कवितासँगसँगै झलकमानको झल्को

पोखरा ।
७८ वर्षे कवि मञ्जुलले ठ्याक्कै डेढ घन्टा उभिएर कविता सुनाए । कविता बाचनको मैझारोचाहिँ उनले गीत गाएर गरे । पोखरेली युवा सांस्कृतिक परिवार पोखराले शनिबार उनलाई एकल कविता बाचनमा उभ्याएको थियो । पोखरा प्रज्ञा प्रतिष्ठानको सहयोगमा आयोजित कार्यक्रममा कवि मञ्जुलले कविता लेख्नुअघि आफूले गीत गाउँदै हिँड्ने गरेको सम्झिएका थिए ।
कार्यक्रमको बिट मार्दै गर्दा झलकमान गन्धर्वको चर्चित गीत ‘आमैले सोध्लिन् नि खोई छोरा भन्लिन् नि…’ गाएर मञ्जुलले सहभागीहरुलाई भावुक बनाए । त्यसो त त्यो गीत गाउन उनले झलकमानबाटै सिकेको पनि सुनाए । ‘पोखरा आउँदा झलकमान गन्धर्वलाई नसम्झने कुरै भएन,’ उनले भने ।
आफ्नै गाउँ भोजपुरमा पनि गन्धर्व वस्ती रहेको मञ्जुलले सुनाए । आफ्नो घरमा आएका गन्धर्वलाई आफ्नी आमाले माया गर्ने गरेको सुनाउँदै उनले गन्धर्वसँग सम्बन्धित कविता बाचन गरे । २०२५ देखि २९ सालसम्म गीत गाउँदै गाउँगाउँ डुलेको स्मरण गरेका कविले प्राय गाउँघरतिरकै कविता सुनाएका थिए ।
पोखराकै कवि तीर्थ श्रेष्ठसँगै फेवातालनजिकैको पञ्चासेतिरको यात्रा पनि कवि मञ्जुलले सम्झिन भ्याए । त्यो बेला लेखेका कविता पनि सुनाए । कवि तीर्थले पनि आफूहरुले संयुक्त कविता संग्रह नै निकालेको सम्झिएका थिए । ‘कवि मञ्जुल अग्रजहरुलाई अत्यन्तै आदर गर्नुहुन्छ, अनुजहरुलाई माया,’ उनले भने, ‘उहाँले माया गरेको अनुज कोपिला तुरुन्तै फूल भएर फक्रिएको मैले देखेको छु ।’
मञ्जुलले कवि सिद्धिचरण श्रेष्ठको व्यक्तित्वमाथि लेखेका कवितासँगै आफू धेरै प्रभावित भएको गाउँ चोकटीमाथिका कविता भने एकभन्दा बढी नै सुनाए । ‘पोखराले यति धेरै माया ग¥यो, म कहिल्यै बिर्सन्न,’ अनि उनले बिट मारे । कार्यक्रमको सुरुमै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले हरखबत क्रियाशील कवि मञ्जुललाई पोखरा डाक्न पाउँदा गर्व लागेको सुनाएका थिए । राल्फा आन्दोलनसँग सम्बद्ध मञ्जुलका दर्जनौं कविता संग्रह प्रकाशित छन् ।
तपाईको प्रतिक्रिया