पत्रपत्रिकाको बजारमा सूचना प्रविधिको प्रभाव
पत्रपत्रिकाहरुले आफ्नो विरासतलाई दोहोर्याउन रणनीतिक तवरबाट अगाडि बढ्नुपर्छ

नेपाली छापा पत्रकारिताले लामो अनुभव बोकेको छ । गोर्खापत्रको उत्पतिबाट भएको छापापत्रकारिताले निकै आरोह अवरोह व्यहोरेको छ । छापा पत्रकारिताले राज्यमा भएका सबै राजनीतिक तथा सामाजिक परिवर्तनलाई सुक्ष्म ढंगले समाचार सम्प्रेषण गर्ने मौका पनि पाएको छ । कतिपय समय र अवस्थामा राज्यबाट यस क्षेत्रलाई अंकुश पनि लगाइयो तर छापामाध्यमहरु कहिल्यै विचलित भएनन् ।
बारम्बार जनताको आवाज बुलन्द गर्न हौसिरहे । पत्रपत्रिका प्रति नागरिकको विश्वास पनि बढ्दै गयो । पत्रपत्रिकाबाट नै नेपाली समाजले कोल्टे फेरेको महसुस आम जनतामा रह्यो । पत्रपत्रिकाको सामग्रीप्रति शासकहरु तर्सिन्थे । राणाशासन, निर्दलीय पञ्चायत र नेकपा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्वकालमा छापा पत्रकारिता भूमिगत रुपमा पनि चल्यो । २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले कू गरेपछि अर्थात शाही घोषणा गरेपछि पत्रपत्रिका, एफएम रेडियो, टिभीहरुमा समाचार प्रकाशन तथा प्रसारणमा रोक लगाइयो ।
नागरिकहरुमा सूचना प्रवाहका लागि अडिग रहेको सञ्चार माध्यमहरुको संघर्ष अभूतपूर्व छ । लोकप्रिय कहलिएका पत्रपत्रिकाहरु आजभोली बजारमा देखिन छाडेका छन् । पाठकहरु पनि घट्दै गएका छन् । सूचना प्रविधिको क्षेत्रमा भएको तिव्र विकासले पत्रपत्रिकाहरु ओझेलमा परेको प्रष्ट देखिन्छ । तथाफी सूचना प्रवाहको जिम्मेवारी र दायित्व भने झन्झन् बढ्दै गएको छ । यस्तो विषम परिस्थिति खेपेका पत्रपत्रिकाहरुले आफ्नो विरासतलाई दोहो¥याउन रणनीतिक तवरबाट अगाडि बढ्नुपर्छ ।
सामाजिक सञ्जालको रुपमा विकास भएका फेसबुक, टिकटक, युटुब, टुइटर, इस्टाग्रामहरु मार्फत क्षणभरमा नै विश्व सामु सूचना, सन्देश पस्कन सक्ने व्यवस्था सिर्जना भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफूमा लागेको विचार पोख्न, भन्न सहजै पाउँछन् । सामाजिक सञ्जाललाई नै आधार बनाएर अनलाइन सञ्चार माध्यमहरु पनि स्थापना भएका छन् । यसले आफ्नो लक्षित वर्गलाई छिटो छरितोरुपमा सूचना प्रवाह गराइरहेका छन् । आम नागरिक सामाजिक सञ्जालकै सेरोफेरोमा रमाइरहेका छन् भने सूचना र समाचारप्रति पहुँच ह्वात्तै बढेको छ । जुन समाजका लागि निकै सकारात्मक पक्ष रह्यो । तर अनलाइन सञ्चार माध्यमप्रति राज्यको नियमन कमजोर हुँदा नागरिकले गलत सूचना र समाचार ग्रहण गर्नुपर्ने अवस्था छ ।
