एमाले गण्डकी अधिवेशनलाई खुला पत्र

विवेक देवकोटा २०८० असोज १४ गते १५:४४

नेकपा (एमाले) यतिबेला आफ्ना सात वटै प्रदेश कमिटीहरूको अधिवेशन सञ्चालन गरिरहेको अवस्थामा छ । गण्डकी प्रदेशको पनि २०८० असोज १५ गतेदेखि अधिवेशन सुरू हुन्छ । लुम्बिनी र वागमती प्रदेशले नयाँ कार्यसमिति प्राप्त गरिसक्यो । यसै सन्दर्भमा एमालेको गण्डकी प्रदेश अधिवेशनसँग जोडेर केही सुझावहरू यो पत्रमार्फत राख्न चाहन्छु ।

Advertisement


एमाले पार्टी विचार र संगठन का हिसाबले व्यवस्थित छ भन्ने बुझाइ आजसम्म जीवित छ । २०७५ जेठ ३ गते एमाले र माओवादी जोडेर नेकपा बनाएपछि भने साविक को एमालेलाई एक प्रकारको धक्का लाग्यो किन कि नेकपाको निर्माणपछि पुरानो एमाले चलाउन मिलेन भने अर्कोतिर नेकपा ठ्याम्मै चलेन । त्यसो त एमालेको आन्तरिक जीवन जाममा पर्‍यो । केही समयपछि एमाले पुनर्जीवित त भयो तर पार्टीको विधान अनुसार घुमिरहने सांगठनिक यात्राको जाम २०७८ मंसिर, चितवनमा भएको पार्टीको दशौँ महाधिवेशनले खोल्ने चेष्टा पनि गरेन ।


अहिले भने प्रदेश अधिवेशनहरूले जाम हटाउन प्रयत्न गरेको देखिन्छ । तर संगठन चलायमान हुँदै गर्दा नयाँ समयको पदचापलाई सम्बोधन गर्ने गरी एजेन्डामा छलफल र नेतृत्व चयनमा उपयुक्ततातिर ध्यान दिएको पाइएन । पार्टी देशका लागि हो । देश राम्रो बनाउन पार्टीको नीति र नेतृत्व उपयुक्त र सक्षम हुन जरुरी छ । एमाले देश प्रति जिम्मेवार पार्टी हो । त्यसो त अहिले देशले भोगेको गिर्दो उत्पादन , बढ्दो विदेश पलायन, सामाजिक र राजनीतिक अराजकता, दलप्रतिको उड्दो विश्वास लगायत अनेक अप्ठ्याराहरूलाई समाधान मार्फत पन्छाउने र नयाँ शिराबाट देशको नेतृत्व गर्ने दायित्व एमालेको होइन र ? हो भने यसतर्फ चिन्तन र बहस गरौँ । अधिवेशनलाई यतातिर मोडौँ । अरू पार्टीहरू के गरिरहेका छन्, कसरी चल्छन् तुलना गर्न छाडौं । एमालेलाई जनताले प्रत्यक्ष हेरिरहेका छन् । देश दुखान्त अवस्थामा छ । यो बेला चारैतिर समस्यामात्रै छन् । निकास कसैसँग छैन । अब एमाले आत्मबलको जननी भएर समस्या समाधानको निकास मार्गसहित जनताको बीचमा आउनुपर्छ ।

संगठन चलायमान हुँदै गर्दा नयाँ समयको पदचापलाई सम्बोधन गर्ने गरी एजेन्डामा छलफल र नेतृत्व चयनमा उपयुक्ततातिर ध्यान दिएको पाइएन


देशमा यो संक्रमणकालको फाइदा उठाउन गठबन्धन रातदिन एक गरिराछ । विदेशीहरू नेपाललाई कसरी आफ्नो सधैंको पछुवा बनाउन सकिन्छ भनेर लागिराखेकै छन् । एमाले विरूद्ध चौतर्फी घेराबन्दी छ । यस्तो बेला पार्टीभित्र एकमना एकता तयार गर्ने र नीति नेतृत्वलाई चुस्त र सक्षम बनाउने काम गर्नुको सट्टा, लोकतान्त्रिक प्रक्रियाका नाममा गुटिया निकृष्टताको हिलो छेपाछेपले, ०८४ को चुनावमा एमाले को जनमत कसरी तयार हुन्छ । पार्टी पारदर्शी भएको हेर्न चाहाने कार्यकर्तालाई निरास बनाउदा संगठन विस्तारको अभिभारा कस्ले बोक्छ ? पार्टीमा असामाजिक र अराजनीतिक मान्छेहरूलाई जबरजस्त स्थान दिदा जनताको आकर्षक कसरी बढ्छ ? जनताको अभिमत विनाको पार्टी, संगठन र नेता, कार्यकर्ताको के अर्थ ?

Advertisement


अन्ततः अस्वस्थ तिकडमले जनमत घटाइराखेको छ । पार्टीभित्र गुटिए शक्ति बलियो बनाउन लाग्दा भोट घटिराछ भन्ने सोचौं । अधिवेशन फगत अधिवेशन नहोस् । व्यक्ति दोहोरिने वा फेरिने चुनावी अधिवेशनबाट हुने उपलब्धि केही होइन । नयाँ विचारचाहिँ प्रमुख हुनुपर्छ । शैली प्रमुख हुनुपर्छ । जनताका चाहना सम्बोधन गर्ने नेतृत्व पार्टी कमिटीमै भएमात्रै भोलिका आम तथा स्थानीय निर्वाचनमा जनचाहना अनुसारका उम्मेदवार बन्नेछन् । र, तिनले जनताका समस्या सम्बोधन गर्ने छन् । जनताले विश्वास गर्ने कार्यक्रम र गतिविधिसहित योजनामा प्रष्ट भएर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनुपर्छ । निश्चित घेराभित्र निश्चित व्यक्तिबिचको चुनावलाई मात्रै लोकतान्त्रिक प्रणाली भन्न सायद कुनै राजनीतिक ज्ञाताले सक्दैन कि ?


चुनावमा चुनिने र देशको नेतृत्व गर्ने अवसर नपाइरहँदा फगत राजनीतिको कुनै अर्थ छैन । समयको पदचाप लाई बुझौं । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखान दोहोरिन नदिऔं । अन्यथा समयले माफ दिनेवाला छैन । जन आकर्षणको केन्द्र एमाले बनाउने अभियानमा फगत स्वार्थलाई तिलाञ्जली दिन तयार हुनुपर्छ । जनअपेक्षा अनुसार अधिवेशन सफल रहोस् शुभकामना !!


देवकोटा नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया