
गण्डकी ।
साझा प्रकाशनको केन्द्र र देशभरका शाखा कार्यालयमा गत आइतबारदेखि पुस्तक प्रदर्शनी चलिरहेको छ । पुस्तक किन्दा छुट सुविधा पाएपछि प्रदर्शनीमा पाठकको आकर्षण बढेको छ । प्रदर्शनी यही असोज २२ गतेसम्म चल्ने साझा प्रकाशनको पोखरास्थित शाखा कार्यालयका प्रमुख जीतेन्द्र लावतीले जानकारी दिए ।
पुस्तक बिक्रीमा न्यूनतम ३० देखि बढीमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । विसं २०४० अघि प्रकाशित पुस्तकमा ५० प्रतिशत, विसं २०४० देखि विसं २०५० को बीचमा प्रकाशित पुस्तकमा ४० प्रतिशत र विसं २०५० यता प्रकाशित भएका पुस्तकमा ३० प्रतिशत छुट दिइएको प्रमुख लावतीले जनाए ।
प्रदर्शनीमा साझा र अन्य प्रकाशनका पुस्तक राखिएको छ । ‘साझा र अन्य प्रकाशनका पुस्तकको प्रदर्शनी कक्ष छुट्टाछुट्टै छ, उपन्यास र कथाका पुस्तक बढी बिक्री भइरहेको छ’, प्रमुख लावतीले भने, ‘प्रदर्शनी अवलोकन र पुस्तक किन्न आउने पाठकको सङ्ख्या दैनिक बढ्दो क्रममा छ ।’ प्रदर्शनीमा कला, साहित्य, इतिहास, संस्कृति, दर्शन, मनोरञ्जनलगायत विधाका पुस्तक राखिएको कार्यालयले जनाएको छ ।
शनिबार र बिदाका दिनका पनि प्रदर्शनी खुला रहने जनाइएको छ । साझा प्रकाशनले बर्सेनि पुस्तक प्रदर्शनीको आयोजना गर्दै आएको छ । प्रदर्शनीबाहेकको समयमा पनि पुस्तक किन्दा पाठकलाई छुट सुविधा दिने गरिएको कार्यालयले जनाएको छ । ‘एकैसाथ धेरै पुस्तक किन्दा अघिपछि पनि छुट पाइन्छ’, प्रमुख लावतीले भने, ‘५ सयको खरिद गर्दा २० प्रतिशत र १ हजारसम्मको पुस्तक किन्दा २५ प्रतिशत छुटको व्यवस्था छ ।’

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया