चराजस्तै उड्ने शर्मिला

रवीन्द्र माकाजू २०८० असोज १५ गते १२:०५

भनिन्छ जीवनको अर्को नाम हो– खुसी र आनन्द । मान्छे यही खुसी र आनन्दका लागि हरपल लालयित हुन्छन् र जीवन भर सघंर्ष गर्छन् । यस्तै यस्तै कथा र व्यथाले भरिएकी छिन्– कर्म फ्लाइट फाउन्डेसन नेपालकी अध्यक्ष एवं पाइलट शर्मिला शर्मा । अहिले ३३ वर्षकी शर्मिला पर्यटनको मौसममा दिनको ४/५ पटक प्याराग्लाइडिङ उडान भर्छिन् । प्याराग्लाइडिङलाई साहसिक खेलको रूपमा लिने गरिन्छ । चरा जसरी उड्न पाउने हुँदा शर्मिला यो पेशामा चुर्लुम्मै डुब्ने गरेकी छन् । उनी भन्दछिन्– मलाई यो पेशाले नाम पनि दियो, दाम पनि दियो । लाग्छ म जीवनभर यही पेशामा रमाउने छु । अनि चरा जस्तै सधैँ आकाशमा उड्छु ।

Advertisement


स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिए पनि आफ्ना लाहुरे बाबुले पोखरामा बसाइसराइ गरेपछि शर्मिलाले जनप्रिय स्कुल हुँदै जनप्रिय क्याम्पसमा पढाइ पूरा गरिन् । पोखरा पर्यटकीय क्षेत्र भएकाले शर्मिलाको मन पनि यही क्षेत्रमा रम्न पुग्यो । सन् २००० बाट सुरु भएको साहसिक खेल प्याराग्लाइडिङ क्षेत्रमा जागिर खाइन् । उनले त्यहाँ धेरैको मुखबाट विशेष गरेर विदेशी मुस्लिम महिलाहरुबाट महिला पाइलट भइदिए हुन्थ्यो भन्ने चाहना सुनिन् । त्यो भनाइ सुनेर उनलाई पाइलट बन्ने ईच्छा जाग्यो । सुरुका दिनमा परिवारले विरोध गरे तर शर्मिलाको आत्मबल र विश्वासको अगाडि कसैको केही लागेन । उनले त्यहाँ भर्ना भएर कोर्स पूरा गरिन् । उनी ६ वर्षदेखि यही पेशामा छिन् । ओपन स्काई प्याराग्लाइडिङ फर्म खोलेर धेरैलाई रोजगार दिएकी छन् । उनीसँग १८ वटा प्याराग्लाइडिङ छन् ।


शर्मिला अहिले सामाजिक सेवाको क्षेत्रमा चर्चित नाम बन्न पुगेको छ । प्याराग्लाइडिङ पाइलटका रूपमा मात्र नभएर शर्मिला कर्म फ्लाइट फाउन्डेसनको नेतृत्व सम्हालेका कारण समाजसेवामा क्षेत्रमा वर्षेनी ठूलो लगानी गर्ने गरेको छ । शर्मिलाले बैदाममा ओपन स्काई प्याराग्लाइडिङ फर्म खोलेर, स्वयं पाइलट बनेर यात्रुलाई सेवा दिइराखेकी छिन् । धेरैले उनलाई एक साहसिक महिला उद्यमी भनेर सम्बोधन गर्ने गर्छिन् । जाँगरिला, मिलनसार र सहयोगी भावना भएकी शर्मिलाका धेरैजसो समय समाजसेवामा नै बित्छ । जीवनका लक्ष्य सेवाभावमा अडिग शर्मिलाका अनुसार प्याराग्लाइडिङ साहसिक खेल हो ।

