कोभिडविरुद्धको खोपमा सघाउनेलाई नोबेल

समाधान संवाददाता २०८० असोज १६ गते १२:४२

काठमाडौं ।

Advertisement

१५ असोज (बिबिसी)– स्विडेनको स्टकहोमस्थित नोबेल पुरस्कार फाउन्डेसनले यस वर्षको चिकित्सातर्फको पुरस्कार क्याटालिन कारिको र ड्रिउ वेसम्यानलाई संयुक्त रुपमा दिने निर्णय गरेको छ । नोबेल कमिटीले स्विडिस समयअनुसार सोमबार बिहान यसको घोषणा गरेको हो ।


कारिको र वेसम्यानलाई कोभिडबिरुद्धको खोप विकासमा सहयोग पुर्‍याएबापत चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारले सुशोभित गरिने निर्णय गरिएको हो । नोबेल पुरस्कारको राशि ११ मिलियन स्विडिस क्रोनर अर्थात करिब ९ लाख ८० हजार अमेरिकी डलर छ ।


कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो । तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो । अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ ।


खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ । परम्परागत खोप प्रविधिमा संक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ ।

Advertisement


तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ । कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो । त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो । नोबेल पुरस्कार समितिले भनेको छः ‘पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए ।’


वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको युनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो । एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो ।

तपाईको प्रतिक्रिया