मोडिफाइड बाइकलाई कारवाही

समाधान संवाददाता २०८० असोज २२ गते १०:४२

पोखरा ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले ‘मोडिफाइड’ गर्ने २ पांग्रे सवारीलाई निशानामा राखेको छ । चाडपर्व नजिकिँदै जाँदा शान्ति, सुरक्षामा खलल पु¥याउने गरी चलाइएका मोटरसाइकलहरु प्रहरीले भकाभक समातेर कारबाही अगाडि बढाएको हो ।

Advertisement


स्वरूप परिवर्तन गरी समाजमा होहल्ला गराउँदै हिँड्ने २२ मोटरसाइकललाई आइतबार प्रहरीले एकैचोटि समातेर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न वडाबाट स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने सवारीलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।


उनले ४ आर्थिक वर्षमा सवारी नियम उल्लंघन गर्नेबाट ५ करोड ६८ हजार ५ सय रुपैयाँ जरिवाना संकलन गरिएको जानकारी दिए । चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गरिसकेको उनले सुनाए ।

Advertisement


‘चालु आर्थिक वर्षबाटै कास्कीमा ३ लाख २७ हजार जरिवाना संकलन गरिएको छ । आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको थियो,’ डिएसपी विकले भने ।


कारबाहीमा पर्नेमा अधिकांश क्रस फायर र बुलेट बाइक छन् । ‘चेकिङका क्रममा भेटिएका प्रायः क्रस फायर र बुलेट नै छन् । यी बाइककका साइलेन्सर पाइप फेरेर ठूलो आवाज निकाल्ने साइलेन्सर पाइप हालेको भेटिएको छ,’ डिएसपी विकले भने ।

Advertisement

तपाईको प्रतिक्रिया