सम्पादकीयः पोखरेलीले गौरव गर्ने सहमति

समाधान संवाददाता २०८० असोज १२ गते १२:१७

पोखराका उद्योगी व्यवसायीले १५ भदौ २०८०मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्ने लगायतका मागलाई समेटेर चीन भ्रमणको प्रमुख एजेन्डा बनाउन ज्ञापनपत्र बुझाएका थिए । त्यसबाहेक नेपाललाई ‘गन्तव्य राष्ट्र’मा सूचीकृत गर्न, मुस्ताङको कोरोला नाका संचालनको पहल थाल्न एवं गोर्खामा पर्ने रुइला नाका खोल्ने, पोखरामा चिनियाँ महावाणिज्य दूतावास स्थापनको आग्रह गर्ने, पोखरा चक्रपथको लागि चिनियाँ सहयोग जुटाउने लगायतका माग समेटिएको थियो ।

Advertisement


प्रधानमन्त्री प्रचण्ड मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमणको क्रममा भएको नेपाल– चीनबीचको १३ बुँदे सयुक्त वक्तव्यमा चीनले ‘सतर्कतापूर्वक’ पोखरा र गण्डकी प्रदेशप्रतिको चासो व्यक्त गरेको विवरण वाहिर आएको छ । मित्र राष्ट्र चीनले कोरला नाका संचालन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता एवं पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिवद्धता गर्नु स्वागत योग्य कदम हो ।


नेपाल– चीनबीचको १३ बुँदे संयुक्त वक्तव्यको बुँदा नम्बर ७ मा कोरला नाका संचालनको विषयले ठाउँ पाएको छ । चिनियाँ पक्ष आउँदो उचित समयमा लिजी–नेचुङ बन्दरगाहको सुविधा बृद्धिमा सहयोग पुर्‍याउन तयार छ । नेपाल र चीनबीच २०७४ भदौमा पाल र चीनबीच व्यापार तथा पारवहन सम्झैताको कार्यविधि (प्रोटोकल) मा सहमति भएसँगै चीनतर्फ ती संरचना बन्न सुरु भएको हो । सन् २०१९ मा चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा नै सो नाका खुलाउने सहमति बनेको थियो ।

Advertisement


नेपालले कोरलादेखि भारतको त्रिवेणीसँग राजमार्ग निर्माण गरिरहेको छ । पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता खोजेको छ ।

प्रधानमन्त्री दाहालको क्रममा नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि दिइएको करिब २८ अर्ब ऋणलाई अनुदानमा बदल्न तथा चीनबाट ल्याइएका विमानहरुको ऋण मिनाहाको लागि अनुरोध गरिएको थियो । संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रतिको चासो भने व्यक्त गरिएको छ । संयुक्त वक्तव्यको ७ नम्बर बुँदामा दुबैपक्षबाट पोखरा एयरपोर्टसहितबाट उडान र थप हवाइ रुट बिस्तारमा सहमति जनाइएको छ । दुबै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने सहमति गरिएको छ ।

Advertisement

पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तक्र्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने सहमति भएको छ । सहमतिमा पोखरा एयरपोर्टलाई विशेष महत्वका साथ उल्लेख गरिनुले पोखराबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितताको रुपमा लिइएको छ । पोखरालाई चीनसँग जोड्ने विषय समावेश हुनु भनेको खुसीको कुरा हो, यस्तो सहमतिले अब पोखराबाट सोझै चीन सोझै उडान हुने आशा पलाएको छ । अझ धेरै चिनियाँलाई नेपाल भ्रमणको लागि प्रोत्साहन गर्ने र दुबै पक्ष नेपालमा चिनियाँ पर्यटक भित्रयाउन सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षको रुपमा मनाउने सहमति हुनु राम्रो हो । त्यसैले अहिले भएको सहमति कार्यान्वयनमा आउनु पर्छ ।

तपाईको प्रतिक्रिया