पोखरा–जापान उडानका लागि आग्रह

पोखरा ।
पोखरा महागनरका मेयर धनराज आचार्यले पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहर घोषणा गरिने जनाउँदै त्यसको तयारी भइरहेको जनाएका छन् । उनले नेपालीका लागि जापानी राजदूत किकुता युताकालाई पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण निर्माण गर्न आग्रह गरे । पोखरा महानगरमा भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयमा समेत छलफल भएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापान भ्रमण गरेको स्मरण गर्दै मेयर आचार्यले पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माणमा सहकार्य गरिएको उल्लेख गरे । जापानले जाइकामार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनामा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएकोमा मेयर आचार्यले धन्यवाद दिए ।
पोखराको जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै भगिनी सम्बन्ध छ । ‘यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देश बिचमा स्थायी रूपमै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ,’ उनले भने, ‘जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूपमै देखाएको छ ।’ पोखरा खानेपानी सुधार आयोजना अन्तर्गत पोखरा १५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर टंकीको समस्या समाधानका लागि समेत आवश्यक पहल गरिदिन राजदूत किकुतालाई उनले अनुरोध गरे ।
हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको टंकीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जवाफमा राजदूत किकुताले पानी टंकीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको जनाए । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवाला बिच छलफल तथा समन्वय गर्नुपर्ने उनको जोड छ ।
जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइकामार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाए । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उनको भनाइ छ ।
राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरण लिएर पोखरा आएका हुन् । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू प्रदान गरे ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया