अध्यात्म र जीवन
अध्यात्म तथा धर्मबारे मानिसका आआफ्नै बुझाइ छन् । कसैले ध्येय वा लक्ष्य मोक्ष प्राप्तिलाई मान्छन् र कोही स्वर्ग प्राप्तिलाई । त्यो अवस्था पनि मृत्युपछि प्राप्त हुने रूपमा मान्छन् । यो सुनिएका र पढिएका आधारमा मानिसले विश्वास र मान्यता बनाउँछन् । धर्मलाई सुस्वास्थ्य, सम्पन्नता तथा सुख प्राप्तिका लागि देवीदेवता, दैव, परमात्मा वा ईश्वरका नाममा गरिने आग्रह, पुकारका रूपमा लिन्छन् ।
मानिसले धर्मलाई परम्परा, संस्कार तथा देखासिखीका रूपमा गरिने कार्यका रूपमा पनि लिन्छन्, जस्तो– बिहान उठेर मन्दिर जाने, शंख, घण्ट बजाउँदै स्तोत्र–पाठ फलाक्ने, पुराण लगाउने, ग्रह शान्ति गर्ने, पूजा लगाउने आदि । अक्सर धर्मका नाममा मानिस बुझीनबुझी सम्मोहित पनि हुन्छन्, कोही इष्टदेवताका नाममा, कोही गुरुका नाममा, कोही तीर्थका नाममा, पुराणका नाममा त कोही देवीदेवताका नाममा ।
मानिस अशान्त छ, दुःखी छ र स्वाभाविक जीवन जिउन उसलाई सकस पनि छ । ऊ मुर्छामा छ, बेहोसीमै धेरै समय बित्छ र सपना पनि बेहोसीकै उपज हो । मानिसको सम्मोहन एउटा विश्वास तथा आस्थाले जगाउने मनको स्थूल आयतनभित्रकै विषय हो ।
अध्यात्म तथा धर्मको वास्तविक पक्ष यो होइन । घरमा रुद्री–चण्डी पाठ गर्ने, पूजा लाउने वा व्रत बस्ने भन्ने तय भएपछि तुलनात्मक रूपमा घरका मानिस भावुक र केही शान्त पनि बन्छन् । अरू दिनको भन्दा बढी भावुक, दानी, अतिथि प्रेमी देखिन्छन् । किन अनायास मान्छे यस्तो अवस्थामा पुग्छ ? यो मनोदशा परिवर्तन वा भावावेग कहाँबाट आउँछ ? यसको उत्तर बुझ्न शरीर होइन, शरीर सञ्चालन गराउने मनका विभिन्न आयतन–अवस्था बुझ्नुपर्छ ।
धर्मका नाममा विनातुकका तर्क, अन्धविश्वास, अविश्वास र आडम्बरका अवस्थाले समाज र राष्ट्रलाई विकृत बनाएको छ ।
ती तहगत आयतन–अवस्था सबैमा छिपेर रहेका हुन्छन् र कुनै निश्चित अवस्था तथा परिवेशमा प्रकट हुन्छन् । हाम्रो शरीर स्थूल, सूक्ष्म र कारण रूपमा विद्यमान छ । स्थूल शरीर ठोस पदार्थको रूप सूक्ष्म शरीर ऊर्जा तथा शक्तिको रूपमा र कारण शरीर चेतना, बोध, चैतन्य तथा साक्षीको रूप–अवस्था हो । यी तीन रूपका शरीरलाई अध्यात्ममा पाँच कोषका रूपमा पनि बुझ्न सकिन्छ र यसलाई अन्नमय प्राणमय, मनमय, विज्ञानमय र आनन्दमय भनिन्छ । ऊर्जा र कारण शरीर दृव्यवान् हुँदैन । यी अवस्था हुन्– मनको अनुभवका र मनभन्दा परका ।
