सूर्य दर्शन सहकारीबाट १ अर्ब ३५ करोड ठगी
पोखरा ।
सूर्य दर्शन सहकारीबाट पोखरामा मात्रै १ अर्ब ३५ करोड ठगी भएको कास्की प्रहरीले जनाएको छ । अध्ययन प्रतिवेदनलाई उद्धृत गर्दै कास्की प्रहरीले उक्त सहकारीबाट त्यतिका परिमाणको रकम ठगी भएको जनाएको हो ।
उक्त सहकारीबाट ठगिएको भनी १ हजार ३६ जनाले जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार जाहेरीबाट देखिएको बिगोचाहिँ प्रतिवेदनबाट प्राप्तभन्दा कम अर्थात १ अर्ब ११ करोड १९ लाख रुपैयाँ छ ।
सहकारी ठगी विरुद्ध साउन २२ गते मुद्दा दर्ता भएको छ । ३ साउनमा महानगरपालिकाबाट प्रहरीकहाँ पनि प्रतिवेदन पुगेको थियो । उक्त सहकारी ठगीमा एकजना पक्राउ परिसकेका छन् भने १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।
उक्त सहकारी ठगीमा संलग्न पूर्वअध्यक्ष जिबी राई लगायत फरार छन् । उनले देशका अरु सहरहरुमा पनि सहकारी खोल्दै ठगी गरेको हजारौं उजुरी परेका छन् । उनले सहकारीबाट अर्बाैं अर्ब रुपैयाँ ठगी गरेको आरोप छ । उनले पछिल्लो समय ग्यालेक्सी टेलिभिजन स्थापना गरेका थिए ।
कास्की प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पछिल्लो समयका घटनाक्रमबारे जानकारी गराएको थियो । कास्की प्रहरी प्रमुख बनेर आएपछि भएका गतिविधिबारे एसपी मोहनबहादुर थापाले पत्रकारहरुलाई विभिन्न गराएका हुन् ।
थापाले मणिपाल शिक्षण अस्पतालमा असोज ८ गते भएको घटनापछि पक्राउ परेकाहरुलाई कुनै पनि राजनीतिक दलको दबाब र प्रभावमा नछाड्ने बताए । ५७ वर्षीया सुकमाया दुराको उपचारका क्रममा असोज ८ गते निधन भएपछि उनका आफन्तले उपचारमा लापरवाही भएको भन्दै विरोधमा उत्रिँदै डाक्टरमाथि कुटपिट र अस्पताल तोडफोड गरेका थिए । यसलगत्तै प्रहरीले डाक्टर अनिल शाहमाथि कुटपिट गर्ने पोखरा महानगरपालिका ५ मालेपाटन निवासी विनय गुरुङलाई प्रहरीले असोज ८ गते गिरफ्तार गरेको थियो ।
यसलगत्तै पुन प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै १२ गते बेलुका ७ जनालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार परेको ७ जनालाई प्रहरीले १२ गते बेलुका पोखरा न्युरोडबाट गिरफ्तार गरेको थियो । आइतबार उनीहरुलाई सर्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख थापाले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड र कुटपिटमा उत्रिनेविरुद्ध कुनै पनि बहानामा नछोड्ने बताए ।
पक्राउ परेकालाई स्वास्थ्यकर्मी तथा स्वस्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको डिएसपी श्रवणकुमार विकले बताए । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दसैंतिहार लक्षित कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर जिल्लाको सुरक्षामा कहाँ कति प्रहरी खटिने सार्वजनिक गरेको हो ।
तपाईको प्रतिक्रिया