मदरल्याण्डमा शिक्षक –अभिभावक अन्तक्र्रिया

समाधान संवाददाता २०८० असोज २१ गते १२:४८

पोखरा, २० असोज
दिगो शिक्षण सिकाइका लागि विद्यार्थी, शिक्षक र अभिभावकबिचको त्रिकोणात्मक सम्बन्धलाई ध्यानमा राखी पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा कक्षा एघारको शिक्षक –अभिभावक अन्तक्र्रिया शनिबार एक समारोहबिच विद्यालय प्रांगणमा सम्पन्न भएको छ ।

Advertisement


यसरी विद्यालयमा प्रत्यक्ष उपस्थित भएर आफ्ना बाबुनानीहरूको आचरण तथा शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गर्न पाउँदा निकै खुसी लागेको कुरा उपस्थित अभिभावकहरूले बताए । यसका साथै विद्यार्थी तथा बाबुनानीहरूलाई बौद्धिक एवं चरित्रवान् बनाउन शिक्षक र अभिभावकले खेल्नुपर्ने असल भूमिका तथा शिक्षक र विद्यालय प्रशासनबाट बाबुनानीहरूलाई व्यक्तिगत हेरचाह गरेको विषयका बारेमा थाहा पाउँदा अभिभावकहरूले विद्यालय प्रशासनप्रति आभार व्यक्त गरेका थिए ।


पहिलो र दोस्रो गरी २ चरणमा सम्पन्न उक्त कार्यक्रममा पहिलो चरण कक्षाशिक्षक र विषयगत शिक्षकहरूले सहजीकरण गरेका थिए । दोस्रो चरण विद्यालय प्रशासनका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एकेडेमिक डीन प्रेमनारायण पोख्रेलले सहजीकरण गरेका थिए । यस अवसरमा उहाँले कक्षा एघार/बाह्रका उमेर समूहका विद्यार्थीमा दखिने समस्या र त्यसको समाधान, खुसी रहने उपाय, समूहकार्य, प्रविधिको सही प्रयोग, कसरी महान् मानिस बनाउन सकिन्छ ?, स्वस्थ्य खानेकुरा, जीवनमा गर्नुपर्ने संघर्ष जस्ता विषयका बारेमा स्पष्ट पारेका थिए ।


दस जोड दुईका इन्चार्ज नारायण आचार्यको सभापतित्वमा सम्पन्न शनिबारको कार्यक्रम १० जोड दुई अन्तर्गत व्यवस्थापन तथा विज्ञान समूहका संयोजकद्वय इन्द्रप्रसाद पौडेल र एलबी गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा अभिभावकहरू केशव गिरी, गंगाधर बराल, तारानाथ आचार्य, सीमा गुुरुङ, बुद्धिबहादुर वस्नेत, अनुजा सुनार, दुर्गाप्रसाद अधिकारी र विद्यालयका तर्फबाट शिक्षक डा. टेकनारायण पौडेल, १० जोड दुईका इन्चार्ज नारायण आचार्य, विद्यालयका प्राचार्य नारायण बराललगायतले बोलेका थिए ।


नयाँ शैक्षिक सत्रको सुरुआतसँगै विद्यालयले हरेक वर्ष शिक्षक अभिभावक अन्तत्र्रिmया कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष हरेक हप्ताका दरले कक्षा नर्सरीदेखि बाह्रसम्मका सम्पूर्ण अभिभावकहरूसँग अन्तक्र्रिया गरेको विद्यालयले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया