उपल्लो मुस्ताङीलाई कोरला नाका सधै खुल्ने

सुन्दरकुमार थकाली २०८० असोज १५ गते १०:४०

जोमसोम ।
चीन सरकारले तिब्बत र नेपाल सीमाना जोडिएका १४ नाका फेरि खोल्ने निर्णय गरेसँगै नेपाली पक्षले तयारी थालेको छ । सीमावर्ती क्षेत्रको ३० किमीभित्र बसोबास गर्ने नेपालीको सहजताका लागि चिनियाँ पक्षले बाह्रै महिना सीमावर्ती नाका खुला गर्ने जनाउ दिएको हो ।

Advertisement

चीनले उत्तरतर्फका नाका खुला गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले पनि त्यसको आवश्यक प्रक्रियाअघि बढाएको हो । जिल्ला प्रशासन कार्यालयहरुलाई नेपाल चीन सीमापार पास वितरण गर्न निर्देशन दिइएको हो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले एक साताभित्रै कोरला नाका खोलिने जानकारी दिए ।


‘गृह मन्त्रालयबाट ३ दिनअघि हामीलाई सीमापार पाससम्बन्धी बुकलेटको नमुना आएको छ । पास छपाईको प्रक्रिया पनि अघि बढिसकेको छ,’ पन्तले भने । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई सीमा पार पास वितरणका लागि विवरण संकलन गर्न भनिएको छ । पास छपाइ भएलगत्तै उपल्लो मुस्ताङका नागरिकलाई पास उपलब्ध गराइने भएको छ ।


कोरला नाका सञ्चालन भएपछि नेचुङ भन्सारका कर्मचारीलाई कार्यस्थलमा खटाउने तयारी छ । उनले दसंै पर्व नजिकिंदै गरेकाले भेडा, च्यांग्रा खरिद गर्न सहजताका लागि पनि चाँडो नाका खोल्न अग्रसर भएको सुनाए । यसअघि कोरला नाका खुला गर्ने विषयमा शनिबार चिनिया सुरक्षा अघिकारीहरुसँग नेपाली पक्षका सुरक्षा अघिकारीले कोरलामा प्रारम्भिक छलफल गरेको नेकपा (माओवादी केन्द्र)का मुस्ताङ इन्चार्ज कपिल लामाले जानकारी दिए ।


शुक्रबार नाका सञ्चालनको विषयमा चिनिया पक्षसँग प्रशासन, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिबीच छलफल भएको हो । कोभिडअघि चिनिया पक्षले बर्सेनि असार र भदौमा सीमित अवधिका लागि अल्पकालीन व्यापार मेला गर्दै नाका खोल्ने गथ्र्यो । कोभिड माहामारी र सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनिया पक्षले एकतर्फी रुपमा कोरला नाका बन्द गरेको थियो ।

Advertisement


प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणसँगै उत्तरतर्फको नाका खोल्न चीन सहमत भएको हो । अब कोरला बाह्रै महिना सञ्चालन हुने बाटो खुलेको माओवादी केन्द्र मुस्ताङ संयोजक धीरेन्द्र विकले जनाए । अब सीमावर्ती क्षेत्रका बासिन्दाले अनुकूल समयमा पासका आधारमा तिब्बतमा गएर माल, सामान किनमेल गर्न पाउने छन् ।


यसअघि चिनियाँ पक्षले सीमावर्ती २ गाउँपालिकाका बासिन्दालाई नागरिकताको आधारमा अल्पकालीन व्यापार मेलामा किनमेल गर्न जान अनुमती दिने गरेको थियो । अबदेखि मुस्ताङ प्रशासनले जारी गरेको सीमापार पास देखाएमात्र पुग्ने भएको छ । यो पास बर्सेनि नवीकरण गर्नुपर्ने छ ।


लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले कोरलानाका बाह्रै महिना खुला हुने निर्णयले उपल्लो मुस्ताङीलाई राहत मिलेका बताए । उनले चिनियाँ सामग्री खरिद गर्न नपाउँदा र व्यापार मेला बन्द हुदा उपल्लो मुस्ताङीलाई सकस भएको उल्लेख गरे । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ नाका खुलेपछि दसैं लक्षित भेडा च्यांग्रा सस्तोमा उपलब्ध हुने बताउँछन् ।


कोभिडले ४ वर्षसम्म नाका बन्द हुँदा भेडा, च्यांग्राको मूल्य आकासिएको थियो । अल्पकालीन व्यापार मेलाबाट निर्माण सामग्री, कृषि उपकरण, लत्ता कपडा, इलेक्ट्रोनिक सामान, भाडा वर्तन, पशु चौपाया र दैनिक उपभोग्य वस्तु मुस्ताङीले किन्छन् । नेपालबाट जटिबुटी, पस्मिना र स्थानीय उत्पादन तिब्बतीलाई बेचिन्छ ।


चिनिया पक्षले कोरलामा ठूला भौतिक संरचना निर्माण गरिसकेको छ भने लिजीमा सुख्खा बन्दरगाहसमेत बनाएको छ ।
कोरलाको दशगजा क्षेत्रमा नेपाल पक्षले भौतिक संरचना निर्माण गर्न सकेको छैन । नेपालले कोरला नाकामा आवश्यक भौतिक संरचना निर्माणका लागि डिपिआरको प्रक्रिया भने थालेको छ । यसका लागि कोरला पासमा माटो परीक्षण भईसकेको छ ।


अहिले नेपाली सुरक्षाकर्मी नाकाबाट दक्षिण १६ किमीको नेचुङमा छन् । नेचुङमा भन्सार, क्वारेन्टाइन, प्रहरी चेक पोस्टका साथै सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएका छन् । लोमान्थाङको थुर्लुङफाँटमा ५ वर्षअघि नेपाली सेनाको क्याम्प राखिएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया