बहाकोट कालिका मन्दिर उद्घाटन

समाधान संवाददाता २०८० असोज १२ गते १२:३६

पोखरा ।
स्याङजाको पुतलीबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वीवीरविक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धारसहित पुन निर्माणसँगै मन्दिरमा ढलोटको मूर्तिसमेत स्थापना गरिएको हो ।


मन्दिरको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहासिक बहाकोट कालिका मन्दिर पुनर्निर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा पर्यटक भित्रिने विश्वास व्यक्त गरे ।


रेग्मीले मन्दिरसम्म आउने सडकको अवस्था अझै पनि दयनिय रहेको बताउँदै उक्त सडक निर्माणमा नगरपालिकाले सहयोग गर्ने र संघ र प्रदेश सरकारसँगसमेत समन्वय गरी सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी निर्माण गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

Advertisement


अधिवक्ता विश्वराज मरासिनीले बहाकोटवासी दाजुभाइले पहलकदमी थालेर स्वदेश तथा विदेशमा रहेका जनसमुदायको सहयोगबाट मन्दिर निर्माण हुनु बाहकोटवासीको गौरवको विषय भएको थपिएको सुनाए । पुतलीबजार नगरपालिका वडा नम्बर ८ का अध्यक्ष इमबहादुर सेनले सहयोगी हातबाट करोडौंको लगानी गर्न सफल भएको बताए ।


सहयोग गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै वडाअध्यक्ष शाहीले आगामी दिनमा मन्दिर जाने बाटो आफ्ठेरो रहेको वताउदै सडक निर्माणका लागि र बहाकोटमा थ्री फेस लाइन जडानका लागि समेत पहलकदमी थाल्ने बताए । बहाकोटसँग मिलिनियम ट्रेक कोल्मा, कैलाश गुफा र भारकोट स्तूपलाई जोडेर पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा अगाडि बढ्ने सकिने उनको भनाइ थियो ।

Advertisement


मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडि सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई बहाकोट रहन गएको किंवदन्ती रहेको बताए ।


पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय स्थानीय र बाह्य सहयोगी एवं चन्दादाताको सहयोगमा संकलित १ करोड १ लाख ३५ हजार ८ सय ८ रुपैयाँ लागतमा बहाकोट कालिका मन्दिर निर्माण सम्पन्न गरिएको आर्थिक संकलन संयोजक इन्द्रबहादुर थापाले बताए । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रिको विशेष पूजापाठ हुने साथै बडादसैंको नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुन्छ ।

तपाईको प्रतिक्रिया