र होइन, पछिल्लो ११ दिन बीचमा हेटौँडा, कञ्चनपुर, मोरङ, लमजुङमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ । घटना पछि नेपाल चिकित्सक संघ लगायत पेशागत संगठनहरुले प्रेस विज्ञप्ति निकाल्ने सांकेतिक विरोध गर्नु स्वभाविक हो । सबभन्दा ठूलो कुरा बिरामीले जस्तो सुकै अवस्थामा समेत समयमै उपचार पायो कि पाएन भन्ने हो । जब स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्था बन्द गरेर आन्दोलनमा उत्रिन्छ । धेरै मानिसहरु स्वास्थ्यकर्मीप्रति नकारात्मक भइहाल्छ । त्यसैले यस्ता आकस्मिक निर्णयहरु गर्नु अघि स्वास्थ्यकर्मी वा चिकित्सकले गम्भीर भएर सोच्नै पर्छ ।
बिरामीको उपचारमा खटिएका चिकित्सक नर्स तथा अरु स्वास्थ्यकर्मीहरुको ध्यान बिरामी तथा घाइतेलाई कसरी छिटो निको बनाउने भन्नेमा हुन्छ । अस्पतालमा गम्भीर घाइते वा बिरामीको उपचार भइरहेको वेलामा कहिलेकाँही सामान्य भनिरहेको बिरामीलाई उपचारकै क्रममा जटिलता उत्पन्न हुनसक्छ । त्यसबेला डाक्टरको अथक प्रयासका बावजुत बिरामी तथा घाइतेहरु गुम्न सक्छन् । अथवा, नतिजा बिरामी पक्षले चाहे जस्तो नआउन सक्छ । यस्तो बेलामा विभिन्न बहानामा चिकित्सक वा स्वास्थ्यकर्मीमाथि आक्रमण वा स्वास्थ्यसंस्थामाथि तोडफोड हुने गरेको छ ।
नेपालमा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीप्रति गर्ने व्यवहारमा धेरै समस्या छ । प्रभावकारी रुपमा सञ्चार नहुँदा, राम्रोसँग परामर्श नगर्दा बढी जसो घटना भएको पाइन्छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुले यो थाहा पाएर पनि समाधान गरेका छैनन् । सुधार्नु पर्ने विषय सुधार नगर्ने, खाली स्वास्थकर्मी माथि आक्रमण भयो मात्रै भन्दछन् ।
चिकित्सकले गर्ने उपचारमा पनि कहिलेकाँही प्राविधिक तथा मानवीय रुपमा त्रुटी हुनसक्छ । गल्ती गर्नेमाथि मेडिकल काउन्सिल लगायतका निकायले कारवाही गर्नु पर्छ । घटनाको छानवीन गरेर दोषीलाई कारवाही गर्नु पर्छ । गलत काम गरेकै भए पनि वास्तविकता जस्ताको तस्तै जनसमक्ष ल्याउनु पर्छ । कतिपय उपचारमा त्रुटि होलान् तर अहिलेसम्म आक्रमण भएका घटनाहरुमा त्यस्तो बढी त्रुटि भयो रिपोर्ट छानविन गर्ने कुनै पनि निकायले सार्वजनिक गरेका छैनन् ।
चिकित्सकहरुले लापवाही गरे पनि मेडिकल काउन्सिल लगायतका निकायहरुले जोगाउँछ भन्ने भान आम मानिसमा व्याप्त छ । चिकित्सकले गल्ती गर्दैन् । गरेमा उ पनि सजायको भागीदार हुन्छ भन्ने म्यासेज जनताबीच पुर्याउन आवश्यक छ ।
.
तपाईको प्रतिक्रिया