दृष्टिविहीन शिक्षक आमरण अनसनमा

पोखरा ।
पायक पर्ने र अपांगता भएका व्यक्तिको पहुँचयुक्त विद्यालयमा पुनस्थापना गर्न माग गर्दै दृष्टिविहीन शिक्ष शोभा पौडेल आमरण अनसनमा बसेकी छिन् । उनले निम्न माध्यमिक तह (आधारभूत तह) तहमा पदस्थापन गर्ने क्रममा लमजुङको दोर्दी गाउँपालिका परेको तथा कुनै पहुँच नभएकोले पटक पटक ताकेता गर्दा समेत व्यवस्थापन नभएकोले शिक्षा विकाश निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाई कास्कीको परिसरमा आमरण अनसन बसेको जानकारी दिइन् ।
शिक्षक शोभाले शिक्षक सेवा आयोगबाट २०७९ सालमा नेपाली विषय निमावि तहमा अपांगता भएका व्यक्तिको समूहबाट नाम निकाल्न सफल भएकी थिइन् । पदस्थापनको क्रममा लमजुङको बिकट गाउँमा पठाएको उल्लेख गर्दै उनले आफ्नो शारीरिक अवस्था र त्यहाँको भौगोलिक विकटताको कारणले गर्दा हाजिर हुन असमर्थ भएर पटक पटक सरकारी निकायहरूसँग अनुरोध गर्दा पनि पदस्थापनको विषय सुनुवाइ नभएको बताइन् ।
‘पदस्थापना गर्ने क्रममा लमजुङको दुर्गम गाँउ र कुनै पहुँच नभएकोले हाजिरी गराउन नसकिने विद्यालयको पत्र समेतका आधारमा पटक पटक पालिका देखि मन्त्रालयसम्म अनुरोध गर्दा पनि सुनुवाई भएन,’उनले भने, ‘मेरो मागलाई कहि कतै सुनुवाई नभएकोले आमरण अनसन बस्न बाध्य भएको छु ।
उपयुक्त स्थानमा पदस्थापना गर्न दबाब मुलक कार्यक्रममा सहयोग गर्न आग्रह गर्दछु ।’ नेपालको संविधान तथा अपांगता भएको व्यक्तिहरुको ऐन अनुसार उपयुक्त ठाउँमा व्यवस्था गर्न माग गरिन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सदस्य लोचना अधिकारीले दृष्टिविहीन महिला शिक्षकलाई पायक पर्ने तथा पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी रोजगारीको अधिकार सुनिश्चित गर्न माग गरिन् ।
नेपालले अपागंता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अनुमोदन गरिसकेको तथा नेपालको संविधान तथा कानुन अनुसार उनको रोजगारीको हक सुनिश्चित हुनु पर्ने उल्लेख गर्दै उनले दृष्टिविहीन महिला शिक्षकलाई आमरण अनसन बस्न बाध्यात्मक परिस्थितिमा पुर्याउनु निन्दनिय भएको प्रतिक्रिया दिएकी छिन् । उनले शिक्षक पौडेलको माग प्रति एक्यबद्धता जनाएकी छिन् ।
तपाईको प्रतिक्रिया