कौसी खेती सिकाइयो

समाधान संवाददाता २०८० असोज १५ गते १२:३७

पोखरा ।
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एक दिने कौसी खेती प्रशिक्षण भएको छ । कार्यक्रममा ठूलाडिहीबाट पोखरामा आई बसोबास गरेका मञ्चका साधारण तथा आजीवन सदस्यको सहभागिता थियो ।

Advertisement


कार्यक्रममा नेपाल सरकारका पूर्व उपसचिव वरिष्ठ बाली संरक्षण अधिकृत तथा बाली प्रयोगशाला प्रमुख धनबहादुर रानाले सहजीकरण गरेका थिए । प्रशिक्षक रानाले मौसम अनुसार कुन समयमा कुन र कस्ता खेती कसरी लगाउने भन्ने प्रकाश पारेका थिए । मञ्चका अध्यक्ष दुर्गा शाह ‘बाबा’ले बजारको बसाइ हरेक हिसाबले खर्चिलो भएकाले घरवरपर त्यत्तिकै रहेको जग्गाको उपयोग गरेर खेती उत्पादन गर्नु स्वास्थ्यका लागि लाभदायक हुने भएकाले कार्यक्रम आयोजना गरिएको बताए ।


मञ्चका सचिव हरि नेपालले मञ्च सदा प्रभावकारी र व्यवहारोपयोगी कार्यक्रम सञ्चालनमा क्रियाशील रहने जनाउँदै सोही प्रकृतिका सुझाव दिनसमेत आग्रह गरेका थिए । कार्यक्रमका सहभागीले तालिम प्रभावकारी रहेकाले आगामी दिनमा पनि निरन्तरता दिनका आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया