दाबी भुक्तानीलाई सहज बनाउन मुख्यमन्त्रीको सुझाव

समाधान संवाददाता २०८० असोज १२ गते ११:०५

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बिमा प्राधिकरणलाई सुझाव दिएका छन् । बिहीबार नेपाल बिमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने ‘बिमा गराउँदा कम्पनीहरुले जति सजिलो गरी गराउनुहुन्छ दाबी भुक्तानीमा त्यति सजिलो देखिँदैन, दाबी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ, बिमा प्राधिकरणले यो सुधारर्नुपर्छ ।’

Advertisement


बिमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिनु उनले सुझाए । मुख्यमन्त्री पाण्डेले बिमाको बारेमा अहिले पनि सर्वसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिनुपर्नेमा जोड दिए । कृषि, पशु, व्यवशाय बीमामापनि प्राथमिकता दिन उनले बीमा प्राधिकरणलाई अनुरोध गरे ।


बिमाबाट सर्वसाधारणले धेरै सुविधा र सहजता महसुस गर्ने गरी कार्य अघि बढाउन र त्यसका लागि गण्डकी प्रदेश सरकारले गर्नुपर्ने सहकार्य, समन्वय गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताए ।


नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बिमा सम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे । गण्डकी प्रदेशभित्र २७ दशमलव ४३ प्रतिशत मानिस बिमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बिमाको पहुँचमा छन् । नेपालमा जीवन बिमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपंक्षी बिमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी सतप्रतिशत अनुदानको ब्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ ।


गण्डकी प्रदेशभित्र एक सय १६ बिमा कम्पनीमा ४ सय ८० जना कर्मचारी कार्यरत छन् । बिमा प्राधिकरणसँगको अन्तक्र्रियामा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु लगायतको सहभागीता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया