पहिरोले बेनी—जोमसोम सडकखण्ड अवरुद्ध

जोमसोम—अविरल वर्षासंगै आएको पहिरोले राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडक मंगलबार दिउँसोदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका बैसरीदेखि ६ सय मिटर मुस्ताङतर्फको सिरुवारीमा निरन्तर पहिरो खस्दा सडक अवरुद्ध बनेको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ ।
म्याग्दीको बैसरीदेखि उत्तर सिरुवारी स्थित कालोपत्रे सडक माथि पहिरो खसेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए । त्यहाँ कालोपत्रे सडक मार्गको करिव १ मिटर माथिबाट निरन्तर पहिरो खसिरहेकाले सडक ट्रयाक खुलाउन असहज भईरहेको आयोजना प्रमुख प्रजापतीको भनाई छ । सिरुवारीमा बेनी—जोमसोम सडकमा हुँने हालसम्मकै ठुलो पहिरो खसेको उनले उल्लेख गरे ।
बेनी जोमसोम सडकको म्याग्दी खण्डको सिरुवारीमा नयाँ पहिरो गएकाले त्यहाँ निर्माण गरिएको कालोपत्रे सडक समेत भाँसिएको आयोजना प्रमुख प्रजापतीले बताए ।‘वर्षा निरन्तर जारी छ,कल्भर्ट भएको स्थानबाट पानी ब्लक भएकाले सडकमै पानी बगेको छ,आयोजना प्रमुख प्रजापतीले भने,‘ भासिएको स्थानमा उपकरणको सहायताले सडक खोल्न पहल गरेका छौं, वर्षाले काम गर्न दिएको छैन । सिरुवारीमा करिव ५ सय मिटर सडकमा पहिरो खसेकाले सडक अवरुद्ध भएको उनले बताए ।
मुस्ताङ जोड्ने पर्वतको मालढुङगा र म्याग्दीको बेनी जोड्ने सडक समेत वर्षाले अवरुद्ध भएको छ । मालढुङगा —बेनी निर्माणधिन सडकको केराबारी भन्ने स्थानमा सडक माथिबाट निरन्तर पहिरोसंगै ढुङ्गा खस्ने क्रम जारी रहेकाले पहिरो पन्छ्याउन समस्या परेको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे । यद्यपी त्यहाँ बाग्लुङ हुँदै बेनी जोड्ने बैकल्पिक सडक भएकाले खासै समस्या छैन ।
यसैगरी बेनी—जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्थित गुर्ङठेमा पनि सडक मार्ग माथिबाट निरन्तर पहिरो खसिरहेकाले सवारी आउजाउमा समस्या परेको आयोजनाले बताएको छ । मुस्ताङ जोड्ने पहिरोग्रष्त क्षेत्रमा सडक खुलाउन पहल भईरहेको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।‘हामीले चाँडो भन्दा चाँडो पहिरो पन्छ्याएर सडक खुलाउन कोशिस गरिहेका छौं,वर्षा रोकिएको छैन,उनले भने,वर्षा रोकियो भने साँझसम्म सडक खुल्न सक्छ ।’
बेनी—जोमसोम ७६ किमी सडकको पहिरोग्रष्त १५ स्थान मध्ये ९ स्थानको पहिरो नियन्त्रणका लागि अध्ययन गर्न उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित निर्देशानालयलाई पत्राचार गरिएको आयोजना प्रमुख प्रजापतीको भनाई छ । यसअघि बेनी—जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने ६ स्थानको पहिरो नियन्त्रण अध्ययन भईसकेको जानकारी दिए ।
अविरल वर्षासंगै बेनी—जोमसोम सडकमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङ जाने पर्यटक तथा तिर्थयात्री समस्यामा परेका छन् । बडा दशै सोह्रश्राद्ध सुरु भईसकेकाले मुस्ताङको कागबेनीमा पितृ उद्दारका लागि श्राद्ध गर्न जाने भक्तजनहरु गन्तब्यमा पुग्न सकेका छैनन् । अनुकुल मौसम सुरु भईसकेकाले असोज लागेपछि मुस्ताङमा पर्यटक चाँप बढ्दै गईरहेको छ ।
प्रतिकुल मौसमले सडक अवरुद्ध हुँदा पर्यटक तथा तिर्थयात्रीसंगै मुस्ताङबाट स्याउ ढुवानी गर्ने र मालवाहक सवारी साधान बीच सडकमै अलपत्र परेको बताईएको छ ।
तपाईको प्रतिक्रिया