टि २० क्रिकेट प्रतियोगिता मंसिरमा

समाधान संवाददाता २०८० असोज १२ गते १४:२८

पोखरा।
पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ मंसिर ७ बाट १६ गतेसम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता मंसिर १६ गते सम्म चल्नेछ ।

Advertisement


एकेडेमीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लब र एकेडेमीको यु १९ का २ टिम गरी १२ टिमको सहभागिता हुने जानकारी दिए । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख, द्वितीय पुरस्कार २ लाख ५० हजार नगदका साथमा सिल्ड, मेडल र प्रमाणपत्र रहेको जानकारी दिए ।


आइसिसीको नियम अनुसार खेलाइने प्रतियोगितामा म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार पाउने छन् । खेल सम्पन्न गर्नका लागि ७७ लाख खर्च हुने अनुमान छ । अध्यक्ष आचार्यले युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रूपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशाशित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य राखिएको जनाए ।

Advertisement


पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले एकेडेमीले समावेश गर्ने २ टिम ट्यालेन्ट हन्टबाट छनोट गरिने बताए । ‘हामी देशव्यापी रुपमा खेलाडीलाई ट्यालेन्ट हन्ट गरी छनोट गर्ने छौं । यसले युवा खेलाडीले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन्’, उनले भने ।


एकेडेमीका सल्लाहकार मोहन रेग्मीले एकेडेमीले आयोजना गर्ने गरेको टि २० राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । प्रतियोगिता हरेक वर्ष विभिन्न प्रदेशमा आयोजना हुने तय गरिएको उनले जानकारी दिए ।


एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राजेशकुमार गुरुङले पोखरामा आयोजना हुने प्रतियोगितामा सबैले सहयोग हुने अपेक्षा गरे ।

तपाईको प्रतिक्रिया