अनलाइनबाट न्वारान गरिएकी शिशुको नाम अमेरिकामा रुहानी, नेपालमा प्रेयंका

समाधान संवाददाता २०८० कार्तिक ८ गते १२:३७

पोखरा ।

बडादसैंको टीकाको साइत सुरू हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिइन्।

नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए।

Advertisement

‘काखमा नातिनी खेलाउँदै उसको न्वारान पूजा गर्न मन थियो। तर छोराबुहारी र नातिनी अमेरिकामा, हामी नेपालमा,’ घिमिरेले भनिन्, ‘अनलाइनबाट भए पनि आफ्नै आँगनबाट न्वारान गर्न पाएँ।’

घिमिरेका छोराबुहारी डेढ वर्षअघि ‘डाइभर्सिटी भिसा’ मा अमेरिका गएका थिए। नातिनीको जन्म उतै भयो।

Advertisement

अमेरिकाको न्यूयोर्कमा रहेका बाबु ज्ञानेन्द्र घिमिरे र आमा रिता दाहाल पुरोहितले अनलाइनमार्फत भनेअनुसार मिल्नेसम्मका क्रियाकलापमा सहभागी हुँदै थिए। आज टीकाको दिन भए पनि अनलाइनमार्फत भइरहेको न्वारान हेर्न छिमेकीसमेत भेला भएका थिए।

सनातन हिन्दु परम्पराअनुसार नै न्वारान कर्म सञ्चालन गरिएको कर्मकाण्डका ज्ञाता युवराज घिमिरेले बताए। वैदिक संस्कार, शास्त्रीय मर्म र षोडष संस्कारअनुसार न्वारान गरिएको उनको भनाइ छ।

न्वारान कर्ममा सहभागी बिक्रम दाहाल यो क्रियाकलापलाई प्रविधिको विकासले दिएको अवसरका रूपमा लिन्छन्। ‘प्रविधिको विकासका कारण नेपालबाटै अमेरिकामा रहेकी शिशुको न्वारान सम्भव भयो,’ उनले भने।

अनलाइनबाटै भए पनि पनातिनीको न्वारान गर्न पाउँदा आफू अत्यन्तै हर्षित भएको ८७ वर्षीय जिजुआमा ईश्वरीदेवी घिमिरेले सुनाए। गाउँमा यस किसिमको कर्म पहिलो अनुभव भएको उनले बताए।

अमेरिकी रूहानी, नेपाली प्रेयंका

पुरोहित भोला दाहालले हिन्दु संस्कार र नेपाली पात्रोअनुसार शिशुको नाम प्रेयंका राखे। ‘आफ्नो संस्कारअनुरुप अग्निस्थापना गरी नवजात शिशुको नामकरण विधि सम्पन्न भएको छ,’ उनले भने।

शिशुकी आमा रिता दाहालले अमेरिकामा अस्पतालको नियमअनुसार छोरी जन्मनु पाँच दिनअघि नै रूहानी नाम राखिएको सुनाइन्।

‘बच्चा जन्मिनुअघि नै डाक्टरलाई नाम दिनुपर्ने रहेछ। जन्मने बित्तिकै डाक्टरले ‘वेलकम रूहानी’ भनेको सुन्दा म अत्यन्तै खुसी भएँ। गर्व महसुस गरेँ,’ उनले भनिन्।

नामकरण गर्दा पुरोहितले भनेझैं आफैं कोठामा शुद्ध पानी छर्किएको बुबा ज्ञानेन्द्रले बताए।

भूमण्डलीकरणसँगै अन्तर्राष्ट्रिय बसाइँसराइ सामान्य बन्दै गएको छ। मानिसहरू रोजगारी र उच्च शिक्षाका लागि गाउँबाट सहर र सहरबाट विदेशसम्म पुग्नु सामान्य बन्दै गएको छ। भौतिक रूपमा जतिसुकै टाढिए पनि सांस्कृतिक रूपमा जोडिन भने इन्टरनेट र सामाजिक सञ्जालले सहज बनाएको छ।

शिशुका हजुरबुबा योगेन्द्रले छोराबुहारी र नातिनी आफूसँगै नेपालमा नभए पनि परम्परागत संस्कारमा उनीहरूलाई सामेल गराउन पाएकोमा खुसी व्यक्त गरे।

अनलाइनमार्फत यस्ता कर्म सहरमा सामान्य भए पनि गाउँका मानिसलाई नौलो र रमाइलो अनुभूति दिलाएको उनको भनाइ छ।

(रासस)

तपाईको प्रतिक्रिया