प्रिक्वाटरका खेल सकिए

समाधान संवाददाता २०८० असोज २२ गते ११:४२

पोखरा ।
माछापोखरी खेलमैदानमा जारी खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रिक्वाटर फाइनलका खेल सकिएका छन् । रग्वी खेलाडी यशोदा बोहोरा सहयोगार्थ एट टु नाइन गाइजले आयोजना गरेको प्रतियोगिताबाट आइतबार अन्तिम ८ टोलीको टुंगो लागेको छ ।

Advertisement


आइतबारको पहिलो खेलमा गन्नी एफसीले एनवाइसी एयरपोर्टलाई ३–० गोलको फराकिलो अन्तरले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा लामा गाउँले ए–सेभेन ब्रदर्सलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै अन्तिम ८ मा प्रवेश गरेको छ ।


प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा भुजुङ फुटबल क्लबले नमस्ते फुटबल क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमै रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

Advertisement


अत्यन्तै प्रतिस्पर्धात्मक बनेको चौथो खेलमा कमलपोखरीले विवाइसी–३३ लाई सडन डेथमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथमा कमलपोखरीले ४–३ को जित हासिल गरेको हो ।


पाँचौ खेलमा रामघाट गुम्बाले रञ्जन मेमोरियललाई सडनडेथमा ३–२ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत २–२ गोलको बराबरी भएपछि खेलको टुंगो सडनडेथबाट लागेको हो ।

Advertisement


छैटौं खेलमा बि–१३ ले सडनडेथमा भद्रकाली फुटबल क्लबलाई ५–४ गोल अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको छ ।

अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय
१–१ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथबाट खेलको टुंगो लागेको थियो । अन्तिम खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले गेमशालालाई २–० गोलले पाखा लगायो ।


प्रतियोगिताको विजेताले १ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उपविजेताले ६० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ३ हजार रुपैयाँ र ट्रफी तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समान २ हजार रुपैयाँका साथमा ट्रफी प्रदान गरिनेछ । असोज १७ देखि सुरु प्रतियोगितामा ३९ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल सोमबार हुँदै छ ।

तपाईको प्रतिक्रिया