
काठमाडौं ।
अंग्रेजी वर्ष सन् २०२३ को ९ महिनामा करिब ८ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म हवाई मार्ग भएर ७ लाख ८२ हजार ३ सय ७२ पर्यटक भित्रिएका हुन् ।
पछिल्लो सेप्टेम्बर महिनामा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार ३ सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार ६ सय ४ पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए । पछिल्लो पर्यटक आँकडा कोभिड १९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतबाट २८ हजार ६ सय ४२, चीनबाट ८ हजार १ सय ७४, अमेरिकाबाट ७ हजार ३ सय ६४, बंगलादेशबाट ३ हजार ७ सय १६ पर्यटक नेपाल आएका छन् । यस्तै अस्टे«लियाबाट ३ हजार ६ सय ८५, संयुक्त अधिराज्यबाट ३ हजार ६ सय ४०, श्रीलंकाबाट ३ हजार ११, जर्मनीबाट २ हजार ८ सय ५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७ सय ३४ पर्यटक नेपाल भित्रिएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
तपाईको प्रतिक्रिया