सम्पादकीय: चिकित्सकको मनोबल उठाऊ

समाधान संवाददाता २०८० असोज १४ गते १२:०४

चिकित्सक आन्दोलनमा रहँदा बिरामी मारमा परेका छन् । आकस्मिकबाहेक सेवा अस्पतालहरुमा अवरुद्ध छ । हेटौंडामा डाक्टर कुटिए, लमजुङमा कुटिए र पोखराको मणिपाल अस्पतालमा पनि । बिरामीका आफन्तले अस्पतालमा डाक्टर कुट्ने, हुलहुज्जत गर्ने र तोडफोड गर्ने काम अचाक्ली भएपछि डाक्टरहरुको मनोबल गिर्‍यो । उनीहरुले बिरामीको सेवा गर्ने मनोबल बनाउन सकेनन् । सुरक्षित महसुस गरेनन् । मणिपालमा त झन् दिनदिनजसो हुलहुज्जत भयो ।

Advertisement

पोखराको सडक, चोक कब्जा गरेर चक्काजाम भए । सटरहरु बन्द गराइए । तै प्रहरीले त्यस्तो हर्कतमा कुनै हस्तक्षेप गरेन । सटर बन्द गराउँदै, चोकमा चक्काजाम गराउँदै हिँड्दा सहजीकरणजस्तो गर्‍यो । उनीहरुलाई नै सुरक्षा दियो । जब कि यहाँ फुटपाथ व्यापारीमाथि लाठी बर्साइन्छ । निर्धा र निमुखामाथि लाठी बजार्ने तर बाहुबलीहरुलाई सुरक्षा दिने प्रहरी, प्रशासनको चरित्रले चिकित्सकहरुको मनोबल त गिराउने भइहाल्यो । कानुनी राजको पक्षमा हुनेहरुको पनि चित्त दुखायो ।


मणिपालतिर कार्यक्षेत्र नै नभएका वडा प्रहरी कार्यालय बैदामका डिएसपी वेद जोशीलाई अस्पतालको भिड नियन्त्रणमा खटाएर नेपाल प्रहरीले उल्टै उनलाई अपजसको भारी बोकाइदियो । कुनै अप्रिय स्थिति आउन नदिन भरमग्दुर प्रयास गरेका उनलाई काज सरुवाको कारबाही भयो । जिल्लाका महत्वपूर्ण घटनाक्रममा जिल्लाबाटै खटिनुपर्नेमा चाहिँ ध्यान दिइएन । त्यसबाट फिल्डमा खटिने प्रहरी अधिकारीको पनि मनोबल गिरेको छ । प्रहरी नेतृत्वले यसबारे सोच्नुपर्छ । संगठनभित्रै न्यायको अनुभूति भएन भने फिल्डमा खटिने मन कुनै पनि प्रहरी जवान वा अधिकृतलाई हुँदैन ।


केन्द्रको निर्देशन आएपछिमात्रै कास्की प्रहरीले मणिपालमा हुलहुज्जत गर्ने अरु ७ जनालाई शुक्रबार पक्रियो, जुन पहिल्यै आफै गर्नुपथ्र्याे । तोडफोड र धाकधम्कीकै कारण चिकित्सकहरु आफ्नो कार्यक्षेत्रमा उत्रन सकेनन् । शान्ति सुरक्षाको प्रत्याभूति गराउने कर्तव्य प्रहरी प्रशासनको हो । तर प्रहरीकै सामुन्ने चिकित्सकहरुमाथि ज्यानकै धम्की आएको दुखेसो पनि चिकित्सकहरुबाट आयो । तर, त्यसलाई सम्बोधन गर्ने कष्ट भएन । यी यावत कारण चिकित्सकहरुले आउँदा दिनमा कुनै पनि धाकधम्की र असुरक्षता खेप्न नपरोस् भन्ने चाहेका हुन् । त्यसको सुनिश्चिता खोजेका हुन् । जसका कारण उनीहरुले ऐनमै संशोधन गरेर भए पनि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामाथि जोकोहीले बिनाकारण दखल नदेओस् भन्ने हो ।


अस्पतालमा पुग्दैमा सबै बिरामी बाँच्ने ग्यारेन्टी हुन्थ्यो भने बेग्लै हो । आजसम्मको स्वास्थ्य विज्ञानले त्यस्तो उपचार विधि पत्ता लगाउन सकेको छैन । अस्पताल लगेको बिरामीको मृत्यु हुनु नै हुँदैन भन्ने मान्यताबाट सबै मुक्त हुन जरुरी छ । तर, डाक्टर भनेको भगवान पनि होइनन् कि उनीहरुबाट गल्ती नै नहोस् । उनीहरुको उपचार र व्यवहारमा खोटै हुँदैन भन्ने होइन । कतिपय सन्दर्भमा चिकित्सकका काम र व्यवहारमा खोट छन् । बिरामीसँग कठोर प्रस्तुत हुने, सोधेका कुरा नभन्ने र आफूलाई सुपरह्युमनै सम्झने र त्यसअनुसार प्रस्तुत हुने चिकित्सक पनि छन् । उपचारमा लापरबाही नै गर्ने चिकित्सक पनि छन् ।

Advertisement

उल्टो उपचार गर्ने चिकित्सक पनि छन् । बिरामीको पैसा धुत्नेबाहेक अरु कुनै सोच नराख्ने चिकित्सक पनि छन् । तर सबैलाई एकै घानमा हाल्न मिल्दैन । चिकित्सकहरुले पनि आत्मसमीक्षा गर्न जरुरी छ । उपचारमा लापरबाही हुँदा कानुनी उपचार खोज्ने व्यवस्थामा बिरामीहरुलाई सचेत गराउनुपर्छ । खासमा चिकित्सकहरुलाई काम गर्ने वातावरण दिनु आजको आवश्यकता हो । देशमा अराजकता मौलाउँदै गए चिकित्सकहरुमा मात्रै नभई कुनै पनि दक्ष जनशक्ति स्वदेशमा अडिन्न ।

तपाईको प्रतिक्रिया