थुप्रै सामाजिक संघसंस्थामा आवद्ध प्याराग्लाइडिङ पाइलट शर्मिलाले पोखरा लेडी जेसिसले प्रदान गर्ने अस्मि शुभ अवार्ड हात पारेकी छन् । कर्म फ्लाइट फाउन्डेसनबाट हुने वार्षिक २ करोडभन्दा बढीको सेवाको नेतृत्व गरेकी छिन्

६ वर्षदेखि सफलतापूर्वक प्याराग्लाइडिङ क्षेत्रमा शर्मिला संलग्न छिन् । यो खेलका कारण पोखराको पर्यटन क्षेत्रले फड्को मारेको छ तर समग्र पर्यटन क्षेत्र सुस्ताउँदा यो क्षेत्रले पनि असर सहनु परेको उनको ठम्याइ छ । उनी भन्छिन्– धेरै पर्यटकहरु प्याराग्लाइडिङ गर्ने भनेर नै पोखरा भित्रिन्छन् । पोखरा यसका लागि उत्कृष्ट गन्तव्य भएको उनको ठहर छ । हुन त स्याङ्जा, तनहुँको बन्दीपुर, धरानमा प्याराग्लाइडिङ हुने गरेतापनि चाप नभएको र कमर्सियल उडान हुन नसकेको अवस्थामा पोखराले भने फड्को मारेको उनको दाबी छ । अझै पनि सरकारी स्तरबाट चिनिया र भारतीय पर्यटक नेपाल भिœयाउने सरकारी योजना नभएकाले त्यता सरकारको ध्यान जानुपर्ने उनको तर्क छ ।

Advertisement


शर्मिला शर्माको अनुसार पर्यटकको आगमन बढाउने हो भने यो क्षेत्रमा अझै महिला पाइलटको अभाव छ । अहिले यस क्षेत्रमा १५ जना मात्र महिला पाइलट छन् । कतिपय मान्छेले महिला पाइलट भने पछि कोही हच्किने र डराउने गर्छन भने कतिपयले खुशी भएर आत्मविश्वास बढाउने गरेको उनी आफ्नो कटु अनुभव सुनाउँछन् । उनले भनिन्– एकपटक उडान भरी पाइलटले उडान रकमको ६० प्रतिशत पाउँछ । अर्थात् एक पटकमा करबि १ हजार नगद हात लाग्छ । यसबाट आफूलाई नाम दाम मिलेको मिठो अनुमति हुन्छ ।


शर्मिला २३ वर्षकी हुँदा यसै क्षेत्रमा लागेका पाइलट प्रज्वल रन्जितसँग उनको आँखा मात्रै जुधेन मन पनि जुध्यो । जीवनभर साथ रहने प्रण गर्दै तालबाराही मातालाई साक्षी राख्दै जीवनमा कहिल्यै नछुटिने प्रण गर्दै वैवाहिक बन्धनमा बाँधिए । उनीहरुकी एक छोरी छन् । थुपै्र सामाजिक संघसंस्थामा आवद्ध शर्मिलाले पोखरा लेडी जेसिसले प्रदान गर्ने अस्मि शुभ अवार्ड हात पारेकी छिन् । कर्म फ्लाइट फाउन्डेसनबाट हुने वार्षिक २ करोडभन्दा बढीको सेवा कार्य गर्ने नेतृत्व गरेकी छिन् । उनलाई यस्ता सेवा कार्य गर्न पाउँदा अपार आनन्दको अनुभूति हुन्छ ।


शर्मिलाले हालसम्म करिब ३ हजार उडान भरेकी छिन् । उनको भनाइ छ – अन्य हवाईजहाज र सडक याताको तुलनामा प्याराग्लाइडिङलाई सुरक्षित उडानको रूपमा लिने गरिन्छ । उनी भन्छिन्– म जीवनभर सकुञ्जेल यही पेशामा रमाउन चाहन्छु । म परमात्मासँग वरदान माग भन्यो भने यही वरदान माग्दछु ।

तपाईको प्रतिक्रिया