स्थूलदेखि सूक्ष्म र अतिसूक्ष्म हुँदै कारण जगत्का अवस्थालाई लोक पनि भनिन्छ । कोष भन्नाले जीव विज्ञानको सूक्ष्म एकाइ होइन । यहाँ यसको अर्थ मनको अवस्था तथा अनुभूति हो, बोध हो । मन र शरीरको शुद्धताबाट आर्जित मानवभित्रको आन्तरिक ऊर्जाको उध्र्वगमनको अनुभूतिबाट प्राप्त अवस्था हो कोष र यो तलदेखि उच्च सोपानतर्फ जान्छ । पूर्ण स्थूल तथा भौतिक रूप अन्नमय हो भने परिष्कृत ऊर्जा चेतनामा रूपान्तरण भएको अवस्था आनन्दमय हो । यो द्वन्द्वरहित निद्र्वन्द्वको अवस्था पनि हो ।
यो छलफल, तर्क, किताबी ज्ञान र सुनेका भरमा थाहा हुने नभई अभ्यासबाट अनुभवमा आउने विषय हुन् । जसले साधना गर्छ, अभ्यास गर्छ उसले मात्र अनुभव गर्छ । सात चक्र र सात शरीरका विषय पनि स्थूलबाट सूक्ष्मतातर्फ बढ्दा त्यो अन्तरयात्रामा सूक्ष्मरूपमा अनुभूत हुने कुरा हुन् ।
यसको वेग अनुभव हुँदै जाँदा मान्छे अध्यात्मको उच्चतम सम्भावनातर्फ लम्किन्छ । शिव र शक्तिबारे हुने शास्त्रज्ञान पनि ऊर्जा र चेतनाको अवस्था हो । बुद्धको प्रज्ञा पनि चेतना हो, त्यसैले अध्यात्ममा विश्वास बढ्न साधना चाहिन्छ र साधनाको निरन्तरता र दृढताबाट विभिन्न प्रतिफलको महसुस हुन्छ । भौतिक जगत्का सम्भावनाहरूको जग प्रदूषित, भोगयुक्त र सांसारिक तथा मायामय जीवनमा पनि हुन्छ, कठोरता तथा जडताले भरिएको जीवनमा पनि हुन सक्छ ।
त्यस्ता मान्छेले पनि प्रशस्त सम्पत्ति कमाउन सक्छन्, ठूलाठूला पद पाउन सक्छन्, नेता हुन सक्छन्, शक्तिशाली देखिन सक्छन् । तर आध्यात्मिक तथा धार्मिक उन्नति सूक्ष्मता र शुद्धतामा मात्र सम्भव छ । भौतिक उन्नति होहल्ला र धमाकाबीच हुन्छ, यसविपरीत अध्यात्मिक उन्नतिमा शान्ति, स्थिरता र मौनता चाहिन्छ । मानव जीवन प्राप्तिको ध्येय तथा उच्चतम सम्भावना भौतिकतामा छैन । त्यहाँ भ्रम छ ।
यो जीवन उपार्जन र सृष्टिको निरन्तरताको माध्यम मात्र हो । संसार प्रत्यक्ष वा दृश्यवान् छ र त्यसको निरन्तरता छ, सृष्टि सञ्चालकले यही गुण र प्रकृतिका आधारमा सृष्टि रचेको छ र चलाएको छ । त्यसैले मानिस बढी भौतिकवादी छन् । यो बाध्यता पनि हो, प्रकृतिले सृजित गरेको बाध्यता । वास्तवमा मानिस प्रकृतिको दास नै हो । अध्यात्म प्रकृतिका गुण धर्मभन्दा माथि उठ्ने विषय भएकाले भौतिक प्रकृतिविपरीत अवस्था छ, टकराव छ । आध्यात्मिक उन्नतिमा अवरोध हुनुको कारण, यसमा निरन्तरता नहुनुको कारण र यो सबैले सहजरूपमा अभ्यास गर्न नसक्नुको कारण पनि यसबाट बुझ्न सकिन्छ । प्रकृतिका गुण धर्मलाई जित्न सक्ने सामथ्र्य सबैमा हुँदैन ।