सामाजिक सञ्जालको दुरुपयोगले सत्य, तथ्य समाचार छुट्याउन मुश्किल बनि रहेको छ । भ्रमित समाचारबाट जनता आजित बनेका छन् । प्रविधिले पत्रपत्रिकाको बजार विस्थापन त ग¥यो तर विश्वसनीयता भने प्रकट गर्न सकेन । पत्रपत्रिकाकै समाचार हूबहू सारेर अनलाइन मिडियाले प्रकाशन तथा प्रसारण गरेको पाइन्छ । समाचार लेख्न, सिक्न र अन्य सामग्री बढाउन पत्रपत्रिकाको आड चाहिने तर पत्रपत्रिकाको बजार भने नचाहिने विडम्बना बनेको छ । विपद्को बेला तथा कुनै अप्ठेरो परिस्थितिमा पत्रपत्रिका नै सबैको हातहातमा पुग्न सक्छ ।
नयाँनयाँ पाठक तथा विज्ञापनदाताको खोजी गर्ने, सल्लाह सुझाव बटुल्ने, समाजलाई आवश्यक पर्ने गहकिला विषयवस्तुको उठान गर्ने, सबै वर्गको विचारलाई स्थान दिने हो भने पत्रपत्रिकाको बजार फष्टाउन सक्छ
पत्रपत्रिकाले सबैको विचारलाई समेट्न सक्छ । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पका कारण कतिपय स्थानमा विद्युत बिच्छेद हुँदा डिजिटल तथा विद्युतीय सञ्चारमाध्यमप्रतिको पहुँचबाट नागरिक विमुख भए तर पत्रपत्रिकाहरुले भने आफ्नो समाचार सामग्री दुरदराजसम्म पुर्याए । देशलाई दुखेको बेला पत्रपत्रिका चाहिन्छ, देशले जितेको बेला पत्रपत्रिकामा हेडलाइन चाहिन्छ तर वर्तमानमा पाठकको साथ किन पाएनन् भन्ने एउटा प्रश्न उठ्छ । समाजले पत्रपत्रिका खोजेको छ, पत्रपत्रिकाले समाज र व्यक्तिलाई खोजेको छ ।
पत्रपत्रिकाको साँघुरिँदै गएको बजारलाई विस्तार गर्न प्रतिस्पर्धी र गतिशीलतामा ध्यान जानु जरुरी छ । हुन त पत्रपत्रिकाले समयसापेक्ष आफूलाई परिमार्जन नगरेका भने छैनन् । बजारमा देखिने छापा पत्रपत्रिकाहरुले आफ्नो प्रत्येक अंक डिजिटल माध्यममा वेबसाइट तथा सामाजिक सञ्जालमा राख्ने गरेका छन् ।
पत्रपत्रिकाप्रति लगाव राख्ने पाठकवर्गले इन्टरनेटमा राखिएका प्रत्येक अंक, समाचार सामग्री निशुल्क अध्ययन गर्न पाउँछन् । तर यथार्थ के छ भने यस्ता विश्वसनिय पत्रपत्रिकाको सामग्रीप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले कम प्रयोग गर्छन् । क्षणिक रुपमा भ्युज बटुली चर्चा कमाउन तल्लीन अनाधिकृत अनलाइन पेजहरुले स्वच्छ पत्रकारितालाई धमिलाइरहेका छन् । पत्रपकारिताको मूल्य, मान्यता तथा आचारसंहितालाई पन्छाउँदै समाजमा पीतपत्रकारिता बढ्दै गएको आभाष हुन्छ । अहिलेको वर्तमान परिस्थितिमा पत्रपत्रिकाका सामग्रीप्रति पाठकको रुचि भएको तर पत्रिकाको कागजप्रति आकर्षण नभएको अवस्था छ । अर्थात् पाठक वर्गले आफ्नै हातमा भएको मोबाइल डिभाइसबाट निशुल्करुपमा अध्ययन गर्न रुचाउँछन् ।
