महेन्द्र पुलदेखि पृथ्वीचोकसम्म ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

कास्की ।
पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ ।
पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । संघीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक टिकाउ हुने बताइन्छ । अमेरिकी प्रविधि अस्फाल्ट बलियो, महँगो र टिकाउ मानिन्छ ।
अस्फाल्ट पिच गर्दा चार सेमी मोटाइको पिच हुनुपर्दछ । स्थान हेरिकन चारदेखि १० सेमीसम्मको मोटाइएको पक्की हुने सडक डिभिजन कार्यालय पोखराका ओभरसियर रमेशराज पौडेलले बताए । उनका अनुसार डेढ किमी सडक अस्फाल्ट गर्नका लागि रु पाँच करोडमा ठेक्का सम्झौता भएको छ ।
सडक अस्फाल्ट गर्ने कामको जिम्मेवारी विवेक एण्ड कुवेर निर्माण सेवाले पाएको छ । बर्खाले काममा अवरोध नभएको खण्डमा १० दिनमा सबै काम सम्पन्न हुने बताइन्छ ।
“अस्फाल्ट प्रविधिको कालोपत्र सडक बढी टिकाउ हुन्छ । यातायातको बढी चाप हुने र पानी परिरहने पोखराजस्तो ठाउँमा यो प्रविधिको प्रयोग राम्रो मानिन्छ”, उनले भने । अस्फाल्ट गरिएको सडक पाँचदेखि सात वर्षसम्म टिकाउ हुने बताइन्छ ।
सडक डिभिजन कार्यालयले पोखराको विरौटाबाट पृथ्वीचोक र छोरेपाटनबाट विरौटासम्म पनि अस्फाल्टका लागि ठेक्का लगाए पनि बजेट अभावमा काम अघि बढेको छैन ।
पोखराका अन्य केही सडक पनि यसअघि अस्फाल्ट कालोपत्र गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइड, न्यूरोड, चिप्लेढुंगालगायतमा अस्फाल्ट कालोपत्र गरेका छन् । पोखराको जिरो किमीबाट विन्ध्यवासिनीसम्मको सडक पनि अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिएको छ ।
सडक डिभिजन कार्यालयअन्तर्गत पोखरा बजार क्षेत्रको २७ किमी सडक जिम्मामा रहेको छ । यससँगै पृथ्वीराजमार्ग, सिद्धार्थराजमार्ग र पोखरा बाग्लुङ राजमार्गसमेत सडकको जिम्मामा छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया