सरकारी अस्पताललाई नै पूरा जीवन

रवीन्द्र माकाजू २०८० असोज २४ गते १२:४५

डा. सोमतसिंह तुलाचन ८५ वर्षका भए । उनलाई धेरैले कुशल व्यवस्थापक डाक्टरका रूपमा सम्मान गर्ने गर्दछन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा ४ पटक सुपरिटेन्डेन्ट भएर सेवा पुर्‍याए भने सोही अस्पतालमा सञ्चालक समितिका अध्यक्ष भई सेवा गरे । २०१३ सालमा मेजर वीरसिंहद्वारा स्थापित सोल्जर बोर्ड अस्पताल पछि जिल्ला अस्पतालसमेत बन्यो ।

Advertisement

त्यहाँ सोमतसिंह कुनै बेला सर्वेसर्वा थिए । समयको क्रमसँग सो अस्पतालले अञ्चल अस्पतालको रूप लियो । ०४५ सालमा सो अस्पतालले पश्चिमाञ्चल अस्पतालको रूप लिएपछि डा. सोमतसिंहले अस्पतालको भौतिक संरचना थप्ने क्रममा आइसियु पनि थप्ने निर्णय गरे । डा. तुलाचनले पोखरा लगायत मुलुकका अन्य स्थानका स्वास्थ्य क्षेत्रमा ठूलो गुण लगाए ।


वि.सं. १९९५ सालमा मुस्ताङको टुकचेमा जन्मिएका सोमतसिंहका पिता पनि गाउँमा स्वास्थ्य केन्द्र खुलेर औषधी बेच्ने गर्दथे । सोमतसिंहलाई बाल्यकालमा यसको गहिरो प्रभाव प¥यो । उनले त्यसबेला मनमनै सोचे – म पनि ठूलो भएपछि डाक्टर बनेर बिरामीको सेवा गर्ने छु । सोमतसिंह बाल्यकालमा पोखरा आएकाले शिक्षा हासिल गर्ने सुअवसर पाए । पोखरामा ५ कक्षा पढेपछि उनी उच्च शिक्षा हासिल गर्न भारतको आनन्दनगर पुगेर एसएलसी दिए ।

Advertisement


भारतकै गोरखपुरमा आइएस्सी परीक्षा पूरा गरे । २०१८ सालमा कोलम्बो प्लान अन्तर्गत उनले मेडिकल कलेज पढ्नका लागि दक्षिण भारतमा जाने मौका पाए । २०२५ सालमा एमबिबिएस पूरा गरी स्वदेश फर्किए । नेपाल आउनासाथ टेकु सरुवा रोग अस्पतालबाट सेवा आरम्भ गरे । त्यहाँबाट उनी कास्की जिल्ला अस्पताल (हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा आए । त्यस बेला पोखरा अहिलेको जस्तो विशाल सहर थिएन । त्यसपछि उनी परिवार नियोजन संघको क्षेत्रीय प्रमुख बने । यसपछि उनी अमेरिकामा मास्टर इन पब्लिक हेल्थ डिग्री पढ्न गए ।


अमेरिकामा पढाइ भ्याएर नेपाल आउनासाथ उनलाई मुस्ताङ जिल्ला अस्पताल पठाइयो । २०३९ सालमा उनले गण्डकी अञ्चल अस्पतालको प्रमुख जिम्मेवारी पाए । ०४५ सालमा साइनिङ अस्पताल पश्चिमाञ्चल अस्पतालमा विलय गराइएको थियो । आइएनएफबाट भोलेन्टिएर सर्भिस सँगसँगै अस्पतालमा व्यवस्थापन समिति पनि गठन भयो । अस्पतालले फड्को मार्न सुरु भयो । तर डा. तुलाचनलाई ०४८ सालमा कञ्चनपुरमा सरुवा गराइयो । फेरि केही समयपछि उनलाई पोखरा झिकाइयो । उनले डाक्टर, कर्मचारीलाई साथ लिई न्यून शुल्क लिई बिरामीलाई थप सुविधा दिने नयाँ व्यवस्था गरे । सरकारले पनि अनुदानमा वृद्धि गर्न थाल्यो ।

Advertisement

स्वास्थ्य केन्द्रलाई भगवान्को मन्दिर मान्ने हो भने यो सर्वसुलभ र गरिबको पनि पहुँचमा पुर्‍याउनै पर्छ


०५३ सालमा उनी स्वास्थ्य निर्देशनालयको निर्देशक भए । ०५५ सालमा चौथो पटक उनी क्षेत्रीय अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट भए । उनले त्यसबेला योजनाबद्ध ढंगले पोखरालाई चाहिने स्वास्थ्य सेवा थप्ने कार्य गरे । यसका लागि आवश्यक भौतिक सुविधा थप्दै आइसियु सेवा थप्ने कार्य भयो । बिरामीलाई राजधानी जान नपर्ने योजना अगाडि ल्याए । पोखरामा बनाइएको आइसियु सेवाको तत्कालीन स्वास्थ्य राज्यमन्त्री डा. रामवरण यादवले उद्घाटन गरेका थिए ।


डा. तुलाचनले ०६३ सालमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर सेवा पुर्‍याएका छन् । उनीसँग अस्पताल व्यवस्थापनको लामो कुशल अनुभव छ । जसको उपयोग राज्यले गर्नुपर्छ । वि.सं. २०२४ सालमा सरला गौचनसँग वैवाहिक जीवनमा बाँधिएका डा. तुलाचनका २ छोरी र २ छोरा छन् । उनलाई धेरैले आफ्नो प्राइभेट अस्पताल खोल्न सुझाव दिएका थिए । उनी भन्दछन्–स्वास्थ्य क्षेत्र सेवाको पवित्र क्षेत्र हो, आर्थिक लाभ आर्जन गर्ने ठाउँ होइन ।


आज उनले सेवा पु¥याएको पोखराको पुरानो अस्पतालले मेडिकल कलेजका रूपमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ । तर यो अस्पताल सबै नेपालीको आफ्नो र आत्मीय बन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै डा. तुलाचन भन्दछन्– स्वास्थ्य केन्द्रलाई यदि भगवान्को मन्दिर मान्ने हो भने यो सर्वसुलभ र गरीबको पनि पहुँचको विषय बनाइनु पर्दछ ।

तपाईको प्रतिक्रिया