पत्रपत्रिकाको भविष्य दिगो, टिकाउ र प्रभावकारी बनाउन पाठकको मागलाई सम्बोधन गरी आधिकारिक पाठकको मन जित्नु आवश्यक हुन्छ । बजारमा च्याउसरी उम्रेका अनलाइन मिडियासँग प्रतिस्पर्धा गर्नु अर्को चुनौती थपिएको छ । पत्रकार आचारसंहिता पालना गर्नु, श्रमजीवी पत्रकारको हक पुरा गर्नु पर्ने दायित्व पनि पत्रपत्रिकालाई नै छ । त्यसैले पत्रपत्रिकाको व्यवसायिक क्षमता अभिवृद्धि गर्नु अनिवार्य छ । पत्रपत्रिकाको बजार विश्लेषण गर्ने, पाठक खोज्ने, पत्रपत्रिकाका छापिने सामग्रीको अनुगमन, निरीक्षण र मूल्यांकन गर्ने काम सम्बन्धित पक्षकै हो । यस क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई निराकरण गर्दै स्वच्छ, स्वतन्त्र, सक्षम पत्रकारिताको प्रवद्र्धन गर्नु बढी प्रभावकारी हुन्छ ।
पत्रपत्रिकाको अभिलेख राख्न पत्रपत्रिका वितरण सम्परीक्षणलाई व्यावहारिक बनाउँदै लैजानुपर्छ । पत्रपत्रिकालाई दुरदराजका जनतामा पहुँच पुर्याउने र नवीनतम प्रविधिको अंगिकार गर्दै खोज तथा अनुसन्धानमूलक समाचार प्रकाशन तथा वितरण गर्नुपर्छ । अहिले नेपाली पत्रकारितामा खोजमूलक समाचार पाउन मुश्किल छ ।
सामाजिक सञ्जालमा जसले समाचार राख्यो त्यसैलाई मोडेर, हुवहु वा बढाएर समाचार बनाउने प्रवृत्ति छ । समाचारमा ताजापन र पृथकपन भेटिँदैन । एउटै समाचार धेरैचोटि दोहोरिने तर वास्तविक समाचार भने ओझेलमा परेको स्थिति छ । यी प्रवृत्ति पत्रकारिता जगतमा रहिरहे नेपाली जनताले यथार्थ विश्वसनीय र वास्तविक समाचार ग्रहण गर्नबाट बञ्चित हुनुपर्ने अवस्था आउन सक्छ ।
आजसम्म नेपाली सञ्चार माध्यमहरुले जेजति विश्वसनीयता आर्जन गरेका छन् त्यसको आधारशिला नै पत्रपत्रिका हुन् । नेपालको राजनीतिक परिवर्तनमा समेत नेपाली पत्रपत्रिकाको ठूलो योगदान छ । नेपाली पत्रपत्रिकाको उपलब्धिलाई संस्थागत गर्नु आजको अनिवार्य सर्त हो । त्यसमा पनि पत्रपत्रिकाको अस्तित्व रक्षा गर्नु प्राथमिक विषय बनेको छ । पत्रपत्रिकाको बजार हिस्सा बढाउन सञ्चारविज्ञ, सरोकारवाला, नागरिक समाज तथा अन्य सञ्चार माध्यमहरुसँगको छलफल, सहकार्य गर्नु आवश्यक छ ।
नयाँनयाँ पाठक तथा विज्ञापनदाताको खोजी गर्ने, सल्लाह सुझाव बटुल्ने, समाजलाई आवश्यक पर्ने गहकिला विषयवस्तुको उठान गर्ने, सबै वर्गको विचारलाई स्थान दिने हो भने पत्रपत्रिकाको बजार फष्टाउन सक्छ ।
पत्रपत्रिका समाज परिवर्तनका बाहक हुन् । समाजमा सचेतना अभिवृद्धि गर्ने, राज्यलाई खबरदारी गर्ने, सही सूचना प्रवाह गर्ने, विचार संम्प्रेषण गर्ने प्रमुख दायित्व बोकेको संयन्त्र नै पत्रपत्रिका नै हुन् । मौलिक ज्ञान सहित परम्परागत पत्रिकाको स्तरोन्नति तथा व्यावसायीकरण गरी पत्रपत्रिका प्रकाशनमा प्रोत्साहन गर्नुपर्दछ । समाजको ऐनाको रुपमा रहेका पत्रपत्रिकालाई जोगाइराख्नु हामी सबैको दायित्व हो ।
तपाईको प्रतिक्रिया