एमाले गण्डकी अधिवेशनः १७ गतेभित्रै नेतृत्व चुन्ने दाबी

समाधान संवाददाता २०८० असोज १५ गते ११:२०

पोखरा ।
नेकपा एमालेका देशैभर प्रदेश कमिटीका अधिवेशन जारी छन् । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सकिसकेको छ भने बाँकी प्रदेशको प्रक्रिया सुरु भएको छ ।

Advertisement


अधिकांश प्रदेश अधिवेशनमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रियापछि धकेलिएको छ । सोमबारबाट सुरु हुने गण्डकी प्रदेश अधिवेशन पनि पछि धकेलिने संकेत देखिएको छ । पदाधिकारी बन्न धेरैले आकांक्षा देखाउँदा निर्वाचन हुने सम्भावना बढेको छ ।


एमाले प्रदेश कमिटीले भने अधिवेशन तोकिएको मितिभन्दा पछि नधकेलिने जनाएको छ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले १७ गतेभित्र गण्डकीमा नयाँ नेतृत्व चुनिसक्ने दाबी गरे । ‘अधिवेशन समयमै सकिएन भने प्रतिनिधिलाई व्यवस्थापन गर्न समस्या पर्छ,’ उनले भने, ‘१६ गते बेलुकाबाट निर्वाचन प्रक्रिया थालेर सम्भवतः १७ गते बेलुकासम्म नयाँ नेतृत्व चुनिसक्छाैं ।’

Advertisement


एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारबाट पोखरामा सुरु हुँदै छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै १ सय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् । सोमबार पोखराको अंमरसिंङ चौरमा पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुनेछ । त्यसपछि सोमबार बेलुकादेखि पोखरा सभागृहमा बन्दसत्र सुरु हुनेछ ।


अहिले ४ सय ४९ सदस्यीय कमिटी रहेको र अधिवेशनले एक सय ६५ सदस्यीय कमिटी चुन्ने प्रदेश कमिटी अध्यक्ष शर्माले बताए । कास्कीको रुपा गाउँपालिका बाहेक प्रदेशका ८४ स्थानीय तहमा सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले गण्डकीले जनाएको छ । प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा, केन्द्रिय सदस्य मायानाथ अधिकारी, कृष्ण थाहा राजीव पहारी, बागलुङका जिल्ला अध्यक्ष हीराबहादुर केसी, तनहुँ पूर्व प्रदेश सभा सदस्य केदार सिग्देल, स्याङ्जा सोभियत ढकालको प्रदेश अध्यक्षमा दाबी छ ।

Advertisement

सर्वसम्मत नेतृत्व चुन्छौंः विष्ट
एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्ट प्रदेशमा सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा जुटेका छन् । विष्ट प्रदेशका नेताहरुसँग बसेर सर्वसम्मत नेतृत्व चुन्ने प्रयासमा लागेका हुन् ।


विष्टले आइतबार उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी, किरण गुरुङसहितका नेताहरुसंग बसेर सर्वसम्मत गराउने विषय छलफल गरेका हुन् । ‘उहाँहरु (गुरुङ र अधिकारी) सँगै बसेर मैले कुराकानी गरें । उहाँबिच मिडियामा आएजस्तो असमझदारी रहेनछ । मिलेर जाने, पार्टी बलियो बनाउने कुरामा उहाँहरु एकमत हुनुहुन्छ,’ उनले भने


बुधबारसम्मै सर्वसम्मतबाट नेतृत्व चुन्न प्रयास गर्ने गण्डकी इन्चार्ज विष्टले सुनाए । आन्तरिक जनवादको अभ्यास गर्दै यथाशक्य सहमतिबाट नेतृत्व चयन गर्ने र त्यो सम्भव नभए लोकतान्त्रिक अभ्यास हुने विष्टले बताए । ‘हामी यथाशक्य सहमतिमै नेतृत्व चुन्छौँ । कथम्कदाचित त्यसो हुन नसके स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चुनिन्छ । प्यानल बनाएर चुनाव लड्ने अवस्था आउँदैन र त्यस्तो छुट पनि हुने छैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया