मातृ शिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजना तालिम

समाधान संवाददाता २०८० कार्तिक १ गते १८:०९

पोखरा
आमा र बच्चाको दिगो स्वास्थ्यलाई प्राथमिकतामा राखेर आयोजना गरिएको मातृ शिशु स्वास्थ्यका लागि अविछिन्न हेरचाह परियोजना तालिमबाट सात जना स्वास्थ्यकर्मीले प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणपत्र प्राप्त गरेका छन् ।


जाईका पार्टनरसिप प्रोग्राम अन्तर्गत पोखरा कोमागाने नागरिक मैत्री एसोसियसन बीच सम्झौता भइ संचालन गरिएको परियोजनामा पहिलो र दोस्रो चरणको कार्यक्रम पश्चात तेस्रो चरणमा सात जनालाई सहभागि गराई प्रशिक्षक प्रशिक्षणको प्रमाणपत्र प्रदान गरिएको परियोजनाका व्यवस्थापक उषा बरुवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “नेपालमा मातृ तथा बाल मृत्युदर घटाउँदै उनीहरुको दिगो स्वास्थ्यका लागि सञ्चालित परियोजनाले दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रदान गर्नका लागि स्तन हेरचाह कार्यक्रम केविएम (कवाते ब्रेस्ट मसाज)पद्धति अवलम्बन गरेका छौ ” उहाँले स्तन हेरचाहका सम्बन्धि विशेष तालिममा महिलालाई सुत्केरी अवस्थामा स्तनमा देखिने समस्यालाई कसरी कम गर्ने र बच्चालाई सहि तरिकाले कसरी स्तनपान गराउने, लगायत स्तनमा देखिएका समस्यालाई कसरी निको बनाउने भन्ने विषयमा जापानका साचि कवाटे र विनु सानले तालिमको सहजिकरण गरेको जानकारी दिनुभयो ।

Advertisement


समापन समारोहमा मातृशिशु मितेरी अस्पतालका मेडिकल सुपरिटेन्ट एवम स्त्रीरोग विशेषज्ञ डा. धर्मदेव ढकालले सहभागिलाई प्रमाणपत्र प्रदान गर्दै सिकेको ज्ञानलाई प्रभावकारी रुपमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । यस तालिमबाट अधिकतम सुत्केरी तथा गर्भवती महिला लाभान्वित हुने जनाउँदै मितेरी अस्पताललाई उत्कृष्ट अस्पतालको रुपमा लैजानको लागि प्रभावकारी नागरिक मैत्री सेवामा जोड दिइएको उहाँको भनाइ थियो ।


तालिममा सहभागिको तर्फबाट आफ्नो अनुभव राख्दै मेलिसा राना र सृजना गौतमले आफुले सिकेको सिप र ज्ञान अरुलाई सिकाउँदा थप जिम्मेवारीको महसुस भएको जनाउँदै अरु स्वास्थ्यकर्मीमा यो ज्ञानलाई हस्तान्तरण गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँहरुले देख्दा सामान्य लाग्ने तर भोग्नेहरुलाई निकै पीडा हुने स्तन गानिने, निप्पल भित्र पसेर स्तनपान गराउन नसक्ने लगायत सुत्केरी, गर्भवती अवस्थाको हेरचाहको बारेमा कसरी ध्यान दिने कसरी स्तनका समस्यालाई निर्मुल पार्ने भन्ने विषयलाई व्यवहारिक पक्षबाट सुक्ष्म तरिकाले सिकेर सिकाउने अवसर प्राप्त भएको अनुभव सुनाउनु भएको थियो ।

Advertisement


कार्यक्रममा कवाते ब्रेष्ट मसाज तालिममा सहभागि निशा ढकालले सात दिन सम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिमको सैद्धान्तिक र व्यवहारिक अभ्यास र सेवाग्राहीसँग गरिएको कुाराकानीलाई संक्षेपिकरण सहितको प्रस्तुति राख्नु भएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले आमा र बच्चाको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको यस विषयलाई नेपाल सरकारसँग सहकार्य गरेर लैजादा थप प्रभावकारी भएको धारणा राख्नुभयो ।

नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार २८ दिनको १ हजार बच्चामा २१ जनाको मृत्यु , १ वर्ष मुनिको एक हजारमा २८ जनाको र पाँच वर्ष मुनिको एक हजारमा ३३ जनाको बालमृत्यु दरको तथ्यांक रहेको छ । मातृमुत्युदर एक लाखमा १ सय ५१ जना महिलाले ज्यान गुमाउने गरेको तथ्यांक छ । यस परियोजनाले मातृ तथा बाल मृत्युदरलाई घटाएर लैजान सहयोग पुग्ने विश्वास गरिएको छ ।


समापन समारोहमा पोखरा कोमागाने नागरिक मैत्री एशोसियशन जापानका सचिव कोमात्सु सान र नेपालका अध्यक्ष शान्ति शेरचन, प्रशिक्षक प्रशिक्षणको को तालिम लिएकाहरुले आफ्नो ज्ञान र सीपलाई विस्तार गरी धेरै माझ पुर्याउन आग्रह गर्नुभयो । जापानको तर्फबाट परियोजना व्यवस्थापक तेरोमी किताहारा, परियोजनाका कियोको सान, सातोमी सान लगायतको विशेष उपस्थिती रहेका र उहाँहरुले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरेको परियोजनाका सल्लाहकार एव कार्यक्रम सञ्चालक सविता ढुंगानाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया