सुधारक योगी र ओशोमा फरक छ

आनन्द अरुण २०८० असोज २४ गते १२:४०

मेरो जीवनको सबैभन्दा ठूलो सौभाग्य हो कि विद्यार्थी जीवनमै अर्थात आजभन्दा पचास वर्षपहिले मैलै ओशोको दर्शन पाएँ २९ मार्च १९६९ मा । पचास वर्ष भयो, प्रत्येक दिन मैले ओशोलाई पढिरहेको छु, प्रवचन सुनिरहेको छु, ओशोको बारेमा बोलिरहेको छु । आफैँले पनि साधना गरिराखेको छु र अरुलाई पनि ध्यान सिकाइरहेको छु । मैले २० वर्ष ओशोको शारीरिक सानिध्य पाएँ र बाँकी ३० वर्ष उहाँले दिनुभएको साधना, साहित्य, ऊर्जा र आशीर्वादको सानिध्यमा बाँचिरहेको छु । यो ५० वर्ष निरन्तर उहाँकै बारेमा बोलिरहेको छु, लेखिरहेको छु । यसका बाबजुद पनि इमान्दारीका साथ म भनिरहेको छु– ओशोलाई अझै बुझ्न सकेको छैन ।

हरेकपल्ट उहाँको किताब पढ्दा मलाई एकदमै नौला कुरा उहाँले बोलेजस्तो लाग्छ । उहाँको अभिव्यक्तिको सरलता, नीवनताले मन्त्रमुग्ध पार्छ । शब्दातीतलाई शब्दमा, अदृश्यलाई दृश्यमा खिच्न सक्ने ओशोको अलौकिक क्षमताले विस्मित पार्छ । जीवन जगतको विरोधाभाष बुझाउन तर्कको शिखर छुने ओशो स्वयम् तर्कातीत हुनुहुन्छ । त्यसले ओशो अबोधगम्य र अबुझ रहनुहुन्छ । उहाँका बारेमा मैले सबै कुरा पढिसकेँ, सबै कुरा जानिसकेँ, अब जान्नु छैन भनेर कसैले भन्न सक्दैन जस्तो लाग्छ ।

ओशोको बुद्धत्व र प्रज्ञा अनुपम छ । ओशोको दर्शनमा आजको मनुष्यको समस्यालाई हेर्ने र सुल्झाउने एक वैज्ञानिक दृष्टि छ । हाम्रा प्रश्न र समस्या नयाँ छन् र धर्मको ठेक्का लिएकाहरूसँग जीणसिर्ण पुरानै उत्तर छन् जसले मनुष्यको खोज र प्यास सम्बोधन गर्न सकिरहेको छैन । धर्मबाट मनुष्यको आस्था ढलेको अवस्था छ । धर्मबाट आधुनिक मनुष्य विमुख हुन थालेको आजको परिस्थितमा ओशोले मनुष्यका लागि एक नवीन जीवनशैलीको दर्शन दिनुभएको छ । यसै कारण आज नाम चलेका गुरुहरूको प्रवचन सुन्यो, हे¥यो भने ओशोकै उद्धरण, ओशोकै कथा, ओशोकै जोक्सहरू प्रयोग भइरहेका हुन्छन् । अधिकांश प्रवचनमा ओशोकै सुगन्ध आइरहेको हुन्छ । तर त्यस्ता हिम्मतिला, इमान्दार व्यक्ति एकदमै कम छन् जसले ओशो दर्शनबाट आफू प्रभावित भएर प्रवचन गरेको स्वीकार्छन् ।

Advertisement


सामान्य सुधारक योगी र ओशोमा फरक के छ भने सामान्य योगीले तपाईँको जीवनमा केही सुधार गर्न चाहन्छ, मर्मत तथा रेट्रोफिटिङ गर्न चाहन्छ तर ओशोलाई रेट्रोफिटिङमा विश्वास छैन । उहाँ पुरानो मान्यतालाई जडदेखि नै बिदा दिएर पारेर नयाँ संस्कृति बसाउन चाहनुहुन्छ । समाजमा हजारौँ वर्षदेखिका पुराना सडे/गलेका मान्यता व्याप्त छन् । यिनले मनुष्यलाई मुक्त होइन, गुलाम बनाएर राखेका छन् । धर्महरू अवैज्ञानिक, जीर्ण, अव्यावहारिक भएको आजको अवस्थामा सेक्सको विषयमा, राजनीतिको विषयमा, अर्थशास्त्रको विषयमा, परिवार नियोजनलगायत जीवनका सबै महत्वपूर्ण विषयमा ओशोको आफ्नै क्रान्तिकारी दृष्टि छ । उहाँ रोगलाई सुधार गरेर बचाउने होइन, पूर्ण उन्मूलनमा विश्वास गर्नुहुन्छ । पुराना सडे÷गलेका मान्यतालाई सजाएर, मिलाएर, लिपपोत गरेर काम चल्नेवाला छैन । त्यस्ता मान्यतालाई पूर्णरूपमा बिदा दिएर नयाँ संस्कृतिको जग बसाल्ने हिम्मत अबको मनुष्यको हुनुपर्छ भन्ने उहाँको मान्यता छ ।

ओशोको संन्यास निषेधको होइन, सिर्जनशीलता र सतत् साधनाको हो । ब्रह्मचर्यको पालना, यो खाउ त्यो नखाउ भन्ने हजार निमयले मनुष्यलाई अझ भ्रमित र अपराधभावले भरिदिएको छ । साधनायुक्त जीवनबाट अन्तअनुशासनको सिर्जन हुन्छ भन्ने ओशोको दृष्टि छ । प्याज, लसुन, चिया नखाँदा स्वर्ग नै पुगिने जस्तो कुरा गर्ने, ब्रह्मचर्य पालना गर्दा मोक्ष प्राप्त हुने भ्रम सिर्जना गर्ने पारम्परिक ढर्राका गुरुहरू नै पतन भएको वर्तमान पृष्ठभूमिमा पनि अझै ओशोलाई बुझ्न कठिन छ ।

Advertisement

नयाँ संस्कृति, नयाँ सोच, नयाँ विचारधारा अंगाल्न सक्ने साहस गर्नेहरूले मात्र ओशोलाई बुझ्न सक्छन् । त्यसकारण जबसम्म ओशो शरीरमा रहनुभयो उहाँ अबुझ नै रहनुभयो । जति विवाद ओशोको वरिपरि सिर्जना गरियो त्यति अन्य कुनै गुरुका बारेमा भएन । यति आलोचना कुनै गुरुको भएन जति ओशोको भयो र आज पनि भइरहेको छ । यो संसारमा सिर्जनशील व्यक्तिले ढर्रायुक्त समाजमा नयाँ कुरा गर्न ठूलै मूल्य चुकाउनुपर्छ ।

ओशोको दरिद्रताको दर्शनमा विल्कुलै विश्वास थिएन । गरिबीलाई उहाँ श्राप अथवा समाजको क्यान्सर भन्नुहुन्थ्यो । दरिद्रता मनुष्यको मूर्खताले पैदा भएको हो । यो पृथ्वी आज ज्ञान र प्रविधिले यति सम्पन्न छ कि सारा मनुष्य जाति सुविधासाथले बस्न, खान र लाउन सक्छ । ओशो भन्नुहुन्छ– गरिबी कृत्रिम संरचना हो । यो हाम्रो मूर्खता हो, बाध्यता होइन । गरिबी बाध्यता होइन, मनुष्यतामाथिको जालसाँझी हो । पृथ्वीका सबै मनुष्यलाई एक मनुष्यता मानेर विश्वमा पैदा भएको सम्पन्नताको सानो भागको समान वितरणले मानिसका आधारभूत आवश्यकताहरू सजिलै पूरा हुन सक्छन् ।

ओशो भन्नुहुन्छ– गरिबी मनुष्यताको स्वसृजित अभिशाप हो । अहिलेको वैज्ञानिक र प्रविधियुक्त युगमा हामीले बुद्धिमतापूर्वक मिलेर व्यवस्था ग¥यौँ भने गरिबी सदाका लागि बिदा हुन्छ । आज हाम्रो स्रोत र साधनको तीसदेखि पचास प्रतिशतसम्म युद्धका लागि अनावश्यक हातहतियार र सैन्य सामग्रीमा खर्च भइरहेको छ । जसलाई हामी प्रतिरक्षा भन्छौं । हामी नाम बडो सुन्दर दिन्छौँ । तर कोबाट प्रतिरक्षा ? के अर्को ग्रहबाट कोही आएर आक्रमण गर्नेवाला छ यहाँ ?

