विजय पर्व; दसैं

दसैं वा वडा दसैंलाई दसहरा, विजया दशमी, नोरथा, नवरात्रि, आयुध–पूजा आदि नामबाट पनि चिनिन्छ । दसैं हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड हो । हिन्दु संस्कृति प्राचीनकालदेखि नै वीरता र शौर्यको सर्मथक र प्रतीकको रुपमा मानिन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय चाडसमेत मानिने दसैं (नौरथा) नेपालीहरुले असोज महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म (नौरथाभर) शक्तिको आरधना गरी दसौं दिन विहान दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरुको हातबाट टीका जमरा लगाई आशीर्वाद लिएर प्रसाद ग्रहण गर्ने चलन छ । यो चाड केही वर्ग र समुदायले आफ्नो मौलिक परम्परा र चलनचल्ती अनुसार पूर्णिमाको दिनसम्म पनि मनाउने गर्दछन । यस वर्षको दसैं असोज २८ गते घटस्थापनादेखि सुरु भई काक्तिक ७ गते विजया दशमी टीकाको दिन हुँदै कार्तिक ११ गते कोजाग्रत पूर्णिमाको दिन समाप्त हुन्छ ।
असोज शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नौरथा विधिले प्रत्येक दिन फरक फरक देविहरुको पूजा आरधाना गरिन्छ । दसैंमा प्रतपिदादेखि क्रमशः शैलपुत्री, ब्रहमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कत्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा, तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आरधना गर्ने चलन छ ।
विजया दशमीको दिन भगवतिले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो अक्षताको टीका र जमरा लगाउने चलन बलियो संस्कृतिको रुपमा विकास हुँदै आएको छ । यसलाई असत्य माथि सत्यको विजयको रुपमा लिइन्छ । यसकारण नवदुर्गाको दशमीको दिनलाई विजया दशमी भनिएको हो ।
शक्तिवादका अनुयायीहरुका लागि दसैंले देवी दुर्गाको विजयको प्रतीक र प्रतिनिधित्व पनि गर्छ । धर्मशाष्त्रमा महिषासुर दानवले ( देवताहरु बस्ने संस्सार) मा आतंक मच्चाएका थिए तर दुर्गाले राक्षसहरुलाई मारेकी थिइन् भन्ने पौराणिक कथन छ ।
दसैं पर्वले दस प्रकारका पापहरुः काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा मिल्छ भन्ने विश्वास पनि छ
दसैंको पहिलो नौ दिन दुर्गा र महिषासुरका विभिन्न अवतारहरु विच भएको युध्धको प्रतिक हो । दसौं दिन विजय उत्सवको खुसीयालीमा आफ्ना नाता कुटुम्ब र मान्यजनहरुबाट टीका तथा जमरा लागाई आशीर्वाद प्राप्त गर्ने चलन छ । दसैं पर्वमा खुसीयालीको उपलक्ष्यमा नयाँ कपडा लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाने–खुवाउने चलन छ । घर आँगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्घर राख्ने जस्ता कामहरु यस चाडमा वडो उत्साहका साथ गर्ने चलन छ । केही वर्ष पहिले गाँउघरतिर घरहरु रातोमाटेले लिपी, झ्याल ढोकामा अलकत्ररको रङ वा रुखका बोक्रावाट खोटो बनाएर लगाउँदा घरहरु चिटिक्क किसिमले सिगारिएका हुन्थे र दसैंको रोनक झनै थपिन्थ्यो ।
आजभोलि नयाँ प्रबधिका घरहरु निर्माण हुन थालेपछि त्यस किसिमको संस्कृति क्रमश लोप हुँदै गएको छ । हिउँदको सुरुवातसँगै खुला आकास, स्वच्छ हावापानी र सुन्दर वातावरणले दसैको झनै खुसीयाली र रोचक वातावरण सिर्जना गर्छ । दसैं वर्षका तीन अत्यन्त शुभ तिथिहरुमा पर्छ । चैत महिनाको शुक्लपक्ष एवं कात्तिक शुक्लपक्षको प्रतिपदा तिथिका दिनहरुमा नेपालीहरुले नयाँ कार्य सुरु गर्ने चलन छ र शस्त्रको पूजा पनि गर्छन् ।
विजया दशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा । जे जसरी गरेता पनि यो शक्ति–पूजाको पर्व हो र शस्त्र पूजनको तिथि हो । दसैं संस्कृति, वीरताको पूजक अनि शौर्यको उपासक पनि हो । मानिसमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैंको उत्सव सुरु भएको हो । दसैं पर्वले दस प्रकारका पापहरुः काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा मिल्छ भन्ने विश्वास पनि छ । जसले मानिसलाई सत्मार्गमा अगाडि बढ्न प्रेरित गर्छ ।
मालाश्री धुनलाई दसैंको संगीतको रुपमा मानिन्छ । यो धुन नेपाली संगीतको मूलधारमा समाहित गरिएको छ । यही धुनले दसैं आएको घोषणा हुन्छ । मालाश्री धुन नेवाः खलको सबैभन्दा पुरानो जीवित भक्ति संगीतमध्ये एक हो । जसको उत्पत्ति १७ औं शदाब्दीमा भएको थियो । विजया दशमीको पहिलो दिन घटस्थापना हो । यसै दिनदेखि नौराथा आरम्भ हुन्छ । यस दिन मकै वा जौ को जमरा राख्ने चलन छ । यस दिन घट कलशको स्थापना गरी घरमा देवी देवतालाई आह्वान गरिन्छ ।
नौरथाको सातौ दिनलाई फूलपाती अथवा महासम्तमी भनिन्छ । सप्तमीका दिन बेलपत्र, धान गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरु घरमा भिœयाउने कार्यलाई फूलपाती भिœयाउने भन्ने चलन छ । नौरथाको आठौं दिनलाई महाअष्टमी भनिन्छ । यस दिन महाकाली–भद्रकालीको विशेष पूजा गरिन्छ । यस दिन देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिने चलन छ । यस दिनमा मानिसहरु आ–आफ्ना कुल देवीदेवता र स्थानीय देवी देवतालाई पूजी बलि दिइन्छ । शाकारीहरुले नरिवल, कुभिण्डो, केरा, घिरौला आदि फल अर्पण गर्ने चलन छ । यस चाडले ईश्वरीय र राक्षसी शक्तिहरु विचको रक्तपातपूर्ण लडाइँको सम्झना गर्ने भएकाले यस समयमा पशुबलिहरु सामान्य मानिन्छ ।
नौरथाको नवौं दिनलाई महानवमी भनिन्छ । यस दिन विशेष गरी सिद्धिधात्रि देवीको पूजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियार, औजार तथा सवारीका साधनहरुलाई बलि दिएर विश्वकर्माको पूजा सम्पन्न गर्ने चलन पनि छ । नौरथाको दसौं दिनलाई विजयादशमी भनिन्छ । यस सम्बन्धमा श्रीमद्देवी भागवत नौरथा प्रकरणमा नौरथा पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकोले यसलाई विजया दशमी भनिएको हो भन्ने कथन छ ।
यस दिनमा देवीका मूर्तिहरुलाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगि सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ । घरका मूल मान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा र टाउकोमा जमरा लगाई दक्षिणा दिई आशीर्वाद दिने चलन छ । दसैंमा मानिसहरु तास, लङ्गुरबुर्जा, कौडा लगायत खेलहरु पनि खेल्ने चलन छ । दसैं नजिकिँदै जाँदा केटाकेटीहरु चंगा उडाउँछन् । यो नेपालमा दसैं मनाउने एउटा महत्वपूर्ण पाटो हो ।
दसैंमा नयाँ लुगा किनेर लगाउनु यो चाडको अर्को महत्वपूर्ण पक्ष हो । नयाँ लुगा लगाउँन पाउँदा केटाकेटीहरु त झनै खुसी हुने र रमाउँछन् । दसैंमा उत्सवको रुपमा बाँसको पिङहरु निर्माण गरिन्छ । कतै फिर्के पिङ पनि बनाउने चलन छ । यसले स्थानीय संस्कृति, परम्परा, सामुदायिक भावना, एकता र आनन्दको सबै भन्दा राम्रो प्रस्तुति मानिन्छ । सामान्य तया घटस्थापना सुरु भएको दिनदेखि पिङ निर्माण राखी तिहारमा भत्काउने चलन छ ।
दसैंमा टीका लगाउँदा दिने आशिष (पुरुष)
आयू द्रोणसुते श्रीयो दसरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
द्रोणपुत्र अस्वस्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पती प्राप्त होस, भगवान रामको जस्तो शत्रु नाश होस,नहुष राजाको जस्तो ऐश्वर्य, हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्यवादिता विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति तिमिलाई प्राप्त होस् ।
दसैंमा टीका लगाउँदा दिने आशिष (महिला)
ओम जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा, क्षमा, शिव, धात्री, स्वाहा, स्वाधा नमस्तुते । हे देवी चामुण्डा तिम्रो जय होस्, तिम्रो जय होस, प्राणीको दुःख नाश गर्ने होस् । जय सर्व गते देवी कालरात्रीमा म तिमिलाई नमन गर्दछु ।
सामान्य तया दसैंको टीका लगाउँने क्रम पूर्णिमासम्म पनि रहन्छ । पूर्णिमादेखि दसैं चाडको समाप्त हुन्छ । यस दिनलाई कोजाग्रत पूर्णिमा पनि भनिन्छ । कोजाग्रतको शाब्दिक अर्थ जागृत भन्ने हो । यस दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधाना गरिन्छ । देवी लक्ष्मी पृथ्वीमा अवतरित हुन्छिन् र धन र समृद्धिको साथ रातभर जाग्रम रहने जो कोहीलाई धनको वर्षा गराउँछिन् भन्ने विश्वास छ । तसर्थ यो दिन भक्तजनहरु रातभर जागा रहेर तास खेल्ने वा देवीको आरधाना गरी जागरम रहने चलन यद्यपि छँदै छ ।
तपाईको प्रतिक्रिया