सम्पादकीयः दर्के झरीमा कालोपत्रे

समाधान संवाददाता २०८० असोज २४ गते १२:२४

पोखराका मुख्य बजार क्षेत्रका सडकमा अमेरिकी प्रविधिको कालोपत्रे गर्न महानगरपालिकाले सुरु गरेको ३ वर्षअघि नै हो । महेन्द्रपुल, नयाँसडक, लेकसाइड लगायत ठाउँमा त्यस्तो पिच २ ऊ बेला नै भयो । पृथ्वीचोकदेखि नयाँबजार हुँदै महेन्द्रपुलसम्मको सडक पनि अस्फाल्ट पिच गर्ने योजना थियो । के भएर हो यहाँको पिच भने अहिले बल्ल हुँदैछ । त्यो पनि मौसम विभागले जसै पानी पर्छ, झरी नै लाग्छ भनेको थियो अर्थात असोज तेस्रो साता हुने मौसमी बदलावको खबर प्रसार गरेकै थियो । त्यही छेकोमा नयाँबजार पोखरा क्षेत्रमा धमाधम पिचको काम थालियो । पानी पर्ने समय जुर्नु एउटा कुरा पानीको भलबाढी नै आउँदा पनि कालोपत्रे विच्छ्याउने कामचाहिँ नरोकिनु झन् बिडम्वना । भयो त्यस्तै नै । शनिबार साँझ मुसलधारे पानी पर्‍यो, आकाशबाट । सडकमा भलबाढी नै लाग्यो । त्यसैमा कालोपत्र बिच्छ्याएर लोडर लगाइँदै थियो ।

Advertisement


अस्सफाल्ट पिचको काम पोखरा नगरको योजना र आइडिया भए पनि उसलाई यो कामका लागि संघ र प्रदेश सरकारले सघाए । तिनका बजेट पनि पर्‍यो । सोहीअनुसार ठेक्का लाग्यो । नयाँबजारपट्टिको कामको ठेक्का कुँवर एण्ड विवेक विल्डर्सले पाएको छ । ४ करोड ५ लाख ९२ हजार रुपैयाँको ठेक्का हो यो । त्यतिका पैसाबाट भइरहेको ठेक्कामा भएको लापरबाहीबारे सडक विभाग वा स्वयं महानगरपालिका बेखबर छैनन् । तर फेरि आइत, सोम र मंगलबार पनि साँझ पानी पर्नुअघि नै कालोपत्रे भइरह्यो । सामान्य र सर्वसाधारण नागरिकका आँखाबाट हेर्दा पनि पिच महेन्द्रपुल, न्युरोड र लेकसाइडतिर यसअघि भएको पिचको दाँजोमा निकै कमसल देखिन्छ । न सडकको सतह मिलेको छ, न गुणस्तर नै देखिन्छ । सलल बग्न सकिने हुनुपर्नेमा उबडखाबड छ ।


सम्भवत दसैंअघि नै सक्नुपर्ने ठेकेदारसँग बाध्यता होला । तर यतिका समयसम्म ऊ के हेरेर बसिरहेको थियो ? अब यस्तै कमसल काम भए पनि सडक विभागले उसलाई रकम भुक्तानी गर्ने हो या गणुस्तर कायम गरेपछि मात्रै भुक्तानी दिन्छ ? ५ सेन्टीमिटर मोटाइ हुनुपर्ने पिच सबैतिर त्यति नै बाक्लो छ त ? साधारण आँखा त्यस्तो देख्दैन ? सडक पास गर्ने इन्जिनियरका आँखाले के देख्ला वा कसरी पास गर्लान् ?

पोखराजस्तो मुख्य सडकको पिचमा त यतिका लापरबाही हुन्छ भने अन्त कसो होला ? यस्तो हुँदाहुँदै केही अनुगमन, निगरानी र कारबाही हुँदैन वा सुधार गरिन्न भने के आस गर्ने ? यस्तै प्रवृत्तिको भ्रष्टाचारले मुलुक थिलोथिलो छ । जनताले तिरको करको पैसा भलबाढीमा मिसाइदिने प्रवृत्तिमा सुधार जरुरी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो सडकमा भएको हदैसम्मको लापरबाहीलाई अनुसन्धान गर्नुपर्छ । राज्यको ढुकुटीबाट भएको खर्चमा लापरबाही रोकिनुपर्छ । सडकको गुणस्तर पनि उकासिनुपर्छ । सुधारसहितको पिच जरुरी छ ।

Advertisement

तपाईको प्रतिक्रिया