ओशो भन्नुहुन्छ– विज्ञान र प्रविधिले यस पृथ्वीलाई एक ‘ग्लोबल भिलेज’ बनाइदिएको छ । अब रुग्ण राजनीति र पूर्वाग्रही धर्मान्धताले मात्रै मुनष्य विभाजित छ । सबै देश पृथ्वीमा विभिन्न राज्य समान हुनुपर्छ र तिनका सिमाना राष्ट्र सङ्घले निश्चित गरिदिनुपर्छ । र, विश्व शान्ति र सुरक्षाका लागि राष्ट्र सङ्घले एउटा सानो पिस किपिङ फोर्स राखे पुग्छ । विश्वका प्रत्येक राज्यले आन्तरिक सुरक्षा र सुव्यवस्थाका लागि प्रहरीमात्र राखे पुग्छ ।

एक्काइसौँ शताब्दीको संवेदनशील मनुष्यले सैन्य शक्तिलाई गौरव र सौर्य मान्न मिल्दैन । यस्ता देशहरू जहाँका साठी प्रतिशत नागरिक गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सरसफाइ जस्ता आधारभूत आवश्यकताबाट पनि वञ्चित छन्, त्यस्ता राष्ट्रले अन्धो राष्ट्र, जाति र धर्मवादका नाममा आणविक हतियारमा असीमित पैसाको खोलो बगाएका छन् ।
आफ्ना नागरिकका लागि सामान्य पिउने पानी र शौचालयको व्यवस्था गर्न नसकेका पाकिस्तान भारत, उत्तर कोरिया जस्ता देशले पनि आणविक अस्त्र र शस्त्र भण्डार बढाउन आफ्नो स्रोतको ठूलो हिस्सा खर्च गरिरहका छन् । विश्वमा गरिबीका यी मूल कारण हुन् ।

ओशोलाई युद्धखोरहरूले, हिंसामा विश्वास गर्नेहरूले, अतिराष्ट्रवादीहरू तथा धर्मान्धहरूले बुझ्न सकेनन् । उनीहरूले नै ओशोलाई जेलमा हाले । र, अन्ततः हत्या गरे । ५८ वर्षको सङ्र्घषमय जीवनकालमा उहाँले जति आलोचना, निन्दा र यातना सहनुप¥यो, त्यो अवर्णनीय छ ।

ओशोको साहित्यिक शैली, विषयवस्तुको गहिरो पकड, अभिव्यक्तिको क्षमताले ओशोलाई जति पढ्यो उहाँले उति नै आश्चर्यचकित पार्नुहुन्छ । उहाँका हरेक शब्द उद्धृत गर्न लायक छन् । ओशोका इमान्दार पाठकले मलाई भन्नुहुन्छ– उहाँका गहकिला विचारहरूले परिपूर्ण पुस्तकहरू पढ्दा पूरै पुस्तकै अन्डरलाइन गरेर रंगिन्छ ।

ओशोको अर्को महत्वपूर्ण विशेषता के हो भने योगी भएर पनि उहाँमा अद्भूत सौन्दर्यबोध थियो । फाटेको, नमिलेको तथा फोहर लुगा उहाँले कहिल्यै लगाउनुभएन । जब उहाँलाई सुरुका दिनमा मैले भेटे उहाँ लुंगी लगाउनुहुन्थ्यो र एउटा खास्टो ओढ्नुहुन्थ्यो । सुरुका दिनमा भक्तहरू कम भएकाले उहाँ लुगा आफैँ सफा गर्नुहुन्थ्यो ।

एकपटक उहाँ पटना आउँदा (जुन कार्यक्रमको आयोजक म थिएँ) उहाँले बीसवटा भन्दा बढी लुंगी ल्याउनुभएको थियो र हरेक कार्यक्रमको अन्त्यपछि स्नान गरी उहाँ नयाँ लुंगी फेर्नुहन्थ्यो । उहाँ चट्ट आइरन गरी मिलेको कपडामात्र लाउनु हुन्थ्यो । यसैबाट बुझ्न सकिन्छ कि उहाँमा कति सौन्दर्य चेत थियो ।

