तोरीपानी क्षेत्रबाटै प्याराग्लाइडिङ सञ्चालनको तयारी

कृष्ण दवाडी २०८० असोज २६ गते ८:२१

कास्की ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको छ ।


पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षौँदेखि ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा–२४ मान्द्रेढुंगा पुगेकामा पूर्ववत् स्थानबाट नै सञ्चालन गर्न लागिएको हो । पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसाबले मनमोहक र हावापानीका हिसाबले वर्षभरि उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकको रोजाइको विधा बन्दै आएको छ ।


अहिले उडान हुँदै आएको स्थान मान्द्रढुंगा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । शरूआतदेखि नै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।

Advertisement


मान्द्रढुंगाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेको संख्यासमेत घटेको छ । यसैले क्षेत्र विस्तार गरी बाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका विज्ञको सहयोग लिई प्याराग्लाइडिङ उडान क्षेत्र र अवतरण क्षेत्र विस्तार गर्न लागिएको संस्थाका अध्यक्ष सुनिल भट्टराईले बताए ।


क्यानले लामो प्राविधिक अध्ययनपछि तोरीपानीसम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उनको भनाइ छ । पोखरामा दुई दशकदेखि प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय शहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्छन् ।

Advertisement


नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । ‘आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधि अझ वृद्धि हुँदै जानुपर्छ । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ, विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ,’ उनले भने ।


पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । भने, ‘प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्रान्डका रूपमा सधैँ स्थापित गर्न आवश्यक छ ।’


हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी २०५९ सालमा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सात वटा प्याराग्लाइडिङ व्यावसायिक कम्पनीबाट संस्था शुरू गरिएकामा हाल ६२ व्यावसायिक कम्पनी छन् । त्यसैगरी कम्पनीअन्तर्गत ३९९ प्याराग्लाइडिङ पाइलट क्रियाशील छन् ।

तपाईको प्रतिक्रिया