खुला संसदको अवधारणा अंगालौंः सभामुख धिताल

पोखरा ।
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले आगमी दिनमा खुला संसदको अवधारण अनुसार प्रदेश सभाका काम, कारवाही अगाडि बढाउने बताएका छन् । प्रदेश सभा सचिवालयले आइतबार राखेको पत्रकार सम्मेलनमासभामुख धितालले गण्डकी प्रदेश सभाको आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उनले छलफल तथा अन्तक्र्रियामार्फत जनताको वास्तविक आवश्यकता र अपेक्षा संकलन गरी उत्कृष्ट कानुन निर्माण गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेश सभा र नागरिकबिचको सम्बन्धलाई समुधुर बनाई नागरिक सहभागितालाई सुनिश्चित गर्न जनतासँग प्रदेश सभा कार्यक्रम सञ्चालन गर्ने र प्रदेश सभाको कार्यप्रणालीलाई प्रभावकारी बनाउन ई–लेजिस्लेसन सफ्टवेयर कार्यान्वयनमा ल्याउने योजना छ,’ सभामुख धितालले भने ।
संसदीय अध्ययन तथा अनुसन्धानलाई प्रभावकारी बनाउन प्रदेश सभा भवन निर्माण गर्ने उनले सुनाए । ‘अहिले हाम्रोसामु चुनौति भनेको जीर्ण प्रदेश सभा भवन हो । संसदीय गतिविधि सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम सुविधासहितको भवन नहुनु, समिति र सचिवालयका लागि प्रर्याप्त पूर्वाधार विधि निर्माण र संसदीय निगरानीलाई प्रभावकारी बनाउन नसक्नु लगायतका हाम्रा चुनौति छन्,’ सभामुख धितालले भने । आफू जनमुखी स्वच्छ, पारदर्शी र क्रियाशील प्रदेश सभाको सोच अगाडि बढिरहेको उनले सुनाए ।
गण्डकी प्रदेश सभाको दोस्रो कार्य सुरु भएपछि चौंथो अधिवेशनसम्म आइपुग्दा ७ वटा विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । पहिलो अधिवेशनले विनियोजन ऐन, २०७९, लाई संशोधन गर्न बनेको विधेकय, केही गण्डकी प्रदेश ऐन प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक, गण्डकी प्रदेशका निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो ।
प्रदेशसभाको चौंथो अधिवेशनले गण्डकी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयनमा गर्ने विधेयक २०८०, आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गण्डकी प्रदेशभित्रको वनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक पारित भएको सचिवालयले जनाएको हो । यी विधेयक प्रदेश प्रमुखले प्रमाणित गरेर कार्यालयमा आइसकेका छन् ।
चौंथो अधिवेशनबाट गण्डकी अधिवेशनबाट गण्डकी प्रदेश सभा नियमावली २०८० पनि पारित भइसकेको छ । यस्तै, प्रदेश सभामा गण्डकी प्रदेशमा बिउ बिजनसम्बन्धी व्यवस्थ गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाका सम्बन्धित समितिमा छलफलमा रहेको सचिवालयले जनाएको छ ।
नयाँ जनप्रतिनिधि आएपछि ४३ दिन प्रदेश सभा सञ्चालनमा आएको छ । ४३ दिनमा ९२ घन्टा ४६ मिनेट बैठक सञ्चालन भएको सचिवालयले जनाएको हो । प्रदेश सभाको २०७९ पुस १८ गते पहिलो अधिवेशनको पहिलो बैठक सुरु भएको थियो ।
पहिलो अधिवेशन १८ घण्टा ४५ मिनेट, दोस्रो २ घन्टा ४२ मिनेट, तेस्रो १ घन्टा ५८ मिनेट र चौंथो ६९ घण्टा २१ मिनेट चलेका थिए । सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चौंथो अधिवेशन अन्त्य भएको सूचना जारी गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया