खुला फुटसलमा सबिन मेमोरियल सेमीमा

पोखरा ।
पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशिको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ । राजन एन्ड द ब्रदर्सको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सबिनले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
सविनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने १ गोल फाइटरको तर्फबाट आत्मघाती गोल भएको थियो । यता, फ्रिडम फाइटरका लागि नवीन लामाले सान्त्वना गोल फर्काए ।
प्रिक्वाटरका ५ खेल
सोमबार भएको प्रिक्वाटर फाइनलका ५ खेलबाट मेन्टेन एफसी, फ्रिडम फाइटर काठमाडौं, एडी युनाइटेड पोखरा क्वाटर फाइनलमा प्रवेश गरे । पहिलो खेलमा मेन्टेन एफसीले बेलिज एफसीलाई ५–३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्यो । मेन्टेनको जितमा विशाल सारुमगरले २ गोलको योगदान दिए । सन्तलाल तामाङ, सुवास श्रेष्ठ र जेनेश प्रजापतिले समान १/१ गोलको योगदान दिए ।
यता, बेलिजका लागि संगम दर्जी, नविन तामाङ र विनय तामाङले समान १ गोल फर्काए । दोस्रो खेलमा फ्रिडम फाइटरले जनएकता एफसी चाउथेलाई ७–१ गोलको फराकिलो पराजित गर्यो । फ्रिडमको जितमा मणिकुमार लामाले ४ गोलको योगदान दिए । यस्तै नवीन लामा, अनिल खड्का र सुशान्त श्रेष्ठले समान १ गोलको गरे भने जनएकता चाउथेका लागि रोशन नेपालीले सान्त्वना १ गोल फर्काए ।
तेस्रो खेलमा एडी युनाटेडले राजन एन्ड ब्रदर्स टिम ‘ए’ माथि ८–४ गोलको फराकिलो गोल अन्तरले जित निकाल्यो । एडी युनाटेडको जितमा अर्जुन मगरले ह्याट्रिक पूरा गरे । रोशन मगरले ४ र विकास परियारले १ गोल गरे ।
यता, राजन एण्ड ब्रदर्स टिम ‘ए’ का लागि जीवन गुरुङले २, सन्दीप गुरुङ र विकास परियारले समान १ गोल फर्काए । प्रिक्वाटरको अन्तिम खेलमा दीप युनाटेडले आरआइसी एफसीलाई ३–२ गोलले पराजित गरेको छ । दीपको जीतमा आशीष छन्त्याल, फोनश कार्की र निकेश गुरुङले गोल गरे । आरआइसीका लागि सुमन गुरुङ र आयुष थापाले समान १ गोल फर्काए ।
प्रतियोगिताको विजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशीष क्षेत्रीले जानकारी दिए । उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ३ लाख प्रदान गरिनेछ । सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफीले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद दिइनेछ । मंगलबारसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट १४ टिमको सहभागिता छ ।
तपाईको प्रतिक्रिया