अध्यात्म तथा धर्मको सार र महत्व सत्वस्तुमा टिकेको छ, सत्य र सदाचारमा छ, शुद्धता र पवित्रतामा छ । त्यसैले त्यहाँ घृणा र अवहेलना होइन, प्रेम र करुणा हुन्छ । प्रकृतिको सहज रूप पनि शुद्ध छ । पञ्चतत्वको स्वाभाविक र प्राकृतिक रूप शुद्ध छ, मानवले यसलाई अशुद्ध बनाएको हो । त्यही प्रकृतिमै एउटा बुद्धको जन्म हुन्छ, राम, कृष्ण र ईसाको जन्म हुन्छ, नानकको जन्म हुन्छ । यिनीहरू कोही सम्प्रदायवादी होइनन् ।
शुद्धता र पवित्रताबाट निस्किएका गुण र अवस्था हुन्, कलह र विकृत सम्प्रदाय होइन । मस्तिष्क, हृदय तथा आफ्नो समग्र प्रकृतिको शुद्धि र आन्तरिक चेतनालाई प्रबुद्ध बनाउनमै अध्यात्मको सार छिपेको छ । सबै धर्म साधनाको लक्ष्य तथा ध्येय पनि त्यही हो । बाहिरी जड अवस्था हट्दै गएपछि र विश्वास–अभिप्सा बलवान् हुँदै गएपछि अन्तर हृदयबाटै सहायता र पथ प्रदर्शन हुन्छ । ईश्वर आत्मामा छिपेको छ भनिएको रहस्य पनि यही हो ।
चेतनाको जागरण, बोध र होस खुल्दै गएपछि मानस तथा चीत्त निर्मल हुँदै जान्छ र त्यस अवस्थामा जे अनुभव हुन्छ त्यो निर्मल हुन्छ र सत्य पनि हुन्छ । निर्मलता र सत्य भएपछि त्यहाँ स्वतः विनम्रता पनि हुन्छ । विनम्रता र समर्पणमा धर्म टिकेको हुन्छ । त्यो समर्पण सत्यका पक्षमा हुन्छ, प्रेम र करुणाका पक्षमा हुन्छ, दया र परोपकारका पक्षमा हुन्छ ।
धार्मिकताको परीक्षा यही आधारमा हुन्छ । तर अफशोच, आज धर्मका नाममा काटमार, घृणा, द्वन्द्व, कुन ठीक र कुन बेठीक भन्ने विनातुकका तर्क, अन्धविश्वास, अविश्वास र आडम्बरका अवस्थाले समाज र राष्ट्रलाई विकृत बनाएको छ, पिरोलेको छ । अध्यात्म तथा धर्म सही मानेमा नबुझेर, सही अभ्यास नभएर यस्तो भइरहेको छ । यसमा पण्डित, पुरोहित, धर्मगुरु, नेता र बुद्धिजीवीहरू सबै जिम्मेवार छन् ।
समाजलाई चराएर गुजारी दिने व्यवस्था त जानेका छन्, तर सत्य उजागर गरेर मानव कल्याण गर्ने विषय दुर्लभ छ । यही कारण राजनीति, समाजनीति अर्थनीति पनि विकृत छ । आर्थिक मामिलामा भ्रष्टाचार छ, सामाजिक विकृति र असन्तुलन छ, शिष्टाचारका ठाउँमा पापाचार र दुराचार छ । धर्मका नाममा युद्ध र हिंस्रक हमला भइरहेका छन् । धर्मकै नाममा उग्रवादी र विखण्डनकारीका जन्म पनि हुन्छन् ।
अध्यात्मलाई विभ्रमित गराएर धर्म सम्प्रदाय खडा गरिएको छ । यो दानव प्रवृत्ति हो, मानव प्रवृत्ति होइन । भोगवादी, अहंकारी र स्वार्थीहरूले अध्यात्म र धर्मको लेप लाउँदा यो उत्पात भएको हो । राजनीति पनि यसरी विकृत हुँदैन, भ्रष्ट आचरण पनि हुँदैन । किनकि यसमा शुद्धता, पवित्रता र सदाचारको जग हुन्छ । यसलाई बुझौं, मनन गरौं ।
तपाईको प्रतिक्रिया