लुंगी लगाएर साइकल चलाउन कठिन हुने भए पनि उहाँले त्यतिबेला सबैभन्दा महँगो र प्रचलनमा रहेको साइकल चढ्नुहुन्थ्यो । कलेजबाट फर्किएपछि उहाँ आफैँले साइकल पुछपाछ गरेर टल्काउनुहुन्थ्यो । पछि गाडी खरिद गर्दा पनि सबैभन्दा महँगो र आकर्षक गाडी खरिद गर्नुभयो । उहाँले जति सफा कपडा लगाउनुहुन्थ्यो त्यत्तिकै सफा र सुन्दर थिए आश्रमहरू पनि । विश्वका जुनसुकै देशमा रहेका ओशो आश्रममा पुग्दा पनि त्यत्तिकै सफा र सुन्दर देख्न सकिन्छ । त्यसैले यो बुझ्न सकिन्छ कि ओशोको जीवनशैली सौन्दर्यबोधले युक्त थियो ।

उहाँ आफूमात्र सुविधामा बाँच्नुभएन कि शिष्यहरूलाई पनि धर्ममा नाममा अनावश्यक दुःखबाट बच्न र सुविधामै साधना गर्न प्रेरित गर्नुभयो । अन्य योगीले सादा जीवन उच्च विचारको मान्यता राखे पनि ओशोले ‘हाइ लिभिंग, नो थिकिंग’ विश्वास गर्नुहुन्थ्यो । उहाँका अनेकौँ विशेषतामध्ये अर्काे महत्वपूर्ण विशेषता के हो भने सेन्स अफ ह्युमर । हाँस्यबोधले मिश्रित उहाँका प्रवचनहरूमा वेद÷गीता जस्ता क्लिस्ट ग्रन्थलाई पनि सरसता मिल्थ्यो र सटिक हुन्थे । बुद्धका धम्मपद होस् वा अन्य विषय, तिनलाई स्वच्छ अभिव्यक्ति र साहित्यिक व्यञ्जनाले संगीतमय बनाइदिनुहुन्थ्यो ।

शंकराचार्य, बुद्ध, कृष्ण, गुरु नानक, येशु, मोहम्मद जस्ता आत्मज्ञान प्राप्त सत्तरीजना महापुरुषबारे उहाँले बोल्नुभएको छ । समस्त बुद्ध पुरुषहरूको दर्शनमा लागेको धुलो ओशोले सफा गरिदिनुभयो । यो उहाँको अर्को विशेषता हो । इसाईका एकजना पादरीले भन्नुभएको छ कि इशामाथि ओशोले जस्तो कसैले व्याख्या गरेको छैन । गीताको बारेमा उहाँले जुन व्याख्या गर्नुभयो, त्यो शायद श्रीकृष्णले मात्रै गर्न सक्नुहुन्थ्यो । गुरु नानकका बारेमा उहाँले बोलेका पुस्तक प्रत्येक सिखका लागि आदरणीय छ । उहाँले जुन गुरुका बारेमा बोल्नुभयो त्यो गुरुको सर्वोत्तम पुस्तक बन्न गयो । ओशोको यो अद्भुत विशेषता हो । त्यसैले उहाँ सम्प्रदायमुक्त व्यक्ति हो । त्यसैले मनुष्य जगत उहाँप्रति ऋणी रहनेछ । त्यो ठाउँ जहाँ उहाँले टेक्नुभयो ती सबै तीर्थसमान छन् । उहाँ काठमाडौँ ४५ दिन बस्नुभयो ।

नेपालमा ओशोका एक सय तीनवटा आश्रम, सेन्टर र १५ वटा कम्युन छन् । नेपालमा हामीले उहाँका दुईवटा समाधि बनाएका छौँ । नेपालमा प्रत्येक वर्ष औसतमा ६ वटा नयाँ आश्रम बनिरहेका छन् र दुई हजार व्यक्ति दीक्षित भइरहेका छन् । असी राष्ट्रका मानिस योग ध्यानका लागि यहाँ आउने गरेका छन् । जसरी तिब्बत बुद्धलाई संरक्षित गर्ने राष्ट्रका रूपमा स्थापित भयो त्यसैगरी ओशो दर्शन संरक्षण गर्ने र विश्वमा फैलाउने राष्ट्रका रूपमा नेपाल स्थापित हुँदैछ ।

भारतको मध्यप्रदेश सरकारले पहिलोपटक ओशोको जन्मदिन राजकीय ढंगले मनाउने निर्णय गरेको छ । यसका लागि मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथजीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । यस्ता महापुरुष ओशोको जन्मदिवस ११ दिसम्बरका दिन नेपालका एकसय तीनवटा ओशो आश्रमहरूमा बडो उत्सवपूर्ण ढंगले उहाँका हजारौँं शिष्य तथा लाखौँं ओशोप्रेमीले मनाए ।

तपाईको प्रतिक्रिया